‘फर्मुला’ फेरिदिने गोफ्ले


‘फर्मुला’ फेरिदिने गोफ्ले

अभिनेता दयाहाङ राई अभिनय गरेर आफूमात्र चर्चित बनेनन्, नेपाली सिने–उद्योगमा नयाँ ‘ट्रेन्ड’ नै बसाइदिए । चिम्सा आँखा, मंगोल फेस, मझौलो बान्की परेको तर सुगठित शरीर नभएको युवक पनि सिनेमाको हिरो हुन सक्छ भन्ने उदाहरण बने । उनी त्यस्तो समय नेपाली सिने–जगत्मा प्रवेश गरेका थिए, जतिबेला सिनेमाको हिरो हुन आर्य–अनुहार चाहिन्थ्यो । ठूलो बान्की परेको अनुहार र सर्लक्क परेको आकर्षक शरीर हुनैपथ्र्यो । अर्थात् यसो भनौं— जो–कोही केटी लोभिने आकर्षक शरीर भएको बलिउडको सलमान जस्तो हुनुपथ्र्यो । तर, उनले यी सबै मान्यता भत्काइदिए । नेपाली रजतपटलाई नै नयाँ बाटामा हिँडाए ।
हिरो हुन आर्य–अनुहार होइन, अभिनयको सुन्दर कला चाहिन्छ भन्ने मान्यता स्थापित गराइदिए । यही कारण थुप्रै मंगोल अनुहारहरू अहिले सिने–जगत्का नायक भइरहेका छन् । चलचित्रको नेतृत्वपंक्तिमा आफूलाई उभ्याइरहेका छन् । त्यसैले त उनीहरू भन्छन्– दयाहाङ दाइ, साधुवाद !

एक साताअघिको भेटमा विल्सन विक्रम राई आदरभावमा भन्दैथिए– दयाहाङ दाइ, अलि अगाडि नेपाली रजतपटमा डेभ्यु गरेको भए म पनि पहिल्यै हिरो भइसक्थें ।

cinema-in

नयाँ ट्रेन्डको श्रीगणेश गरेर कैयौं मंगोल–अनुहारलाई लिड–रोलको बाटो खुला गरेका दयाहाङमा भने त्यसप्रति कुनै अभिमान छैन । घमण्डको थोरै अंश पनि झल्किंदैन उनका अनुहार र बोलीमा । उस्तै छन् उनी– जस्तो थिए ‘लुट’अघि ।
अरू यसको सम्पूर्ण श्रेय दयाहाङलाई दिन्छन् । उनी पनि यसमा खुसी छन् । अरू भए छाती फुलाएर फुक्दै हिँड्थे होलान्, जस अरूले लिने हो कि भनेर तर्सिन्थे होलान् । तर, उनी भने यसलाई आफ्नो अभिनयसँगै समयको माग हो भन्छन् ।
“ढिलो–चाँडो यो हुने नै थियो, ‘लुट’मा मैले खेलेपछि आर्य–अनुहार मात्र होइन, अभिनय गर्ने जोकोही पनि मुख्य पात्र हुन सक्छ भन्ने सन्देश गएको हो,” उनी भन्छन्, “शायद मैले गरेको अभिनय धेरैले रुचाइदिनुभयो, त्यसैले जोसुकैलाई नेतृत्व–भूमिकामा उभ्याए पनि हुन्छ, तर त्यो अभिनयमा पारङ्गत हुनुपर्छ भन्ने निर्माता, निर्देशकलाई लागेको हुनुपर्छ ।”

० ० ०

भोजपुरमा जन्मिएका दयाहाङलाई सानैदेखि साहित्यमा रुचि थियो । कथामा विशेष झुकाब थियो । साहित्यका किताब उनी खोजी–खोजी पढ्थे । कथा लेख्न रुचाउँथे र लेख्थे पनि । कथा लेख्न शिक्षकहरूले हौस्याउँथे । उनलाई आफू कथा लेख्नकै लागि जन्मिएको हुँ झैं लाग्न थाल्यो ।

बच्चा बेलामा पढेका दन्त्यकथा, लोककथाका चरित्रहरूलाई लिएर त्यस्तै अर्को कथा लेख्न मन पथ्र्यो । त्यस्तै राम्रो कथा लेख्नु पर्छ भन्ने लाग्थ्यो ।
तर, उनले पढेका अधिकांश कथाका विषयवस्तु सहरका थिए । गाउँका कथा सहर पुगेर सकिन्थे । उनलाई लाग्यो कथा गाउँमा बसेर मात्रै लेखिँदैन । गाउँको विषयले मात्रै कथा पूर्ण हुँदैन । कथामा सहर पनि मिसिनुपर्छ । तर उनी गाउँमा थिए, सहरको अनुहार पनि राम्रोसँग देखेका थिएनन् । लाग्यो– कथा लेख्न पनि सहर जानुपर्छ । सपनाको सहर काठमाडौं गएर त्यहाँको यथार्थ चित्रण गर्न पर्याप्त ज्ञान हुनुपर्छ ।

एकातिर कथाको विषयवस्तु खोज्दै सहर जाने उनको अन्तर्मनको चाहना र अर्कातर्फ माओवादी द्वन्द्वले गाउँमा बस्न नसक्ने परिस्थिति । ‘के खोज्छस् कानो आँखो भने झैं’ भयो । उनी ०५८ सालको एक दिन सपनाको सहर काठमाडौं छिरे ।

उनलाई काठमाडौंमा सामान्य हिसाबले बस्न समस्या थिएन । काकाकाकीको बसोबास यतै थियो, उनी सँगै बसे ।

साहित्यप्रति रुचि भएका उनी बिस्तारै साहित्यकारको घेराभित्र छिर्न थाले । कवि, लेखकहरूलाई भेट्न थाले । उनी साहित्यिक पुस्तक–विमोचनमा जान्थे । सांस्कृतिक कार्यक्रममा सहभागी हुन्थे । पेन्टिङ र फोटोग्राफी–प्रदर्शनीमा पनि जान्थे । गीती एल्बम विमोचन–समारोहमा पुग्थे । उनलाई यस्ता कार्यक्रमको माहोल मन पथ्र्यो । साथीसंगत पनि कलासाहित्यका क्षेत्रकै मान्छेहरूको हुन थाल्यो । नियमित भेटघाट र उठबस कलाकार र कलाप्रेमीहरूसँग नै हुन थाल्यो । कवि, कलाकारहरूसँग भेट भए पनि उनलाई भने ‘मैले जानेको लेख्ने हो र लेख्नुपर्छ’ भन्ने मनमा रहिरहन्थ्यो ।

प्रज्ञाप्रतिष्ठानमा नाटक–महोत्सव भइरहेको थियो । उनी त्यहाँ नाटक हेर्न गए । उनलाई नाटक मन पर्न थाल्यो । नाटकको नियमित दर्शक भए । अर्को साल पनि उनी नाटक–महोत्सवमा गए । नछुटाई नाटक हेरे ।

नाटकले उनको मस्तिष्कमा रहेको साहित्यकार बन्ने सपना भत्काइदियो । उनले सोचे– मैले सोचेजस्तो छैन कथा र पुस्तक लेख्न । उनलाई लाग्यो, “मेरा लागि नाटक हो । म नाटक लेख्न र निर्देशन गर्न सक्छु ।”

त्यसैले उनी कथालेखनतिर हिँड्दै गरेका पाइलालाई त्यहीँ पूर्णबिराम लगाइदिएर मोडिए नाटकतिर । उनले थुप्रै नेपाली नाटक र अनुवादित नाटक पढे ।
उनलाई नाटकप्रति मोह जागेको थियो । सिक्नुपर्छ भन्ने लाग्यो, सिक्न राष्ट्रिय नाचघर जमल पुगे । त्यहाँ पुग्दा ढिलो भइसकेको थियो । उनले त्यस वर्ष नाटक सिक्न पाएनन् ।

उनले नाटककारको संगत गर्न थाले । तर त्यस वेलासम्म पनि उनलाई म अभिनय गर्छु भन्ने लागेको थिएन र चाहना पनि थिएन ।

मान्छेको स्वाभाव नै हो, पर्खिन गाह्रो हुन्छ । उनलाई पनि एक वर्ष पर्खिन सक्छु जस्तो लागेन । पर्खाइको पीडा गाह्रो हुन्छ । त्यो अनुभूति उनलाई पनि भयो । देशभरका नाट्यकर्मी–सहभागी भेला गरेर एकमहिने कार्यशाला आयोजना गरियो । सँगै ड्रामा–प्रोडक्सन पनि राखियो । सरुभक्तको ‘सिरूमा रानी’ नाटक थियो । त्यसलाई संयोजन गर्ने काम अनूप बरालले लिएका थिए ।

कार्यशाला र ड्रामा प्रोडक्सनमा सहभागी भएपछि फेरि उनमा अर्को संशय भयो, “नाटक लेख्न र निर्देशन गर्न मैले सोचे जस्तो सजिलो रहेनछ । म निर्देशन र नाटकलेखन दुवै गर्न सक्तिन ।” उनका साथी र गुरुहरूले उनलाई भन्थे, “तँ गज्जबको अभिनय गर्छस् ।”

उनलाई नाटक लेख्न र निर्देशन गर्न सक्दिनँ भन्ने लाग्न थालेपछि अभिनयमा जम्नुपर्छ भन्ने लाग्न थाल्यो । यसका लागि उनी सिक्न थाले । उनले अनूप बराललाई गुरु थापे, नाट्यकर्मीहरूको संगत गर्न थाले ।

खगेन्द्र लामिछाने त्यस समय नाटक र कथा लेख्थे, सुदर्शन लामिछाने राम्रो अभिनय गर्थे, अनूप बराल थिएटरका लोकप्रिय रंगकर्मी थिए । उनीहरूसँग सामीप्यमा रहन थाले ।

‘सिरूमा रानी’ उनको जिन्दगीको पहिलो नाटक थियो, जुन एकमहिने वर्कसपमै गर्न अवसर पाए ।

नाटक सिकिरहेका उनले टेलि–चलचित्र खेले । यो भने उनका लागि संयोग थियो । उनलाई टेलि–सिरियल खेल्ने रहर लागेर त्यसका पछि नदौडिए पनि मनको कुनामा टेलिभिजनको सिसामा देखिने लोभ भने थियो । स्टेजमा नाटक गरेर वाहवाही कमाएका उनलाई टेलिभिजको पर्दामा आफ्नो अभिनय हेर्ने रहर थियो ।
एकदिन उनी वागबजारमा साथीहरूलाई भेट्न गएका थिए । त्यहाँ तेजेन्द्र शेरचन भन्ने एक जना आफूलाई स्क्रिप्ट राइटिङको शिक्षक भन्ने व्यक्तिले उनलाई ‘टेलि–चलचित्रमा खेल्ने हो’ भनेर सोधे । सानोतिनो अडिसन लिए, उनी पास भए । त्यसपछि उनी शेरचनको ‘मोक्ष’ नामक टेलि–सिरियलमा खेले । तीन जना मुख्य भूमिकामा रहेको उक्त सिरियलमा राई पनि एक थिए । उनीसँगै थिए– सुदर्शन थापा र कृति भट्टराई । तर, दुर्भाग्य त्यो ‘अन एयर’मा आएन । तर, त्यो उनका लागि सिकाइ भयो ।

पछि नवीन सुब्बाको ‘दलन’मा अभिनय गरे, जुन निकै मन पराइयो ।
उनले श्रवण मुकारुङको लेखन र रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको ‘अनागरिक’ सिनेमा गरे, जुन उनको पहिलो चलचित्र हो । उक्त सिनेमा गुरुङ समुदायमा आधारित थियो । इन्डिजिनियस फिल्म फेस्टिबलमा यो पुरस्कृत पनि भयो ।

यससँगै उनले ‘टलकजंग भर्सेस टुल्के’ र ‘बाँकी उज्यालो’ भन्ने नाटकमा अभिनय गरे । अनागरिक र यी दुई नाटकमा काम गरेपछि उनलाई लाग्यो– अझै मैले अभिनयको कक्षा लिनुपर्छ । त्यसपछि उनले अनूप बरालको ‘एक्टर स्टुडियो’बाट तीनमहिने अभिनयको क्लास लिए । जसले उनको अभिनयलाई तिखार्न थप मद्दत गर्यो ।

उनी नाटकमा जमिसक्दा पनि केही तयस्ता व्यक्तिहरु पनि थिए–जसले उनले नाटक र टेलिफिल्ममा मुख्य अभिनयको अपेक्षा गर्नु मुर्खता थियो । उनी भन्थे, “तिमी बाउन भएर जन्मिनु पर्ने कठै ! राई भएर जन्मियौं । यही नै तिम्रा लागि अभिशाप हो ।” उनलाई रिस उठ्थ्यो । तर, मौन बस्थे । मनमा एक दन गरेर देखाउँछु भन्ने सोच बनाउँथे ।

उनले जननेता मदन भण्डारीको दुर्घटनासम्बन्धी घटनामा आधारित चलचित्र ‘दासढुंगा’मा अभिनय गरे । यसमा राई भण्डारीको सवारीचालक अमर गुरुङको भूमिकामा छन् । उनले यसमा आफ्नो तर्फबाट सक्दो मेहनत गरे ।

यो चलचित्र गरेपछि उनको अभिनयकला सबैले हेर्न पाए । चौतर्फी प्रशंसा भयो । उनी ढुक्क भए, “म एक्टर भएँ । सिनेमामा काम पाउँछु, प्रस्तावहरू आउँछन् ।” हुन त कतिपयले दासढुङ्गामा राम्रो अभिनय गरे पनि त्यसले अपेक्षित चर्चा नपाएको भन्नेहरू पनि छन् । तर उनी भने यसमा सहमत छैनन् ।

पछि निश्चल बस्नेतले दासढुङ्गामा उनको अभिनय हेरेर राईलाई ‘लुट’मा अफर गरे । अहिले पनि उनलाई लाग्छ– दासढुङ्गामा राम्रो अभिनय नगरेको भए उनलाई ‘लुट’मा निश्चलले बोलाउने थिएनन् र ‘लुट’मा उनले गोफ्लेको चरित्र ननिभाएका भए अहिले पनि उनी गुमनाम नै हुने थिए । नेपाली चलचित्रमा चिम्सा आँखा भएकाले लिड–रोल गर्न सक्दैन र हुँदैन भन्ने मनोवृत्ति यथावत् रहेकै हुने थियो ।
नेपाली सांगीतिक क्षेत्रका नक्षत्र अम्बर गुरुङ बितेको दिन मन्डला थिएटरमा भएको भेटमा उनी अलि हतारमा देखिन्थे । एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि जाने तयारीमा देखिएका उनी गुरुङको मृत्युले अलि स्तब्धजस्ता लाग्थे । गुरुङसँगको भेटको गज्जबको प्रसंग पनि सुनाए । तर, उनले अन्तिममा भने– अफ द रेकर्ड ।
फोनका घण्टी बाक्लै बजिरहन्थे । छोटो कुराकानी गर्दै त्यस दिनका सबै कार्यक्रम स्थगित गरेको जानकारी दिँदै एकेडेमीमा जाने जनाउ दिँदै थिए ।

उनले भने, “म शायद अलि बेग्लै प्रवृत्तिको थिएँ जस्तो लाग्छ । म आम कलाकारझैं लोकप्रियता चाहन्थेँ, तर उनीहरूले मलाई नचिनून् भन्ने लाथ्यो । तर मेरो बारेमा, मेरो अभिनयकलाको बारेमा प्रशंसा गरून्, मलाई नचिनेर मैसँग मेरो बारे छलफल गरून् भन्ने चाहना हुन्थ्यो । ‘दासढुंगा’सँगै त्यो चाहनाको अन्त्य भयो । तर, पनि मेरो त्यो लुप्त चाहना थिएटरले केही पूरा पनि गर्यो जस्तो लाग्छ ।”

उनी रंगमञ्चबाट आए । अभिनयमा लगभग पारंगत थिए । ‘लुट’मा उनले त्यो देखाए । ‘लुट’ नेपाली चलचित्र–उद्योगमा कोसेढुंगा सावित भयो । ‘लुट’ले त चलचित्रपे्रमीको मन लुट्यो नै, सँगै दयाहाङले पनि दर्शकको मन लुटे ।
पुरानो फर्मुलामा बन्दै आएका चलचित्रको जगलाई ‘लुट’ले भत्काइदियो ।

दयाहाङले आर्य–अनुहारले मात्रै चलचित्रमा लिड–रोल गर्न सक्छ भन्ने निर्माता, निर्देशकको मनोविज्ञानमा परिवर्तन ल्याइदिए ।

उनलाई सिनेमामा प्रस्तावको ओइरो लाग्न थाल्यो । उनले आएका प्रस्तावहरूमध्ये मुस्किलले ५ देखि ७ प्रतिशत मात्रै चलचित्र गर्दै आएका छन् ।

मैले सोधें, “तपार्इं जस्तो पनि चलचित्र गर्नुहुन्छ भन्ने आरोप छ नि !”
उनले सहज उत्तर दिए, “मलाई त्यस्तो लाग्दैन र होइन पनि । म सत्य भन्छु– मलाई लाग्छ तपाईं स्पष्ट हुनुहुन्छ । म जति स्क्रिप्ट हेरेर काम गर्ने कोही छैन होला । मसँग आएका कुल चलचित्रमध्ये ५ देखि ७ प्रतिशतमा मात्रै काम गर्छु । यो नै स्क्रिप्ट हेरेर काम गर्छु भन्ने गतिलो प्रमाण हो ।”

सिने–जगत्मा एउटा हल्ला राम्रैसँग चल्यो– दयाहाङलाई कथा मात्र दिए पनि सिनेमा बन्छ । यो भ्रम पालेका निर्माता तथा निर्देशकको भीड नै लाग्यो । तर, उनी त्यसबाट टाढै बसे ।

कतिपय सिनेमा सम्बन्धका आधारमा पनि गर्नुपर्ने हुँदो रहेछ । त्यसमा थोरै सम्झौता गर्नुपर्ने अवस्था आउँदो रहेछ । अर्को कुरा सिनेमामा एग्रिमेन्ट गर्दा र छायांकनमा जाँदा स्क्रिप्टमा ठूलो अन्तर आइसकेको हुन्छ । निर्माता, निर्देशकका कुरा निकै ठूला हुन्छन् तर काम भने सामान्य पनि हुँदैनन् ।

चलचित्रका स्क्रिप्ट हेर्दा ८० प्रतिशत पुनर्लेखन गर्नुपर्ने अवस्था छ । “टेबलमा मसँग मैले भने जसरी काम गर्ने अठोट गरेका फिल्मनिर्माताहरू लोकेसनमा पुग्दा पुरानै ढंगले खिच्छन् । म बीचमै छाडेर हिँड्न सक्दिनँ । यो मेरो कमजोरी पनि हो,” उनले दुखेसो पोखे, “कथा उही होला, समय एउटै होला तर फरक ढंगले प्रस्तुत गर्न सकिन्छ ।”

अहिलेसम्म उनले २७ वटा सिनेमा गरे ।

नेपाली सिनेमा एउटा फर्मुलामा बनिरहेका थिए । चार वटा गीत, हिरो–हिरोइनको रोमान्स, द्वन्द्वका रूपमा अन्तिमसम्म खलनायकको आतंक र अन्त्यमा हिरोको जित । ५ दशकदेखि यही फर्मुलामा चलचित्र बनिरहेका थिए । दर्शकले चाहेको कथा सिनेमामा समावेश थिएनन् । जाति–जनजाति, स्थानीय परिवेश र लवजबाट चलचित्र टाढै थिए । स्थानीय परिवेश र युवाजगत्को यथार्थ कथालाई नजरअन्दाज गरिरहेका थिए । यो कुरा ‘लुट’बाट तोडिएपछि केही चेत खुल्यो । फरक धारका चलचित्र बन्न थाले । नियमित जाति र कथा भंग भयो ।

० ० ०

कथा र नाटकको लेखन तथा निर्देशन गर्ने आँट हराएपछि अभिनयमा हामफालेका उनले सिनेमा खेल्न थालेपछि कम्तीमा चार वटा जीवन्त चलचित्र गर्छु भन्ने अठोट गरे ।

चारमध्ये अहिलेसम्म कति वटा चलचित्र गरिसके होलान् ?

उनले निकै बेर गमेर भने– सम्भवतः दुई ।

एउटा ‘लुट’ हो । अर्को कुन ?

“म भन्दिनँ,” उनले च्याप्टर नै बन्द गरिदिए ।

‘कबड्डी’का दुई वटै सिक्वेलमा जमेका दयाहाङअभिनीत ‘झोले’ र ‘लोफर’ पनि सफल चलचित्र हुन् ।

० ० ०

दयाहाङ अहिले ‘पिक आवर’मा छन् । चलचित्र गर्न भ्याइनभ्याइ छ । उनले अहिले केही सोचेका छैनन् सिनेमाबाहेक । तर। त्यस्ता कैयौं कलाकार छन्, जो विदेश–पलायन भएका छन् र भइरहेका पनि छन् ।

यसको कारण के हो ?

तौलिएर मात्रै बोल्ने, थोरैमा धेरै कुरा भन्ने उनले भने, “शायद बाँच्ने जीवनशैली होला ।”
उनलाई गसिपका नाममा चरित्रहत्या गर्ने र जीवनभोगाइमा नै समस्या ल्याइदिने सिने–पत्रकारिता मन पर्दैन । फोटोको दुरुपयोग गरेर कथालाई बंग्याएर समाचार बेच्ने चलन पनि मन पर्दैन । वास्तविकतामा आधारित काम गर्नुपर्छ भन्ने उनको मान्यता छ ।

उनको आफ्नै विशेषता छ । क्यामेराअघि उनी अभिनय गर्दा अभिनय गरेजस्तो देखिंदैन । तर, स्क्रिनमा भव्य देखिन्छ । उनको यो कला भनौं या त उनलाई प्रकृतिले दिएको उपहार । जे होस्– यसले उनलाई सहयोग नै गरेको छ । रोजाइमा १ नम्बरमा उभ्याएको छ ।

साभारः बाह्रखरी अनलाइन