९ मंसीर, सुर्खेत । सल्यानको दानवाङमा पहिलो पटक विद्युत विस्तार भएको छ ।
संघीय सरकारबाट विनियोजित १ करोड ५८ लाख रुपैयाँको बजेट अन्तर्गत कपुरकोट गाउँपालिका वडा नम्बर २ दानवाङमा विजुली बत्ती बलेको हो ।
आज सोमबार पूर्व सामान्य प्रशासन मन्त्री तथा प्रतिनिधीसभा सांसद टेक बहादुर वस्नेतले विद्युत लाई प्रसार तथा वितरण कार्यक्रमको उद्घाटन गर्नुभएको छ । उहाँले जिल्लाभर सम्पूर्ण वस्तीमा विद्युत पुर्याउने कार्यलाई तिब्रताका साथ अगाडी बढाइएको बताउनुभयो ।
गाउँमा आएको विद्युतलाई उपयोग गरेर आर्थिक उपार्जनमा लाग्नुपर्ने बताउँदै उहाँले स्थानीय सरकारको पुँजीले नभ्याउने योजनाहरुलाई संघीय सरकारले महत्वका साथ कार्यान्वयन गर्ने जनाउँदै स्थानीय सरकारलाई बलियो बनाउन सकिएमा मात्रै समृद्धि हाँसिल गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले पालिकाभित्रका सबै वस्तीमा विद्युत विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै स्थानीय सरकारले खानेपानी, सडक, स्वास्थ्य, शिक्षा, कला संस्कृतीको क्षेत्रमा पनि लगानी गरिरहेको जानकारी दिनुभयो ।
पहिलो पटक गाउँमा विद्युत विस्तार भएको खुसियालीमा स्थानीयहरुले सोरठी र लहरे नाच प्रस्तुत गरेका थिए ।



Milan Shrestha । ९ मंसिर २०७६, सोमबार १६:०७ बजे