कोरियाको सेउल टावर, सहरको भव्यता हेर्नेहरूका लागि हो । मजस्ता रात्रिकालीन सौन्दर्य सोखिन र प्रेमीहरुका लागि हो ।
प्रेमका लागि यो एक पवित्र ठाउँ हो, जहाँ प्रेमी–प्रेमिकाको नाममा लाखौं चाँबी ‘लक’ भएका छन् ।
आफ्नो प्रेमीलाई ताल्चा लगाएर सुरक्षित राख्ने चलन मलाई गज्जब लाग्छ ।
यहाँ आइपुग्नेहरुको आँखा प्रेममा डुब्छ । मुटु प्रेममा ढुकढुकिन्छ । यहाँबाट देखिने कोरियाको राजधानी सउलको भव्य रूप प्रेमको सागरमा तैरिरहेको हीराजस्तो लाग्छ ।
लाग्छ– प्रत्येक उज्यालो प्रेमको हो । प्रत्येक रंग प्रेमको हो । यहाँबाट बग्ने विशाल हान नदी प्रेमको नसामा बग्छ ।
० ० ०
म रात्रीकालीन सहरको सौन्दर्य पारखी हुँ । दिउँसो सुतेर राति सहर घुम्छु । अलिक अकडो टाइपको छु । त्यसैले साथीहरु हुँदैनन् । एक्लै घुम्छु । यहाँ पनि एक्लै आइपुगेको छु । प्रायः फोटो खिच्दनँ । मेरो अनुहार आफैंले मात्र सुन्दर देखिने ऐनाजेनिक हो, फोटोजेनिक हैन । तर, यी लाखौं प्रेमीहरुको नामलाई साक्षी राखेर फोटो नखिची के फर्कनू ! लाखौं प्रेमीहरु कैद भएको ठाउँमा म पनि क्यामरामा कैद हुन चाहन्छु । म पनि त कुनै बेला धुमधामको प्रेमी थें ।
यताउता हेर्छु । देख्छु– दुनियाँसँग बेमत्लबी प्रेमीहरु । जो आफ्नो एक–एक वटा मुटु निकालेर दुई हैन, एक बनाउने ध्याउन्नमा छन् । दुई आँखामा दुई आँखा जोडेर आउने योगफल चार हैन, एक हो भन्ने अन्तिम पुष्टिमा छन् ।
यहाँ ममात्र एक्लो छु । अरु सबै जोडी छन् । कसैले एक्लो देखेर ‘तिम्रो प्रेमिका खै ?’ भनेर सोध्लान् कि भन्ने डर छ ।
यी सुन्दर प्रेमीहरूलाई बिथोलेर कसरी फोटो खिचिदेऊ भनूँ !
सेल्फी खिच्न सक्छु । तर, मोबाइलमा ब्याट्री चार पर्सेन्ट छ । मोबाइलको क्यमेरै अन भएन ।
एक कुनामा अफ्रिकन छाला भएको ठिटो र कोरियन सुन्दरी चराले बचेरालाई चारो ख्वाउन चुच्चो जोडेझैं आफ्ना दुई ओठ जोडेर प्रेमको समाधिमा लीन छन् ।
समाधिबाट ब्युँझेपछि पछि यसैलाई फोटो खिचिदे भनौं कि !
तर, प्रेमको समाधिमा लीन योगी कतिखेर पो ब्युँझेला !
छातीमा झुन्ड्याएको क्यामराको लेन्स आफूतिर फर्काएँ । फ्ल्याससहित आफ्नो अनुहारमा झिलिक्क पारें । एक पल्ट ! दुई पल्ट ! तीन पल्ट ! तर फोटो भनेजस्तो आएन ।
म यी प्रेमीहरु कैद गर्ने चाँबीलाई क्यानभासमा राख्न चाहन्छु ।
मेरो क्यामराको फ्ल्यासका कारण प्रेमको समाधिमा लीन योगी ब्युँझियो । आँखा अलि ठूलो पा¥यो । मतिर हेर्यो ।
मेरो दिमागले हैन, दिलले माफी माग्यो ‘सरी !’
त्यो प्रेमी योगीको आँखाबाट उल्टो फर्कें । छालामा भर्भराउँदो कोइलाले पोलेझैं मन पोल्यो । मैले पाप गरें । यसरी फोटो खिच्न हुँदैनथ्यो । मेरो कारण गहिरो
समाधिमा डुबेको प्रेमी ब्युँझियो ।
पछाडिबाट उसैले बोलायो, “हाम्रो एउटा फोटा खिचिदिन सक्छौ ?”
“मेरो क्यामराले ?” मैले एकदम सभ्य पारामा मुस्कुराउँदै सोधें ।
“हैन मेरोले !”
उसले केटीको हातबाट क्यामरा तानेर मलाई दियो । फेरि उनीहरु प्रेमको समाधिमा लीन भए । फेरि ओठ जोडे । आँखा बन्द गरे । समाधिको अन्तिम आनन्दमा पुगे । फोटो खिच्नुअघि मेरो खुट्टाको कान्छी औंलाको नङको टुप्पोदेखि टुप्पीको अन्तिम टुप्पीसम्म सिरिङ्ग भयो । तन्तु र कोषसम्म चिलायो ।
उनीहरुको फोटो खिचिदिएबापत मैले पनि अफ्रिकन छाला भएको केटोलाई आफ्नो फोटो खिच्न लगाएँ ।
दुवैले एक–अर्कालाइ धन्यवाद भन्यौं ।
मैले थुप्रै चाँबीहरूको फोटो खिचें, जसमा अनेकौं प्रेमीहरूका रंगीबिरंगी नाम छन् ।
अफ्रिकन छाला भएको केटो र कोरियन सुन्दरीबीचको फरक– ढुंगा र हीराजस्तो, फलाम र सुनजस्तो देखिन्छ ।
तर प्रेम ? ढुंगा–ढुंगाबीच भएजस्तो । हीरा–हीराबीच भएजस्तो । फलाम–फलाम र सुन–सुनबीच भएजस्तो ।
प्रेम दिमागले हैन– दिलले, आँखाले हैन, मनले गरिने पवित्र चिज हो ।
कोरियनहरु कालो छालालाई एलिटको छाला भन्छन् । मेरै छालालाई पनि एलिटको छाला मान्छन् ।
मभन्दा त्यो अफ्रिकन छाला हजार गुणा कालो छ । अर्थात ऊ निख्खर कालो ।
भाग्यमानी रहेछ ।
त्यो सुन्दरीले त्यसलाई भेट्नुअघि मलाई भेटेकी भए बा मलाई पो मनपराउँथी कि !
मेरो घाँटीबाट थुक घुटुक्क ओरालो झर्यो ।
सम्झन्छु ! पन्द्र दिनअघि सँगै काम गर्ने ५० वर्षीय कोरियन आमै र म खाना खान एउटा रेस्टुराँ छिर्छौं । हाम्रो भेट हिन्दी बोल्न जान्ने एक श्रीलंकन केटोसँग हुन्छ, जो यसकै हाराहारीमा कालो थियो । अर्थात् ऊ पनि निख्खर कालो !
मेरो चुच्चो नाक । ठूला आँखा र कालो छाला देखेपछि उसलाई आफ्नैजस्तो लागेछ क्यार– सोध्यो, “कुन देशबाट आएका हौं ?”
सोध्नचाहिँ आफ्नो भाषाबाट नसोधी कोरियन भाषा प्रयोग गर्यो ।
“नेपाल !”
“हिन्दी आउँछ ?”
“अलि अलि आउँछ ।”
हामीले कोरियन भाषा छाडेर हिन्दीमा कुरा गर्न थाल्यौं ।
झन्डै १० मिनेट कुरा भयो ।
हाम्रो कुरा सुनेर कोरियन आमैको अनुहारमा अचम्मको भाव उठिरहेको थियो । आँखा कुनै अनौठो चिजमा फसेजस्तो देखिन्थ्यो ।
आमैले मन थाम्न सकिनन् । मेरो काननेर आफ्नो मुख ल्याइन् र भनिन्, “यो तेरो
साथी हो ?”
“हैन !”
“कुन देशको हो ?” फेरि सोधिन् ।
“श्रीलंकन,” मैले भनें ।
“यसको बिहे भयो कि नाइ ? सोधि दे न !”
बाहिर निस्केपछि खुब अनौठो तरिकाले भनिन, “विचरा यसलाई कुन केटीले मनपराउली ! यति धेरै कालो छ । यसको बिहे होला त ?”
मैले ती कोरियन आमैलाइ देखाउनकै लागि पनि यो जोडीको फोटो खिच्नें भएँ ।
तर कसरी ?
के भनेर खिचौं ?
क्यामरामा जुम लेन्स झोडें । लुकेर थुप्रै फोटो खिचें । घरि उनीहरु छायामा जान्थे घरि उज्यालोमा । उनीहरूलाई झन्डै एक घण्टा पछ्याइरहें ।
चाँबी बेच्ने पसल छिरें । एउटा ठूलो चाँबी किनें । र, नेपालीमा लेखें, “त्यो अफ्रिकन छाला भएको केटो र कोरियन सुन्दरीको नाममा !”
अनि उनीहरु उभिएकै छेउमा लगेर झुन्ड्याइदिएँ ।
यो जोडीलाई देखेदेखि मेरो मुटुमा एक श्रद्धा, एक विश्वास र एक ईश्र्याको भाव ककटेल बनेर जमेको छ ।
० ० ०
यिनीहरुको पिछा छाडेर टावरको टुप्पोतिर जान लिफ्ट चड्न हिँडें, जहाँबाट रात्रिकालीन दृश्य शानदार देखिन्छ । रंगीन प्रकाशको सावरमा कामुक मुडमा नुहाइरहे जस्तो देखिन्छ सहर । टावरको फेदतिर जमिनमै भास्सिरहे जस्ता देखिन्छन् मान्छे ।
सहरको बीचमा उभिएको यो अग्लो पहाड काठमाडौंको स्वयम्भूजस्तै हो । यहाँ बनेको अग्लो टावर हाम्रो भूतपूर्व धरहराजस्तै हो । प्रेमीहरूका लागि यहाँको विश्वास धरानको बुढासुब्बाजस्तै हो । फरक– बुढासुब्बामा प्रेमीको नाम बाँसमा लेख्ने चलन छ, यहाँचाहिँ चाँबीमा नाम लेखेर लक गरिन्छ ।
टावरका मसिना झ्यालहरूबाट रंगीन प्रकाशमा पौडिरहेको सहरको फोटो खुब खिचें ।
टावरको टुप्पोमा फन्को लाउँदै थिएँ । एक कुनामा पोस्ट अफिस भेटियो, जसको नोटिसबोर्डमा लेखिएको छ, “सउलको सबैभन्दा अग्लो पोस्ट अफिसबाट आफूले सबैभन्दा धेरै प्रेम गर्ने मान्छेलाई अग्लो प्रेम र सम्झना पठाउनुहोस् !”
पोस्ट अफिसको टेबलमा राखिएको एउटा पोस्टकार्ड हातमा उठाएँ । स्कुले उमेरमा यस्तो पोस्टकार्डमा खुब लेखियो । नयाँ वर्षमा यस्तै पोस्टकार्डहरूमा शुभकामना लेखेर दिने चलन थियो । तर, अहिले कसलाई के लेख्नू ?
प्रेमिका !
छैन ।
तर, उठाई त हालें । उठाएकाहरू कसैले फिर्ता गरेका छैनन् । केही न केही लेखेर पोस्ट बक्समा खसालेका छन् ।
कसैले देखेर तिम्रो प्रेमिका छैन ? भनेर सोध्यो भने ?
दुनियाँलाई छैन भन्ने उत्तर किन दिनू ?
लेखें !
डियर अनुस्का !
म तिमीलाई प्रेम गर्न जन्मिएको हुँ । प्रेम गरिरहन्छु । मेरो काम प्रेम गर्नु हो । संसारका प्रत्येक सुन्दर कुरा देख्दा तिमीलाई सम्झन्छु । ती सुन्दर कुरा तिमीभन्दा सुन्दर छैनन् । म अहिले कोरियाको सउल टावरमा छु । यो टावर तिमीभन्दा सुन्दर छैन । यहाँको रंग तिमीभन्दा राम्रो छैन । मैले देखेको प्रत्येक दृश्य तिमीभन्दा कमजोर छन् । यो टावर तिमीभन्दा होचो छ ।
तिमीलाई धोका दिने प्रेमी
सायन !
ठेगाना लेख्ने ठाउँमा ठूलो ‘एक्स’ लेखें र पोस्टबक्समा खसालें ।
त्यसबेला पूर्णकालीन बेरोजगार थिएँ । जीवन विद्यार्थी थियो । बिहान कोठाबाट निस्केर दैनिक पत्रिकामा जागिरको विज्ञापन पढ्नेबाहेक अरु काम केही थिएन । भोक र खाजाबीचमा दुश्मनी थियो ।
पैसा खर्च हुने कुनै काम गर्ने हिम्मत थिएन । जस्तोः चिया खाने । अनावश्यक कपडा मैलो बनाएर साबुन किन्ने । तरकारीको बोक्रा तासेर धेरै फाल्ने । धेरैबेर दाल पकाएर ग्यास नास पार्ने आदि ।
मेरो यही गरिबीको बीचमा उनको बिहे हुने भयो ।
उनको बिहे हुनु दुई दिनअघि उनैले प्रस्ताव गरिन्, “हामी भागेर कतै जाऊँ । बिहे गरौं ।”
“भागेर कहाँ जाने ? भोलिदेखि कसरी बाँच्ने ? जागिर छैन ! पैसा छैन ! दुई वर्ष पर्खेऊ । पढाइ सकिन्छ, जागिर खाउँला । त्यसपछि बिहे गरौंला !” मैले भनें ।
मेरा गालामा आफ्ना ओठका दुई डाम खोपिन् र भनिन्, “अब म फर्केर घर जान्नँ । भोकै बसै पनि, अघाए पनि तिमीसँगै बस्छु ।”
त्यसपछि हामी हैन, म एक्लै भागें । कुनै अपराधी भागेझैं । चोर भागेझैं । युद्धबाट कुनै कायर सैनिक भागेझैं ।
त्यस रात जीवनकै सबैभन्दा धेरै थाकें ।
उनको बिहे भएको ६ महिनापछि मेरो ठेगानामा एउटा चिठ्ठी आयो, जुन बेला मैले जागिर खान थालेको थें र पहिलो महिनाको तलब थापेर झ्यालमा पर्दा हालेको थें । नयाँ आइरन किनेको थें र पहिलो पल्ट सर्ट पाइन्टमा खुकुरीको धारजस्तो क्रिच बसालेर लगाएको थें । किराना पसलको उधारो तिरेको थें । भोलिपल्ट तिर्नुपर्ने घरभाडा अघिल्लो दिन साँझमै बुझाएको थें ।
चिठ्ठी चार लाइनको थ्यो, जुन मेरो वालेटको कुनामा अझै च्याप्पिरहेको छ ।
“म एकदम खुस छु । तिमी खुस रहनू ।”
तिमी एक डरपोक कायर पुरुष हौ । तिमी प्रगति गर्ने सपना नदेखी मर्छाै । मलाई थाहा छ । तिमीसँग प्रेम गर्ने मुटु छैन ।
तिमीले त्यस दिन मलाई छाडेर भागेकोमा म आफूलाई भाग्यमानी सम्झन्छु ।”
अनुस्का !
यो चिठ्ठी जुन दिन आयो, त्यो दिन चिठ्ठी नआएर उनी स्वयं आएको भए मेरो जिन्दगी ‘यू टर्न’मा जान्थ्यो कि !
० ० ०
टावरको टुप्पोबाट फेदमा झर्छु । फेरि एउटा चाँबी किन्छु । फेरि लेख्छु, “प्रिय अनुस्का ! म तिमीलाई सधैं प्रेम गर्छु !”
अघि त्यो अफ्रिकन छाला भएको केटो र कोरियन सुन्दरीको नाममा जहाँ चाँबी झुन्ड्याएको थें, त्यहीँनेर जोड्याएर अनुस्काको नामको चाँबी झुन्ड्याएँ ।
अहिले चाँबी झुन्ड्याउनुको अर्थ छैन । तर, म अझै पनि त प्रेम गर्छु !
रातको १२ बजेको छ । मान्छेहरूले घर सम्झे कि ! कुनै जिन्दगीको हतार ! मबाहेक अरु फाट्टफुट्टमात्र छन् ।
मलाई कुनै हतार छैन ।
अघि पहाडको फेदबाट टावरको फेदसम्म केबलकार चढेर आएको थें । अहिले मलाई हिँडेरै पहाडको फेदसम्म जाने जाँगर छ ।
बाटोमा ल्याम्पपोस्ट छ । छाया छ । पहाडको फेदतिर सहर छ ।
सोच्छु– यो ल्याम्पपोस्ट, छाया र सहरमध्ये म कुन हुँ ? अनुष्का कुन हो ? हाम्रो प्रेम कुन थियो ?
यो त अब्सट्र्याक्ट हो । हामी कुनै हैनौं । र, हामी प्रत्येक हौं । जस्तोः हाम्रो प्रेम उज्यालो थियो– त्यो ल्यामपोस्ट हो । हामी छुट्यौं, छाया भयौं । हामी हरायौं, सहर भयौं ।
हैन । योभन्दा पनि अरु अर्थहरू छन् । यो अमूर्त हो ।
पहाडको टुप्पोबाट फेदसम्म सिँढी छ । मेरो जुत्ताको आवाज र मबाहेक यहाँ अरु कोही छैनन् । पूरै सुनसान मेरो प्रेमजस्तै । मजस्तै ।
निकै तल साकुराको फेदमा एक जोडी देखिए । ल्याम्पपोस्टको उज्यालोमा छाया र सहरलाई क्यानभासमा पारेर त्यो जोडीको पछाडिबाट फोटो खिचें ।
अनुस्का र म यस्तै ल्याम्पपोस्टको उज्यालोमा गुल्मोहरको फेदमुनि बसेको सम्झें । ठीक हाम्रै पोजिसनमा बसेका छन् ।
नजिकै पुगें । थाहा भयो– त्यही अफ्रिकन छालावाला जोडी रहेछ ।
उनीहरू उठे र अगाडि लागे । सिँढी ओर्लिंदा पनि दुवैको अँगालो छुटेको छैन । केही खुड्किला ओर्लेपछि केटाले केटीलाई सानो बालकझैं पिठ्युँमा बोक्यो । मैले पछाडिबाट फोटो खिचें ।
भोलि कोरियन आमैलाई लगेर देखाउँछु, जो कालो छाला देखेर तर्सन्छे । कालो छाला हुनेहरूको बिहे हुन्छ कि हुँदैन भनेर सोध्छे । चिन्ता गर्छे ।
“प्रेममा छालाको कुनै असर हुँदैन । असर मनको हुन्छ । यी हेर यहाँ कोरियन सुन्दरी, जो तिम्रै छोरीजस्तै छे, जसले यो अफ्रिकन छाला भएको काले केटोलाई औधी प्रेम गर्छे ।”
पहाडको फेदनेर आइपुग्नै लाग्दा ब्याट्री सकिनै लागेको मेरो मोबाइल बज्छ ।
मेरा साथीहरु अनेक मुड र पाराका छन् । एउटा साथी सुवनको चर्चित रेडलाइटमा पुगेछ । रक्सी खाएको बेला नेपाली बोल्दैन । कि अंग्रेजी, कि हिन्दी । अचेल कोरियन पनि बोल्छ ।
हिन्दीमा सोध्यो, “कहाँ छस् ?”
मैले पनि हिन्दीमै भनें, “सउल टावरबाट उत्रेर मेट्रो स्टेसनतिर जाँदैछु ।”
अफ्रिकन छाला भएको केटोले मतिर टाउको बटा¥यो र अलिकति उभियो । पिठ्युँबाट प्रेमिकालाई भुइँमा राख्यो ।
मैले कानबाट फोन झिकें । यतिखेर हामी समानान्तर रेखामा पाइला चालिरहेका छौं ।
उसले सोध्यो, “तुम हिन्डियन है क्या ?”
“मे नेपाली हुँ …”
उसले अघि फोटो खिचिदिने मैं हुँ भन्ने चिनेन । चिन्न जरुरी पनि थिएन । तर, हामीे दुई मिनेट जति समानन्तर रेखामा हिँड्यौं ।
उसकी प्रेमिका मौन भई ।
हामी दुईले हिन्दीमा कोरियामा के काम गर्छाै ? भनेर एक–अर्कालाई सौध्यौं ।
मेट्रो स्टेसन आउन लागेपछि उनीहरू होटलभित्र छिर्न लाग्दै थिए । मैले भनें, “तिम्री प्रेमिका खुब राम्री छे । तिमी पनि सुन्दर छौ । बधाई छ !”
थपें, “कहिले बिहे गर्छाै ? इन्डिया फर्केर कि यहीँ ?”
ल्याम्पपोस्टको उज्यालोमा उसका दाँत टुथपेस्टको विज्ञापनमा झैं चम्किए ।
“आम् अलरेडी म्यारिड । ये लडकीसे मे मोज कररहा हुँ !” सानले भन्यो ।
ऊ होटलभित्र छिर्यो । मैले क्यामराबाट उसको फोटो डिलिट गरें ।
र, अघि यी दुईको नाममा चाँबी लक गरेकोमा पछुताएँ ।
० ० ०
डियर अनुस्का !
शायद केटाहरु सबै धोकेबाज हुन्छन् । हैन हैन ! कोही–कोही मात्र ।
कोही–कोहीमध्ये यो अफ्रिकन छाला भएको साउथ इन्डियन र मचाहिँ साँच्चै धोकेबाज हौं ।
दुइ नोट
(१) सउल टावर (३३६.७ मि.) कोरियाको राजधानी सउलको नामसान माउन्टेनको टुप्पोमा अवस्थित छ । १९६९ टेलिभिजन र रेडियो ब्रोकास्टका लागि ट्रान्समिसन टावरको रूपमा निर्माण गरिएको हो । १९८५ अक्टोबर १५ देखि सर्वसाधरणका लागि खुला गरिएपछि चर्चित पर्यटकीय स्थल बनेको छ ।)
(२) अनुमतिबिना कसैको फोटो खिच्नु गैरकानुनी हो ।
साभारः बाह्रखरी अनलाइन
Prawash Kumar Shakya । ३० जेष्ठ २०७३, आईतवार १५:३३ बजे