काठमाडौं – निर्देशक तुलसी घिमिरेको फिल्म ‘दर्पण छाँया’को सिक्वेल ‘दर्पण छाँया २’ बन्ने भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा ‘दर्पण छाँया २’ फिल्मको पहिलो दृश्य खिच्दै सुटिङ थालनी गरियो। कार्यक्रममा निर्देशक तुलसी घिमिरेले निर्देशन गर्न लागेको ‘दर्पण छाँया २’ बारे जानकारी गराए।
फिल्मलाई शिव ढकाल र रामेश्वर कार्कीले खिच्दैछन्। संगीतकार रनजीत गजमेर र चन्दन लोम्जेलले फिल्ममा संगीत दिएका छन्। त्यस्तै राजेशपायल राई, शिव परियार, मेलिना राई र अशोक धमालाको स्वरमा रहेको गीतहरु फिल्ममा समेटिएका छन्। फिल्मलाई साबु गवाल कार्की र रवि कार्कीले निर्माण गर्न लागेका हुन्। फिल्मको सुटिङ नेपालका विभिन्न रमणीय स्थान, सिक्किम र थाइल्यान्डमा हुँदैछ।
संगीतमा लागेका स्रष्टाको कथामाथि निर्माण हुन लागेको ‘दर्पण छाँया २’लाई सहारा फिल्म प्रोडक्सनको ब्यानरले निर्माण गर्दैछ। विभिन्न म्युजिक भिडियोमा देखिसकेका मोडल पुष्प खड्का, सहारा कार्की, सरोज खनाल, बिएन राणा, शेरबहादुर, सुमन घिमिरे र फिरोज तिमिल्सिना लगायतले अभिनय गर्दैछन्।



Prawash Kumar Shakya । ३१ जेष्ठ २०७३, सोमबार १३:३८ बजे