भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल


  • चिनियाँ राष्ट्रपतिको भ्रमण तयारीका लागि रक्षामन्त्री भीम रावल चीन ‘जाने’

जेष्ठ ३०, २०७३- चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण केही महिनाभित्रै गराउने प्रयाससँगै सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि सन् २०१६ भित्रै भ्रमण गराउन पहल सुरु गरेको छ । सरकारले भारतीय राष्ट्रपतिको भ्रमणका लागि कूटनीतिक र राजनीतिक सम्पर्क लगातार अघि बढाएको छ ।

सरकारले चिनियाँ राष्ट्रपति सीलाई असोजको अन्त्यमा स्वागत गर्ने तयारी गरिरहेको छ । त्यसलगत्तै वा अघि हुने गरी भारतीय राष्ट्रपतिको नेपाल भ्रमण गराउने तयारी पनि थालिएको हो

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । नेपालको निमन्त्रणा प्रस्तावमा भारत सकारात्मक भए पनि मुखर्जीले कहिले भ्रमण गर्ने भन्ने यकिन भइसकेको छैन ।

भारतका कुनै पनि राष्ट्रपतिले १९ वर्षदेखि नेपाल भ्रमण गरेका छैनन् । नेपालका तर्फबाट लगातार भारतको भ्रमण हुने तर भारतको तर्फबाट विरलै हुने भन्दै नेपालले विभिन्न तहबाट भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका लागि आग्रह गरिरहेको जानकारी परराष्ट्र सम्बद्ध अधिकारीले दिए ।

‘सकेसम्म सन् २०१६ मा नै नेपाल भ्रमण गराउने गरी हामीले गृहकार्य अगाडि बढाइरहेका छौं तर मिति यकिन भइसकेको छैन,’ हाल भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री कमल थापाले कान्तिपुरसँग भने ।

परराष्ट्रमन्त्री थापाले पटकपटक चिनियाँ राष्ट्रपतिको भ्रमणको पनि पहल भइरहेको बताएका थिए । साउथ चाइना मर्निङ पोस्टले पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुने संकेत गरेको छ । नयाँ दिल्लीमा असोज २९ र ३० मा हुने व्रिक सम्मेलनमा भाग लिन जानुअघि वा भाग लिएर फर्कने क्रममा उनको नेपाल भ्रमण हुने सम्भावना रहेको जनाइएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमण तयारीका लागि रक्षामन्त्री भीम रावल चीन जान सक्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् । रावल अहिले अमेरिका भ्रमणमा छन् ।

नेपालका प्रायजसो सबै प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत हुने गरेको भए पनि सत्र वर्षपछाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वर्षअगाडि नेपालको भ्रमण गरेका थिए ।

नेपाली अधिकारीहरूका अनुसार भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका लागि लामो समयदेखि गम्भीर रूपमा पहल भइरहेको छ र यसले छिटै नयाँ निष्कर्ष दिनेछ ।

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको भ्रमण गरेपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुने सम्भावना छ । राष्ट्रपतिको भ्रमण अकस्मात् रद्द भएपछि असन्तुष्ट भएको भारतले पहिला नेपालका राष्ट्रपतिको भारत भ्रमणको अपेक्षा गरेको छ । भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले आफू राजदूत रहँदा समेत भारतीय राष्ट्र्रपतिको भ्रमणका लागि निरन्तर पहल गरिरहेको जानकारी दिए । उनले भने, ‘भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको विषयमा नेपालले निरन्तर रूपमा राख्दै आएको छ,’ उनले भने ।

भारतीय राष्ट्रपति मुखर्जीको ५ वर्षे कार्यकाल आगामी वर्ष सकिँदै छ । मुखर्जीले सन् २०१२ मा १३औं भारतीय राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेका थिए । पछिल्लो पटक भारतीय राष्ट्रपति केआर नारायणनले सन् १९९७ मा नेपालको भ्रमण गरेका थिए । सो भ्रमणको वातावरण नेपालका लागि तत्कालीन भारतीय राजदूत भेषबहादुर थापाले मिलाएका थिए ।

थापाका अनुसार उनले राजदूतको ओहदाको प्रमाणपत्र पेस गर्दा नै केआर नारायणनले आफूले पहिलो भ्रमण नेपाल गर्ने बताएका थिए । ‘तर पछि एउटा महत्त्वपूर्ण भ्रमणका लागि युरोप जानुपर्ने भएकाले उनले नेपालमा दोस्रो भ्रमण गरेका हुन्,’ थापाले कान्तिपुरसँग भने । नाकाबन्दी तथा अन्य कारणले दुई देशबीचको सम्बन्धमा चिसोपन आएको समयमा भ्रमणको पहल भइरहेको छ ।

साभारः कान्तिपूर अनलाइन