३ श्रावण, सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डा. गोविन्द केसीको पक्षमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन गर्ने चिकित्सक, कर्मचारी र विद्यार्थीलाई छानविन गरेर कारवाही गर्ने बताएका छन्।
बिहीबार डा. केसीलाई लिन जुम्ला गएका मुख्यमन्त्री शाही र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई केसीका समर्थकहरुले अस्पतालभित्र प्रवेशमा रोक लगाएका थिए। ‘हामी डा. केसीसँग वार्ता र संवाद गरेर काठमाडौं पठाउने उद्देश्यले गएका थियौं, केही अराजक चिकित्सक, विद्यार्थी र कर्मचारीले गेटभित्र प्रवेश गर्नै दिएनन्’, डा. केसीलाई सुर्खेत विमानस्थलमा ल्याएर आएका मुख्यमन्त्री शाहीले भने, ‘अब अवरोध गर्नेहरुलाई छानविन गरेर कारवाहीको दायरामा ल्याउँछौं।’ उनले डा. केसीका समर्थकमाथि कस्तो कारवाही गर्ने भन्ने विषयमा केही खुलाएनन्।
उनले सिसीटिभी क्यामराको फुजेट प्रहरी नियन्त्रणमा रहेको भन्दै अनुसन्धानको मुख्य आधार त्यसैलाई बनाइने बताए। ‘अस्पतालभित्र भएका सबै गतिविधि सिसीटिभी क्यामरामा कैद छन्’, उनले भने, ‘त्यसैको आधारमा कारवाही प्रक्रिया अगाडि बढाउँछौं।’ उनले जुम्लामा डा. केसीको जीवन बचाउन नसक्ने अवस्था आएपछि काठमाडौं पठाउन आग्रह गर्न आफूहरु जुम्ला पुगेको बताए। ‘२० दिनदेखि अनशन बस्दा उहाँको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको थियो, जुम्लामा उहाँलाई बचाउन नसक्ने अवस्था आएपछि हामीले काठमाडौं पठाउन खोजेका हौं’, मुख्यमन्त्री शाहीले भने, ‘वार्ता र संवाद गर्नका लागि डा. केसीलाई भेट्नै नदिने अराजक समूहलाई कारवाही गरेरै छोड्छौं।’
डा. केसीलाई लिन बिहीबार विहान नेपाली सेनाको हेलिकोप्टरमा मुख्यमन्त्री शाही र जुम्लाकै स्थानीयसमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी जुम्ला पुगेका थिए। डा. केसीलाई दिउँसो साढे चार बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत विमानस्थलमा ल्याइएको थियो। सुर्खेतबाट पौने पाँच बजे केसीलाई काठमाडौं लगिएको छ।
नागरिकन्यूजअनलाइनबाट
Prawash Kumar Shakya । ३ श्रावण २०७५, बिहीबार १३:२२ बजे