किन पर्छ पित्तमा पत्थरी ?


-डा.सुमन श्रेष्ठ

154193-kidney-stonesमानव शरीरको कलेजोले विभिन्न ४ सय प्रकारका काम गर्छ । त्यसमध्येको एक मुख्य काम पित्त उत्पादन गर्नु हो । पित्तले आन्द्रामा आएर खाना र त्यसमा रहेको चिल्लो पदार्थ पचाउन सहयोग गर्छ ।

मानिसले दिनभर खाना खाएर बस्दैन । शरीरलाई पित्त केवल खाना खाएपछि पचाउनका लागि मात्रै चाहिने हो । खाना नखाएको बेलामा पित्त जम्मा भएर गलब्लाडर(पित्तथैली)मा बस्छ । खाएपछि त्यही पित्त पाचनका क्रममा हाम्रो खानामा मिसिन्छ । खाली पेट रहेको बखत भने कलेजोमा बनेको पित्त पित्तथैलीमा मिसिन्छ । खानापछि पित्तथैली खुम्चिन्छ र त्यहाँ संकलित पित्त खानामा मिसिन्छ अनि पचाउने काम हुन्छ ।

पित्तथैलीले अनावश्यक समयमा कलेजोले उत्पादन गरेको पित्त संकलन गरेर राख्छ । तर कलेजोले नियमित रुपमा २४ सै घण्टा पित्त उत्पादन गरिरहेको हुन्छ र पित्तथैलीमा पठाउँछ । पित्त नभए खाना पच्दैन अनि पखाला लाग्छ । कहिलेकाही फिज मिसिएको पखाला आउँछ, त्यो बोसो नपचेको लक्षण हो ।

कलेजोले कुनै कारणले काम गरेन वा पित्त निस्कासन हुन पाएन भने खानामा पित्त मिसिदैन र पच्न सक्दैन । अनि, दिसा पातलो हुन्छ र नपचेको खाद्य पदार्थ बाहिरिन्छ । पित्त नभएको अवस्थामा दिसा पनि सेतो हुनसक्छ, किनकि पित्तले नै दिसाको रंगलाई पहेँलो बनाइदिन्छ । दिसा पातलो भए वा फिँज मिसिएमा सधैभरि पित्तकै समस्या भने नहुन सक्छ । यसमा हामी चनाखो हुनुपर्छ ।

नपचेर, पित्तभन्दा बढी खाना भएर वा आन्द्राले काम गर्न नसकेर वा अन्य इन्फेक्सनले पनि दिसा पातलो हुनसक्छ । दिसा पातलो हुने वा नपचेको दिसा हुने सबै समस्याको कारण पित्तसम्बन्धी रोग नहुन पनि सक्छ । कलेजोका कारण समस्या देखिए जिउ चिलाउने, आँखा पहेलो हुने आदि लक्षण देखिन सक्छन् ।

पित्तथैलीमा हुने रोग विभिन्न प्रकारका हुन्छन् । सबैभन्दा बढी देखिने समस्या पित्तथैली पाक्नु वा सुन्निनु हो । पत्थरी भएर वा नभएर पनि पित्तथैली पाक्नसक्छ । पत्थरी नभएमा इन्फेक्सन भएर पाकेको हुनसक्छ र त्यो फुटने खतरा पनि हुन्छ । अर्कोतर्फ पत्थरी हुँदा पनि इन्फेक्सन हुनसक्छ ।

हाम्रो आँखा, दाँत, नाक, कान लगायतका अंगमा विभिन्न कारणले इन्फेक्सन हुन्छ । मानिसको जिउका अन्य भागमा इन्फेक्सन भए झै पित्तथैलीमा पनि विभिन्न कारणले इन्फेक्सन हुन्छ । पित्तथैलीमा रगत या आन्द्राबाट इन्फेक्सन हुने सम्भावना रहन्छ । तुरुन्तै जचाँएर औषधि दिए, खानपिनमा ध्यान दिए निको हुनसक्छ । तर समयमा उपचार भएन भने पित्तथैली फुट्न सक्छ । जसले गर्दा ज्यानको खतरा हुन्छ । कतिपयमा  भने आफ्नै प्रतिरक्षा प्रणाली दह्रो भएका कारण निको भएर फर्कने सम्भावना रहन्छ । रोग लाग्दैमा सबैको मृत्यु नहुन सक्छ । कतिपयलाई कमले पनि इन्फेक्सन हुन र गाह्रो बनाउन सक्छ । कतिपयले अलि बढीलाई पनि पचाउन सक्छन् । पित्तथैलीमा एकपटक इन्फेक्सन भएर जुनसुकै उपायले निको भएपनि पत्थरी हुने सम्भावना रहन्छ ।

पित्त थैली फुटेमा त्यहाँ संकलन हुने पित्त सानो आन्द्रामा नगई अन्यत्र जान थाल्छ । बोसो पगाल्ने पित्त शरीरको आन्द्राबाहेक अन्यत्र गए त्यसले पेट पोल्ने लगायतका समस्या ल्याउँछ । जसलाई हामी पेरिटोनाईटिस भन्छौं । त्यहाँ पोल्यो, अनि जीउभरिबाट त्यहाँ पानी जम्मा हुन थाल्छ । पेट फुल्ने र आन्द्रा चल्न छाड्ने पनि हुनसक्छ । जसले हाम्रो ज्यान पनि जोखिममा पर्न सक्छ ।

लक्षणहरूबाट मानिसको पित्तमा संक्रमण भएको र फुुट्न सक्ने खतरा थाहा हुन्छ । जसमा पेटको दायाँ भाग पोल्ने, कमजोर हुने, बान्ता हुने र उठ्नै नसक्ने अवस्था देखिन्छ । फुट्यो भने मानिस ओछ्यानै पर्छ । कतिपय अवस्थामा तत्काल अपरेशन नगरे मृत्युसमेत हुन सक्छ ।

साभारः स्वास्थ खबर पत्रिका