स्मार्ट लाइसेन्स, चिप्स उक्किने, अक्षर मेटिने समस्या


तस्विरः अनलाईन खबर ।

१९ असार, काठमाडौं । कमिसनको जालोमा परेपछि प्रविधिको प्रयोग पनि ‘फेल’ हुन्छ भन्ने गतिलो प्रमाण बनेको छ, स्मार्ट लाइसेन्स ।

नामअनुसार त आधुनिक प्रविधियुक्त लाइसेन्स ‘स्मार्ट’ नै हुनुपर्ने हो । तर, लाइसेन्स कार्डको गुणस्तरमा ‘सम्झौता’ गरेपछि स्मार्ट नामको लाइसेन्स ‘कमसल’ ठहरिएको छ ।

सरकारले वितरण गरेको स्मार्ट लाइसेन्सको चिप्स उप्किने समस्या ब्यापक रुपमा देखिएको छ । यातायात व्यवस्था विभागमा थुप्रै सर्वसाधारण सट्टामा नयाँ लाइसेन्सका लागि आउने गरेका छन् । धेरैले त गम लगाएर चिप्स टाँसेर राखेका छन् ।

लाइसेन्स छापिने स्मार्ट कार्डको गुणस्तर निकै कमजोर हुँदा पनि सरकारी अधिकारी सच्याउनेतर्फ नलाग्नुले आशंका पैदा गरेको छ ।
जति जतन गर्दा पनि लाइसेन्स जोगाउन नसकिएको गुनासो गर्छन्, स्मार्ट लाइसेन्सबाहक । भर्खरै जारी भएका लाइसेन्समा पनि समस्या देखिन थालेको छ ।

पहिलो र दोस्रो चरणमा छपाइ गरेर वितरण गरिएको १ लाख ६० हजार लाइसेन्समा चिप्स उप्किने समस्या बढी नै देखिएको विभागका प्रवक्ता तुल्सीराम अर्यालले बताए ।

पहिलो चरणमा छपाइ भएका १ लाख र पछि थप ल्याइएका ६० हजार स्मार्ट लाइसेन्ससमा विभिन्न गम्भीर त्रुटीहरु पनि देखिएका थिए । वर्ग स्पष्ट नगरेको, गैरव्यवसायिक लाइसेन्स लेखेको लगायतका त्रुटीलाई पछिल्लोपटकमा छपाइ गर्दा सच्याइएको छ ।

तर, लाइसेन्स कार्ड गुणस्तर भने अझै पनि निकै कमजोर नै राखिएको छ । विभागका एक अधिकारी छपाइको जिम्मा पाएको भारतीय कम्पनी मद्रास सेक्युरेटी पि्रन्टर्ससँगको मिलोमातोमा कार्डको गुणस्तरमा सम्झौता गरिएको दावी गर्छन् । कमिसनकै चक्करमा गुणस्तरहीन कार्ड स्वीकारिएको दावी ती अधिकारीको छ ।

सानो त्रुटीमा पनि लाइसेन्स भाँचिने समस्या पनि ब्याप्त छ । अहिले वितरण भइरहेका लाइसेन्सको पनि गुणस्तर कमसल छ । थोरै बढी चाप पर्दा पनि लाइसेन्स जोगाउन मुस्किल छ ।

स्मार्ट लाइसेन्सलाई सुरुमा निकै उपयोगी र सुरक्षित भनेर प्रचार गरिएको थियो । तर, धेरै लाइसेन्सबाहक लाइसेन्समा राखिएको चिप्स नै उप्किएको, भाँचिएको, लेखिएको अक्षर मेटिएको लगायतका समस्या लिएर विभागमा पुग्ने गरेका छन् ।

चिप्स नै लाइसेन्सको ‘मुटु’ हो । त्यसमा लाइसेन्सबाहककको व्यक्तिगत विवरणदेखि ट्राफिकले गर्ने कारवाहीका विवरण सुरक्षित गरिन्छ । तर, चिप्स उप्किएपछि त्यसमा राखिएका डाटा सबै असुरक्षित बनेका छन् ।

लाइसेन्सलाई प्रायः धेरैले पर्समा नै हाल्छन् । समान्य रुपमा पर्समा राख्दा-राख्दै चिप्स उप्किने गरेको छ ।

अझ लाइसेन्स एक वर्ष नपुग्दै रंग उडेर जाने र अक्षर मेटिने समस्या पनि ब्याप्त छ । स्मार्ट लाइसेन्सलाई लेमिनेशन पनि गर्न मिल्दैन । पोलिकार्बोनेटबाट बनेको दावी गरिएको लाइसेन्सको गुणस्तरमा चौतर्फी प्रश्न उठ्दा पनि कमिसनको चक्करमा त्यसलाई स्तरीय बनाउन विभागले प्रयत्न गरेको छैन । हालै आएका साढे ७ लाख स्मार्ट लाइसेन्स पनि यसअघिकै गुणस्तरका छन् ।

यसअनुसार वितरण भएका लाइसेन्समा लगातार समस्या देखिने हुँदा उपभोक्तालाई नवीकरण गर्ने समय नपुग्दै कार्ड फेर्न थप आथिर्क भार बोक्नुपर्ने अवस्था आएको छ । विभागमा अझै पनि स्मार्ट लाइसेस्न पाउन प्रक्रिया पुगेको एकवर्ष बढी कुर्नुपर्ने अवस्था विद्यमान नै छ ।

‘यस्तो पनि लाइसेन्स हुन्छ, यो भन्दा त पहिलेकै ठीक थियो’ काठमाडौंका अनिल समापकोटा भन्छन्,’चिप्समात्रै उप्किएको भए हुन्थ्यो, राख्दा राख्दै चिप्स भाँचियो । अहिले सुपर ग्लु लगाएर टाासेको छु ।’

विभागले दुई पांग्रेकै लागि यस्तो लाइसेन्स दिन १५ सय बढी शुल्क लिन्छ । एउटा स्मार्ट लाइसेन्स छपाइ गरेर वितरण गर्न गर्न करिब २ सय रुपैयाँमात्रै पर्छ ।

यस्तै प्रविधिका बैंकिङ कार्डहरु बैंकहरुले सित्तैमा वितरण गरेका हुन्छन् । तर, ती कार्डको गुणस्तरमा कुनै समस्या हुँदैन ।

साभारः अनलाईन खबर ।