विवादास्पद स्वामी कमलनयनले कब्जा गरेको १५ बिघा जग्गालाई वैधानिकता दिने तयारी


विवादास्पद स्वामी कमलनयनविवादास्पद स्वामी कमलनयन
चितवन— चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमित क्षेत्र मान्दै आएको पश्चिमी सिमानामा रहेको त्रिवेणी गजग्राह क्षेत्रलाई वैधानिकता दिने अन्तिम तयारीमा सरकार लागेको छ। बिनास्वीकृति विवादास्पद स्वामी एव‌ं मुक्तिनाथ पिठाधीश कमल नयनाचार्यले सो क्षेत्रमा भब्य मन्दिर र विद्यापिठहरु बनाउँदै आएका छन्। अतिक्रमणको अभियोगमा गत वर्ष निकुञ्जले कमलनयनका सहायकलाई पक्राउ गरेको थियो।

पूर्वी भेगमा रहेको चितवन निकुञ्जकभित्रको बस्ती पदमपुरलाई नयाँ ठाउँमा सारेपछि निकुञ्जको क्षेत्रफल विस्तार भएको धेरैलाई लागेको थियो। पदमपुरको जमिन बराबर त्रिवेणी क्षेत्रको जग्गा निकुञ्जको सिमानाबाट कटाउने प्रस्ताव वन मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको छ। मन्त्रिपरिषदले सीमानासम्बन्धी यो प्रस्ताव स्वीकृत गरेमा स्वामीले बनाएको आश्रम क्षेत्र निकुञ्ज सिमाना भन्दा बाहिर पर्नेछ। विवादास्पद स्वामीले गैरकानुनी रुपमा कब्जा गरेको १५ बिघा जग्गाले वैधानिकता पाउनेछ।

‘पदमपुरबाट बस्ती निकुञ्ज बाहिर सारेपछि २१ वर्ग किलो मिटर जमिन खाली भएको छ। त्यो बराबारको जमिन त्रिवेणी क्षेत्रबाट निकुञ्जको सिमाना बाहिर पार्ने प्रस्ताव विभाग, वन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा छलफलका लागि गएको छ’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता किशोर मेहताले भने। निकुञ्ज सीमा भित्रै स्वामीले बिना स्वकृति भौतिक संचरना निर्माण गरे पनि हटाउने रोक्ने आँट सरकारी निकायले गरेको छैन।

निकुञ्जले निकालेका आधिकारिक प्रकाशनहरुमा विवादस्प स्वामीको आश्रमलाई ‘पहुचवालाहरुको संरक्षण’ रहँदै आएको उल्लेख छ। गत वर्ष असार २९ मा चितवन निकुञ्जले कमलनयनका सहायक कृष्ण प्रपन्नचार्यलाई पक्राउ गरेको थियो। विवादस्पद व्यक्तित्व कमलनयनले केन्द्रबाट सोर्सफोर्स लगाएका भरमा शक्तिको दुरुपयोग हुँदा उनी मुद्दा नचली हिरासतमुक्त भएका थिए। कृष्ण प्रपन्नचार्य समातिएको केही महिनापछि निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको सरुवा भएको थियो। आफ्ना गैरकानुनी कार्यविरुद्ध उभिने सरकारी कर्मचारीलाई स्वामी कमल नयनले शक्ति केन्द्रको अाडमा खुलेअाम सरुवा र कारवाहीको धम्की दिँदै अाएका छन्।

‘गजग्राह क्षेत्र समस्याको रुपमा रहेको छ। यसलाई कसरी व्यवस्थापन गर्नुपर्ने हो नीति बनेर आउनु पर्छ भन्ने हाम्रो चासो हो। विभागबाट गएको चैत्र महिनामा एउटा टोली आएर सवै बुझेर गएको छ। केही न केही निर्णय आउला’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने। निकुञ्ज सिमाभित्रै बिना स्वीकृति संरचना बनाउने कार्यहरु प्रति राज्यको ध्यान जानु पर्ने उनको आग्रह छ।

निकुञ्जको सिमाना परिवर्तन सम्बन्धमा आफूहरुसँग कुनै छलफल नभएको चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ले बताए। मध्यवर्ती उपभोक्ता समिति त्रिवेणीका अध्यक्ष लक्ष्मण गौतम गजग्राह क्षेत्रलाई निकुञ्ज सिमा भित्र नपार्नु नै राम्रो हुने बताउँछन्। ‘धार्मिक क्षेत्रलाई किन निकुञ्ज भित्र पार्ने बाहिर राखे राम्रो हुन्छ भन्ने हाम्रो सुझाव हो’ अध्यक्ष गौतमले भने ।

निकुञ्जको जंगलभित्रै पर्ने वाल्मीकि आश्रमलाई निकुञ्ज सीमा बाहिर पारे जस्तै गजग्राह क्षेत्रलाई पनि बाहिरै पारेर धार्मिक क्षेत्रका रुपमा विकास गरेर त्रिवेणी क्षेत्रमा राम्रो प्रभाव पर्ने मध्यवर्ती उपभोक्ता समिति त्रिवेणीका अध्यक्ष गौतमले बताए। चितवन निकुञ्ज युनेस्कोले विश्व सम्पदा सुचीमा पारेको निकुञ्ज हो। सिमाना हेरफेर हुँदा विश्वव्यापी नकरात्मक प्रचार जान सक्ने खतरा पनि केही अधिकारीहरुले देखेका छन्।

युनेस्कोको विश्व सम्पदा सुचीमा परेका प्राकृतिक क्षेत्रका सम्पदाको फोकल पर्सन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक महेश्वर ढकाल कुल क्षेत्रफल कम नहुने भएकाले युनेस्कोलाई आपत्तिको विषय नहुने बताउँछन्। ‘निकुञ्जको कोर एरिया ९३२ वर्गा किलो मिटर र मध्यवर्ती क्षेत्र ७५० वर्ग किलो मिटर हो। यो क्षेत्रफल कायम गरेर सिमाना हेरफेर हुने हुँदा आपत्ति रहँदैन’ ढकालले भने।

गजग्राह मात्रै नभएर निकुञ्जको जमिन अन्यत्र पनि अतिक्रमण भएको छ। गजग्राहलाई सरकारले सहुलियत दिँदा अरु अतिक्रमणकारीहरुको मनोवल बढ्ने खतरा संरक्षणकर्मीहरुले देखेका छन्। निकुञ्जले चार वर्षअघि निकालेको प्रतिवेदनमा एक हजार हेक्टर हाराहारीमा अतिक्रमण भएको उल्लेख थियो।

साभारः नागरिक अनलाइन