विमानस्थल निर्माण सम्वन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक


 

रमेश कुमार वली
सल्यान २१, असोज । सल्यानमा एक गाउपालिकाले विमानस्थल निर्माण सम्वन्धी संभाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । जिल्लाको छत्रेश्वरी गाँउपालिकाले आइतवार पत्रकार सम्मेलन मार्फत छत्रेश्वरी गाँउपालिका स्थित लेखपोखराको डाँडामा प्रस्ताव गरीएको छत्रेश्वरी विमानस्थल सम्भावित अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

कुल ८१ करोड रुपैयाको लागत अनुमान गरिएको प्रस्तावित विमान स्थल निर्माणका लागि धावन मार्गका लागि चाहिने ६ सय ३० मिटर उपलव्ध रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । भु वनावटको हिसावले जमिन उपयुक्त रहेको तथा ग्राउण्डका लागि समेत जमिन उपलव्ध रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सल्यान र रोल्पा जिल्लाका पश्चिमी भेगका करिव ३ लाख ५० हजार जनसंख्यालाई लक्षित गरि अध्ययन थालिएको विमानस्थलमा १९ सिट क्षमताका टवीनटर विमानहरु अवतरण गर्न सक्नेछन् ।

विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनले उपयुक्त देखाएकोले अव विमानस्थल निर्माणको कार्य अगाडी वढाइने छत्रेश्वरी गाउपालिकाका अध्यक्ष सन्तोष केसीले जनाकारी दिनुभयो । “सम्भाव्यता अध्ययनबाट विमानस्थल निर्माणका लागि छनौट गरिएको स्थान उपयुक्त देखिएको छ अव छिटै निर्माणको कार्य अगाडी वढाइने छ ।” अध्यक्ष केसीले भन्नुभयो ।

विमानस्थल निर्माणका लागि गाउपालिकालागि ठुलो रकम भएपनि यसका लागि संघिय सरकार तथा प्रदेश सरकारलाई अनुरोध गर्ने जानकारी दिनुभयो । “हाम्रो भन्दा कमजोर र सानो जमिन भएका स्थानमा विमानस्थलहरु निर्माण भएका छन्, शुरु शुरुमा धरैलाई सुन्दा अपत्यारीलो लाग्न सक्छ तर सवैको सहकार्य सहयोगले यो सम्भव वनाउछु ।” अध्यक्ष केसीले भन्नुभयो ।

छत्रेश्वरी गाँउपालिका वार्ड नं ५ मा अवस्थित प्रस्तावित छत्रेश्वरी विमानस्थलको अध्ययन गर्ने जिम्मा पाएको आरम्भ आर्केटेक्ट एण्ड ईञ्जिजिनियर्सको टिमले अध्ययन प्रतिवेदन सार्वजानिक गरेकोे हो ।