शिक्षक आन्दोलित भएपछि पनठनपाठन प्रभावित


रमेश कुमार वली
सल्यान १३, मंसिर । जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षकहरु आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत ५ महिना देखि तलव उपलव्ध नगराएको भन्दै नगरपालिका भित्रका शिक्षकहरु आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो ।

नगरपालिकाका प्रमुख र उपप्रमुखवीच भएको विवादका कारण हालसम्म नगर परिषद हुन नसकेपछि शिक्षक लगायत नगरपालिका भित्रका कर्मचारीहरुले गत साउन देखि तलव पाउन सकेका छैनन् । आफुहरुले पटक पटक नगरपालिकामा आफनो समस्या राखेपछि सुनुवाई नभएपछि पेनडाउन गरेर आन्दोलन गर्न वाध्य भएको शिक्षहरुले वताएका छन् ।

उधारोमा धेरै काम गर्न नसकिने भन्दै तलव सुविधा नपाए सम्म आन्दोलन नरोकिने शिक्षक महासंघ सल्यानका सचिव सुरेशसिंह राठौरले जानकारी दिनुभयो । “तलव नखाएर काम गर्न लागेको पाँच महिना वितिसक्यो नगरपालिका भित्रका शिक्षकले तलव खान पाएका छ्रैनन् , उधारोमा काम कहिले सम्म गर्ने ?” सचिव राठौरले भन्नुभयो ।

लामो समय सम्म पनि तलव नपाएपछि घरखर्च समेत चलाउन गाह्रो हुनथालेको सरस्वती आधारभुत विद्यालय सल्लीवजारका शिक्षक सुरेन्द्र खड्काले जानकारी दिनुभयो । “हामी हाम्रा विद्यार्थीको भविष्यप्रति चिन्तित छौ पटक पटक नगरपालिकामा आफनो समस्या राख्यौ सुनुवाई भएन विकल्प नभएपछि विद्यालय वन्द गरेका हौं । ” शिक्षक खड्काले भन्नुभयो ।

समयमै नगरपरिषद नहुदा शिक्षक सहित नगरपालिका भित्रका सरकारी कर्मचारीहरुले तलव खान पाएका छैनन भने विकास निर्माणका कार्यहरु समेत ठप्प रहेका छन् । कार्यपालिाकको वैठक पटक पटक वसेपनि सहमति हुन सकेको छैन ।
नगरपालिका भित्र गत आर्थिक वर्षमा नगरपालिकाभित्र सम्पन्न भएका क्रियाकलापहरुको समिक्षा गर्नुपर्ने माग राख्दै उप प्रमुख सहित वहुमत कार्यपालिका सदस्यहरु प्रमुखको विपक्षमा उभिएपछि परिषद हुन सकेको छैन ।

कर्मचारी तथा शिक्षकहरुलाई तलव सुविधा तत्काल उपलव्ध गराउने पक्षमा आफुहरु रहेको वनगाड कुपिण्डे नगरपालिकाका उप प्रमुख मञ्जु यरीले वताउनुभयो । “हामी पनि नगरपालिका भित्रका सवै कर्मचारीहरुको पक्षमा नै छौ हामीले कार्यपालिाकको वैठकमा गत आर्थिक वर्षमा सम्पन्न गरिएका क्रियाकलापहरुको समिक्षा गरौ भनेका छौ समिक्षा गर्ने सहमत भए हामी नगर परिषदगर्न सहमत छौं । ” उप प्रमुख यरीले भन्नुभयो ।

नगरपालिकाका प्रमुख गोविन्द पुनले छिटै समस्या समाधान हुने वताउनुभएको छ । शिक्षकहरुको मागप्रति आफु पनि गम्भिर भएको भन्दै छिटै कार्यपालिकाको वैठक आयोजना गरेर समस्या समाधान गरिने पुनले जानकारी दिनुभयो ।

मंसिर ११ गते देखि विद्यालय वन्द भएपछि विद्यार्थीहरु घामतापेर फर्किएका छन् । परिषद समयमा हुन नसक्दा नगरपालिका भित्र रहेका ३ सय ४२ जना शिक्षकहरुले तलव पाउन सकेका छैनन् । वनगाड कुपिण्डे नगरपालिकामा ६५ विद्यालयमा ३ सय ४२ जना शिक्षकहरु कार्यरत रहेका छन् ।