खानेपानी तथा सरसफाइमा फड्को मार्दै पलाँता


असोज १६, कालीकोट ।
जिल्लाका ९ वटा स्थानीय तह मध्य सबैभन्दा प्रभावकारी रुपमा विकासका काम गर्न सफल भएको मानिने पलाँता गाउँपालिकाले खानेपानी तथा सरसफाइमा पनि ठुलो फड्को मार्न थालेको छ । स्थानीय तह निर्वाचन परिणाम पश्चात् जिल्लाका सबै स्थानीय तह मध्य खानेपानी तथा सरसफाइमा बढी बजेट व्यवस्थापन गर्दै सोचे अनुसार योजना निर्माणमा पलाँताले फड्को मार्न थालेको हो । कर्णाली प्रदेशमै स्थानीय तह मार्फत २४ किलोमिटर दुरीको सबैभन्दा ठुलो खानेपानी योजना पलाँताले सम्पन्न गर्न थालेको सो पालिकामा उपभोक्ता हक हितका लागि अावाज उठाउदै गरेको संगठन खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ कालिकोटका अध्यक्ष चित्रसिंह गाउँलेले वताउनुभयो।
२४ किलोमिटर दुरीको थला तल्सेरी खानेपानी अायोजनामा कर्णाली रोजगार कार्यक्रम मार्फत ४५ सय मिटर र पलाँता विकास निर्माण कार्यदल मार्फत ६५ सय मिटर पाइपलाइनको कार्य सम्पन्न भैसकेको छ।विकासका लागि चर्चामा रहेको कार्यदलले ३ महिनामै करिब ७ किलोमिटर पाइपलाइनको काम गरे अनुसार अबको साढे छ महिनामा २४ किलोमिटर दुरीको योजनामा सबै कार्य सम्पन्न गर्ने गाउँपालिकाको लक्ष्य रहेको वताइएको छ।निर्वाचन भएको ३ वर्षभित्र २७ सय घरधुरीमा व्यवस्थित र गुणस्तरीय पानीको पहुँच पुर्याउने अठोट अनुसार वेर्सनकोटदेखि नाइवाडा खानेपानी योजनापनि यो वर्ष सम्पन्न हुने पालिका अध्यक्ष लक्ष्मण वमको दावी छ ।
विगतमा कालिकोट जिल्ला विकास समितिले सुख्खा क्षेत्र घोषणा गर्ने र योजनाका लागि विभिन्न निकायबाट सामान्य रुपमा बजेट व्यवस्था गरिएपनि उपलब्धि नदेखिएको पलाँतामा स्थानीय तह निर्वाचन पश्चात् ठुलो प्रगतिको अनुभुती हुन थालेको स्थानीयवासीहरु वताउछन । पलाँता गाउँपालिकाले युवा रोजगार कार्यक्रम मार्फत करिब ३ करोड बजेट खानेपानी तथा सरसफाइमा केन्द्रित गरेर पानीको अभावमा संकट झेल्दै गरेका पलाँतावासीमा राहतको अनुभुती गराउने उपाध्यक्ष दाना न्यौपानेले वताइन । पलाँतामा खानेपानी तथा सरसफाइमा योजना निर्माण मात्रै नभएर योजनाको गुणस्तरीयता को सन्दर्भमा वाटर एड नेपालको सहयोगमा किर्डाक, फेडवासन, गैसस महासंघ लगाएतका निकायबाट समेत विशेष कार्यक्रम सञ्चालनमा रहेको किर्डाक नेपालका परियोजना अधिकृत धनबहादुर केसीले वताए । यसैबीच पलाँतामा खानेपानी तथा सरसफाइका साथै समग्र विकास मार्फत दिगो विकासका लागि साझेदार महत्त्वपूर्ण संस्थाहरुले गाउँपालिका लाई दिगो विकास लक्ष्य सम्बन्धि अभिमुखिकरण सहित दिगो विकास लक्ष्यको फ्ल्याक्स ब्यानर हस्तान्तरण गरेका छन् । गैसस महासंघका केन्द्रीय कोषाध्यक्ष जितराम लामा,वाटर एड नेपालका वरिष्ठ नीति तथा पैरवी अधिकृत गोविन्द श्रेष्ठ, गैसस महासंघ कर्णाली प्रदेश इन्चार्ज डिल्लुप्रसाद घिमिरे, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ कालिकोटका अध्यक्ष चित्रसिंह गाउँलेको उपस्थितिमा दिगो विकास लक्ष्य हस्तान्तरण भएको हो ।
पलाँतामा अब खानेपानीको चरम संकट झेलिरहेका राडुनेटा, घोचायाबाडा, नाइबाडा, वेर्सनकोट लगाएत खानेपानी समस्या झेलिरहेका सबै वस्तिले खानेपानी सुविधा पाउने निश्चित भएको छ। यसैगरी विधुत, स्वास्थ्य, शिक्षाको साथै सडक पुर्वाधार निर्माणमा समेत पलाँताले फड्को मारेको स्थानीय समाजसेवी पार्वती वमले वताइन।