
२६ मंसिर, जुम्ला । कर्णाली प्रदेशको जुम्लामा एमविविएस पढाई शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमविविएस अध्यापनको शुभारम्भ गर्नुभएको हो ।
अध्यापनको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले कर्णालीले नयाँ इतिहास शुरुवात गरेको बताउनुभयो । उहाँले भन्नुभयो “देशमा कर्णालीको छुट्टै विशिष्ट पहिचान छ । खस भाषाको उद्गम थलो सिंजा सभ्यताको विकासले विश्व माझ मौलिकता प्रवद्धन गरिरहेको छ ।”
शैक्षिक कार्यक्रमको शुभारम्भ गरेसंगै आजदेखि एमबिबिएस, बी.फार्मा, बिएनएस, बिएमएस लगाएत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो।
त्यस्तै प्रतिष्ठानका संस्थापक एवं कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले कर्णालीमा नयाँ स्वास्थ्य युगको प्रारम्भ भएको बताउँदै सेतो हिउँमा एप्रोनधारी डाक्टर उत्पादन गर्ने सपना बोकेका कर्णालीवासीको अब प्रतीक्षा पूरा भएको उल्लेख गर्नुभयो ।
Prawash Kumar Shakya । २६ मंसिर २०७८, आईतवार १८:०४ बजे