सिंजामा सुरु भयो बैंक, स्थानीयवासि खुसि


असार २७, जुम्ला ।

कर्णाली प्रदेश सभा सदस्य माननीय पदम रोकायाले जुम्ला जिल्लाको समग्र विकासमा आफू लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । जुम्ला जिल्लाको हिमा गाँउपालिकामा नेपाल ईन्भेष्टमेण्ट बैंकको उद्घाटन कार्यक्रममा बोल्दै सांसद रोकायाले नेपालमा जुम्ला जिल्लाको महत्व र पहिचान नै बेग्लै भएकाले यसको विकासमा सबैले साथ दिनुपर्नेमा पनि जोड दिनुभयो ।

गाँउपालिका अध्यक्ष रजबहादुर शाहीले सबैसँगको सहकार्यमा पालिकाको विकासमा आफू अहोरात्र खटेरा लागि रहेको भन्दै यहाँका समस्याहरुको अध्ययन गर्दै समाधानका उपायहरु निकाल्दै जाने बताउनु भयो । उहाँले हिमा गाँउपालिकामा बैक स्थापना भएपछि यहाँका नागरिकहरुले सहज सेवा पाउनेमा जोड दिदै बैंकले सेवा प्रबाहमा कठिनाई उत्पन्न हुन नदिन सचेत रहन पनि आग्रह गर्नुभयो ।

बैंकका मेनेजर एकराज महतले बैंकले सेवाग्राहीहरुलाई सहज सेवा दिन हर प्रयास गरीने विश्वास दिलाउँदै स्थानियबाट पनि सकारात्मक सहयोगको अपेक्षा ब्यक्त गर्नुभयो ।

बैंकको उद्ध्घाटन सँगै खाता खोल्ने र सेवा प्रबाह पनि सुरुभएको जनाइएको छ । बैंकले एटिएम सेवा बाहेक अन्य सेवा सञ्चालन गरेको छ भने करिब २ हजार, २ सय स्थानियवासीले बैंकबाट सहज सेवा पाउने भएका छन् । बैंक सञ्चालन भएसँगै सामाजिक सुरक्षा भत्ता लगायतका बैंक सेवा लिन जुम्ला बजार सम्म धाउनु पर्ने झन्जट भने अब हट्ने भएको छ ।