कर्मचारी अभावका कारण सम्पूर्ण जिम्मेवारी वरिष्ठ पशु विकास अधिकृतको काँधमा


सुर्खेत, २० असार । संविधान कार्यान्वयनका क्रममा सेवासुविधा र अधिकार गाउँसम्मै पुगेको भनिएपनि व्यवहारिक कार्यान्वयनमा जटिलता देखिएको छ ।

पशु स्वास्थ्य सम्बन्धी सेवा दिन स्थानीय तहमै पशु शाखा कार्यालय स्थापना गरिएपनि पर्याप्त कर्मचारी नहुँदा सेवासुविधा नारा र संरचनामै सीमित हुने देखिएको छ । कर्णालीको प्रदेश राजधानी वीरेन्द्रनगरको नगर पशु शाखा कार्यालयमा कर्मचारी अभावका कारण काजमा आएका वरिष्ठ पशु विकास अधिकृत कृष्णप्रसाद पंगेनीले परिचरदेखि कार्यालय प्रमुखसम्म र पशुको जाँच तथा उपचार एक्लैले गर्नु परिरहेको छ ।

शाखाले आयोजना गर्ने हरेक अन्तक्र्रिया कार्यक्रमको तयारीदेखि कार्यक्रम सञ्चालन र समापनसम्मको जिम्मा पनि उनकै काँधमा छ । जिल्ला पशु सेवा कार्यालय सुर्खेतमा अस्थायी रुपमा रहेको शाखामा दैनिक रुपमा सयौं किसान घाँसको बीउ लैजान, बिरामी पशुको चेकजाँच गराउन आउने गरेका छन् । ‘बिहानैदेखि साँझसम्म खट्नुपरेको छ,’ उनले भने, ‘कोही पनि सहयोगी छैनन् ।’

जिल्ला पशु सेवा कार्यालयको संरचनामा धेरै कर्मचारी भएका कारण समस्या नहुने गरेको स्मरण गर्दै अधिकृत पंगेनीले गुनासो पोखे, ‘नगरपालिकाका अन्य शाखामा दरबन्दी भएपनि पशु सेवा शाखामा दरबन्दी नै छैन ।’

विगतमा पशु सेवा कार्यालयले गर्दै आएका सबै काम अहिले नगर शाखाले नै गर्नुपर्ने तोकिएको छ । ‘बीउ बाँड्ने, पशुको जाँच र उपचार गर्ने, तालिमको आयोजना गर्ने, फिल्डमा जानेजस्ता सबैकाम एक्लैले धान्दै आएको छु,’ उनले भने, ‘कम्तिमा २ जना कर्मचारी भइदिएको भए सेवालाई प्रभावकारी रुपमा प्रदान गर्न सकिन्थ्यो ।’

अहिले खाइरहेको तलब आगामी साउनबाट कुन निकायमार्फत् खान पाइने हो भनेर प्रष्ट नभएको उनले गुनासो गरे । ‘सरकारले कहाँ, के गर्ने भन्ने स्पष्ट पारेको भए सहज हुन्थ्यो,’ उनले भने, ‘दरबन्दीको टुंगो लगाएको भएपनि अलिकति भएपनि काम गर्न ढुक्क भइन्थ्यो ।’

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवदीले आगामी आर्थिक वर्षमा शाखाले दक्ष प्राविधिक पाउने बताए । ‘हामीले दरबन्दी सिर्जना गरिदिन संघीय मन्त्रालयमा चिठी लेखिसकेका छौं,’ उनले भने, ‘मन्त्रालयबाट टुंगो नलागे हामी करारमै भएपनि दक्ष प्राविधिक राख्ने छौं ।’

पहिलेको पशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने नगरको योजना रहेको बताए । ‘नगरले पर्याप्त बजेटको पनि व्यवस्थापन गरिरहेको छ,’ उनले भने ।

साभारः लोकान्तर खबर ।