
१५ कार्तिक, सुर्खेत । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको बुद्धपथमा निर्माणाधिन रहेको “बुद्ध सरोवर” सहयोगार्थ कार्तिक ९ गतेबाट संचालित कृषि तथा साँस्कृति पर्यटन व्यापार महोत्व २०७५ आज (विहिवार) सम्पन्न भएको छ ।
कार्तिक ९ गतेबाट १९ गते (११ दिन) सम्म संचालन गरिने भनिएको महोत्सव विविध कारणले गर्दा १५ गते समापन गरिएको हो । उद्योग बाणिज्य संघ सुर्खेतको फेन्सी बस्तुगत समितिले विरोध जनाएपछि मेलाको समय घटाइएको महोत्सव सचिवालयका सदस्य सचिव अशोक राजीले बताउनुभयो ।
महोत्सवलाई समापन गर्दै नेपाल आदिवासी जनजाती महासंघ कर्णाली प्रदेश संयोजक वीरबहादुर रावत भोटेले आदिवासी जनजातीहरुले शान्तिका महानायक बुद्धको प्रतिमा सहितको बुद्ध सरोवर निर्माणकालागि संचालन गरेको महोत्सवमा विरोध जनाउनु गलत भएको बताउनुभयो ।
महोत्सव समापनको अन्तिम दिनमा प्रहरी प्रशासनबाट भएको व्यहारको निन्दा गर्दै उहाँले आगामी दिनमा यस्को बारेमा सोधीखोजी गरिने बताउनुभयो ।
त्यसैगरि महोत्सवलाई समापन गर्दै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद सुर्खेतका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक पञ्चसिंह रोकाय खाम्पाले महोत्सव संचालन हुनै नदिन विभिन्न तत्वहरु लागि परेको बताउनुभयो ।
महोत्सव संचालन अवधीभर विभिन्न बाधाहरु आएतापनि आफुहरुले शान्तिका महानायक बुद्धको प्रतिमा सहितको बुद्ध सरोवर निर्माण गर्नलागेकोले शान्त र संयम रहेर ६ दिन सम्म महोत्सव संचालन गरेको बताउनुभयो ।
समापन कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद सुर्खेतका उपाध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका सहसंयोजक जीवनकुमार शाक्यले स्वागत गर्नुभएको थियो ।
समापन समारोहमा महोत्सवलाई सफल बनाउनकालागि सहयोग पुर्याउने विभिन्न जातिय संस्था कलाकार कार्यक्रम संचालक लगाएतलाई खादा ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको थियो ।



Milan Shrestha । १५ कार्तिक २०७५, बिहीबार १९:२५ बजे