
काठमाडौं । उपासना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाँचौँ साधारण सभा तथा दोस्रो महाधिवेशन एक समारोहबीच सम्पन्न भएको छ ।
कार्यक्रममा ओम अस्पतालका सञ्चालक अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले प्रमुख अतिथिको आसनबाट १८४ पटक रक्तदान गरिसक्नु भएका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई नेवारी परम्परा अनुसार बेतालि लगाई मायाको चिनो स्वरूप करुवा, खादा, फूलमाला तथा सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष रोशन भायोदेको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिहरूका रूपमा विष्णुभक्त मारिखुँ, कृष्णप्रसाद अवाल, दिनेश बहादुर धौबञ्जार र सवीनभक्त जोशीको उपस्थिति रहेको थियो । सभामा संस्थाका वार्षिक प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गर्दै नयाँ सञ्चालक समिति चयन गरिएको छ ।
नवगठित सञ्चालक समितिमा अध्यक्षमा रोशन भायोदे, उपाध्यक्षमा शारदा श्रेष्ठ, सचिवमा रञ्जित मारिखुँ, कोषाध्यक्षमा दिपेश बहादुर धौबञ्जार तथा सदस्यहरूमा डा. दिपिका मलहोत्रा, पुकार बगामी र रोसिका जधारी चयन हुनु भएको छ ।
यस्तै आज नै बेनी समाज काठमाडौंले गोंगबु चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रक्त संकलन थैली हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
बेनी समाज काठमाडौंका अध्यक्ष प्रदीप श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरुष गरी जम्मा ७१ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि कर्माचार्यले प्रशंसा–पत्र प्रदान गर्दै सामाजिक सेवामा योगदान पुर्याएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।



Prawash Kumar Shakya । ५ पुष २०८२, शनिबार २१:०५ बजे