काठमाडौँ– नेपाल टेलिकमले एप्स ‘मीट’ निर्माण गर्दा करोडौं रुपैयाँको घोटाला भएकोबारे सञ्चारमन्त्री शेरधन राईले मुख खोलेका छन् । सूचना तथा सञ्चार मन्त्रालयको आफ्नै कार्यकक्षमा बिहीवार रातोपाटीकर्मीसँग कुराकानी गर्दै १५ लाखमा बन्ने एप्सलाई करिब सात करोड खर्च गरेर टेलिकम प्रबन्ध निर्देशकको मिलेमतोमा भ्रष्टाचार भएकोबारे उनले आफ्नो धारणा व्यक्त गरेका हुन् । उनले यसबारे आफूले थाहा पाएपछि नेपाल टेलिकम प्रबन्ध निर्देशक आचार्यसँग समाचारमा आएको कुराबारे बुझी उनको भनाइसमेत सुनेको जानकारीसमेत दिएका छन् । साथै टेलिकमले निर्माण गरेको एप्समा करोडौंको घोटाला गर्न मिलेमतो गरेको आरोप लागेका आचार्यालाई संरक्षण दिएको भन्ने आरोपसमेत उनले खण्डन गरेका छन् ।
सञ्चारमन्त्रीले के भने
नेपाल टेलिकमको ‘मीट’ एप्स निर्माण गर्दा करोडौंको घोटाला भएको कुरा बाहिर आएको छ नि रु भन्ने प्रश्नको उत्तर दिँदै सूचना तथा सञ्चारमन्त्री राईले आफूले यसबारे सुनेको र सम्बन्धित निकायसँग बुझ्ने प्रयास गरेको बताएका छन् । मैले पनि रातोपाटीमा यस्तो समाचार छ भनेर सुनेपछि यसबारे टेलिकम प्रबन्ध निर्देशकलाई सोधेको थिएँ । उनले रातोपाटीमा आएको समाचार सत्य नभएको जानकारी दिए । तपाईंले खोजी गरिरहनुभएको छ । केही कुरा बाहिर आएका छन्, केही आउन बाँकी छन् । अझै जडसम्म पुगेर खोजी गर्नुहोस् । सबै खोजी गरिसकेपछि सम्पूर्ण तथ्य फाइल बनाएर मलाई एक कपी दिनुहोस्, म त्यसपछि के–कस्तो कारबाही गर्नुपर्ने हो, प्रक्रिया अगाडि बढाउँछु ।
सञ्चारमन्त्रीकै संरक्षण भन्ने आरोपबारे राईको धारणा
नेपाल टेलिकममा मीट एप्स निर्माण गर्दा करोडौंको घोटाला गरेको आरोप लागेका टेलिकम प्रबन्ध निर्देशक आचार्यलाई तपाईंकै संरक्षण छ भन्ने आरोप छ नि रु भन्ने रातोपाटीकर्मीको प्रश्नमा मन्त्री राईले भने, ‘गलत काम गर्नेलाई मेरो कहिल्यै पनि संरक्षण हुँदैन । कसैले यस्तो आरोप लगाउँछन् भने त्यो गलत हो । केही तथ्य तपाईंले बाहिर ल्याउनुभएको छ । तपाईं अझ केही तथ्य खोज्नुहोस् । टेलिकम प्रबन्ध निर्देशक आचार्य दोषी ठहरिएमा उनलाई म एक सेकेन्ड नपर्खी कारबाही गर्छु । हिजो, आज र भोलि गलत काम गर्ने व्यक्तिलाई म संरक्षण गर्ने मान्छे होइन । तपाईं अगाडि बढ्नुहोस्, अरू तथ्यसमेत खोज्नुहोस् । बरु छिटो गर्नुहोस् ।’ मन्त्री राईले थप तथ्य पत्ता लगाएर आफूलाई उपलब्ध गराउन आग्रह गरे । भने, ‘त्यसपछि के–के गर्नुपर्छ म गर्छु । गलत काम गर्नेलाई मेरो संरक्षण छ भन्ने कुराचाहिँ ३०० प्रतिशत गलत हो । मलाई तथ्यको विवरण फाइल गरेर दिनुहोस् म सेकेन्डभरमै एक्सन लिन्छु ।’




Milan Shrestha । १२ चैत्र २०७२, शुक्रबार १०:१७ बजे