युवालाई रोजगारी पहिलो प्राथमिकता ः मन्त्री रावल


तस्विरः गुगलबाट ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले विदेशीने युवाहरुलाई कर्णाली प्रदेशमै स्वरोजगार बनाउने संकल्प प्रदेश सरकारले गरेको बताएका छन् । सिम्ता गाउँपालिकामा बुधबार सम्पन्न नमूना युवा संसदलाई सम्बोधन गर्दै मन्त्री रावलले संघीय संसदकै झझल्को दिने गरी युवाहरुले संसद सञ्चालन गरेको बताए । रोजगारीको रुपमा विदेश गएपनि दैनिक बाकसबाट युवाका लास फिर्ता हुने भयावह अवस्था रहेकाले त्यसको समाधानका लागि सबै तहका सरकारहरु जिम्मेवारपूर्वक अगाडी बढ्न जरुरी रहेको बताए ।
विश्वमा जतिपनि संसदिय व्यवस्था अनूरुप सरकारहरु चलिरहेका छन् त्यहाँका आम नागरिकहरुको अर्थपूर्ण सहभागिता, सचेतना र सशक्तिकरणको माध्यमबाट सफल भएको बताए । “सामाजिक सम्बन्धका हिसावले विकसित मुलुकभन्दापनि नेपालमा आपसी सौहार्दता, भातृत्व र सामाजिक सद्भावको छैन” मन्त्री रावलले भने “आजका युवा भोलिका कर्णधार मात्र नभई वर्तमानका हिस्सेदार पनि भएको हुनाले युवाहरुलाई संगठित रुपमा राज्य सञ्चालनको प्रक्रियामा एकाकार बनाएर अगाडी बढाउन सके मुलुकको विकास सम्भव छ ।” देशभरीका ७५३ स्थानीय तह मध्ये सिम्ता गाउँपालिकाले पनि नमूना युवा संसद सञ्चालन गर्नु प्रशंसनिय कार्य भएको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य ठम्मर विष्टले राज्य चलाउन सक्ने युवाहरुले आजदेखि नै विभिन्न क्रियाकलापमा सक्रिय भएर लाग्न आग्रह गरे । युवाहरुको हातमा नै गाउँदेखि शहर हुँदै देश निर्माणमा ठुलो भुमिका हुने बताउदै प्रदेश सभा सदस्य विष्टले युवाहरुले विकास निर्माण तथा सामाजिक कार्य गर्दै गए सबैले सहयोग गर्ने विश्वास दिलाए ।
प्रदेश सभा सदस्य पद्मा खड्काले सिम्ता गाउँपालिकाले सञ्चालन गरेको नमूना युवा संसद कर्णाली प्रदेशको नमूना भएको बताईन । नमूना युवा संसदले हामीले चाहेमा गर्न सक्छौं भन्ने भावनाको विकास गरेको उनको भनाई थियो । “क्षमतालाई उमेरले छेक्न सक्दैन भन्ने उदाहारण पछिल्लो स्थानीय र प्रदेशको निर्वाचनबाट युवा, महिला, दलित, जनजातिको प्रतिनिधित्व नेतृत्व तहमा पुगेको छ ।”
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रतिनीधि ऐन बहादुर चन्दले युवा संसदका सवाल तथा स्थानीय जनप्रतिनीधिहरुका काम कारवाहीहरुमा सहकार्य गरी अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरेका थिए । त्यसैगरी नेपाली काँग्रेसका पार्टी प्रतिनीधि वीरेन्द्र रावतले प्रदेश सरकार र केन्द्र सरकारको कार्यकाल एक बर्ष पुरा नभएका कारण प्रतिपक्षको नाताले तीनै तहका सरकारको टिक्का टिप्पणी नगरिएको बताए । युवा संसदले गरेको अनुकरणीय कार्यको प्रशंसा उनले गरेका थिए ।