देउवाको प्रस्तावबारे धारणा बनाउन पौडेल गुटको भेला


 ३२ असार काठमाडौं

पार्टीलाई नयाँ संरचनामा लाने सभापति शेरबहादुर देउवाको प्रस्तावमाथि धारणा तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक काठमाडौंमा सुरु भएको छ। बालाजुस्थित एक सामुदायिक विद्यालयमा बिहान ११ बजेदेखि सुरु भएको भेलामा साउन २ गते सभापति देउवाले बोलाएको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा तय गरिने एक नेताले अन्नपूर्णलाई बताए।

सभापति देउवाले विधान मस्यौदा समिति, पार्टीका विभागहरू गठन र प्रदेश समितिहरू बनाउन प्रस्ताव गरे पनि वरिष्ठ नेता पौडेलले त्यसमा निर्णय दिन सकिरहेका छैनन्। देउवा विधान मस्यौदा समिति र महासमितिको भेलाको मिति समेत तय गर्ने तयारीमा छन्।

पौडेल गुटको गोप्य बैठकमा नेताहरू कृष्णप्रसाद सिटौला, अर्जुनरसिंह केसी, प्रकाशमान सिंह, शेखर कोइराला लगायतले आफू निकट केन्द्रीय सदस्यहरूसँग विधान मस्यौदा समिति, पार्टीका विभागहरू गठन र प्रदेश समितिहरू बनाउन सभापति देउवाले गरेका प्रस्तावमा कसरी प्रस्तुत हुने भनेर धारणा माग्नेछन्। अन्नपूर्णपोष्टबाट