
सुर्खेत । तपाईंले कहिल्यै ३१ दिनसम्म खाली खुट्टा पैदल यात्रा गरेको कुरा सुन्नुभएको छ? कर्णाली प्रदेशमा भइरहेको भ्रष्टाचार, वेथिति, विकासमा ढिलासुस्ती, वातावरणीय असन्तुलन र पशु संरक्षणको विषयमा जनचेतना फैलाउने अठोट बोकेर सामाजिक अभियन्ता नवराज बोहोरा “भेडा” ले यही काम गर्नुभयो । उहाँले सुर्खेतको वीरेन्द्रनगरबाट पैदल हिँडेर राजधानी काठमाडौंसम्मको यात्रा ३१ दिनमा पूरा गर्नुभयो । आज उहाँ पुनः आफ्नो गृह प्रदेशको राजधानी वीरेन्द्रनगर फर्किनुभएको छ ।
बोहोराले यात्रा सकेर ३६औं दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गर्नुभएको थियो । सो अवसरमा उहाँले कर्णालीमा भइरहेका भ्रष्टाचार, विकासमा देखिएको ढिलासुस्ती, जनताको पीडा लगायतका विषयहरू प्रधानमन्त्री समक्ष राख्नुभएको थियो ।
अभियन्ता बोहोरालाई ३१औं दिन प्रधानमन्त्रीसँग भेटको प्रयास गर्दा उहाँलाई भेट नदिई प्रधानमन्त्री कार्यालयबाट ‘जुत्ता’ उपहार दिइएको थियो । त्यतिबेला धेरैले यो घटनालाई गम्भीर व्यंग्यका रूपमा पनि बुझेका थिए ।
काठमाडौंमा बसाइको क्रममा बोहोराले विभिन्न राजनीतिक दलका नेता, कलाकार, सामाजिक अभियन्ता र विद्यार्थीहरूसँग भेट गर्नुभएको थियो । साथै केही विद्यालयहरूमा गएर सुशासन र पारदर्शिता सम्बन्धी कक्षा पनि सञ्चालन गर्नुभएको थियो । उहाँको अभियानले कर्णालीका जनताको आवाज संघीय राजधानीमा पुर्याएको छ । सुर्खेतमा विमानस्थलमा बोहोरालाई शुभचिन्तक यूवाहरूले स्वागत गरेका थिए ।
कर्णाली प्रदेश जस्तो सम्भावनायुक्त भूभागमा हुने गरेको भ्रष्टाचार र राज्यको उदासीनताविरुद्ध तपाईंसँग पनि आवाज उठाउने जिम्मेवारी छ । बोहराको यो पैदलयात्रा केवल शारीरिक यात्रा मात्र होइन, यो जनआवाज उठाउने आँट र प्रतिबद्धताको प्रतीक बनेको छ ।

Prawash Kumar Shakya । १२ असार २०८२, बिहीबार १८:३२ बजे