जुम्ला—नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित कार्यक्रममा कर्णालीका कांग्रेस नेताले चीनसँगको नाका खोल्न माग गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले छैटौँ प्रदेशको माग नाक्चेनाङ्ला नाका खोल्ने रहेको बताए।
सभापति देउवाले संविधान कार्यान्वयनको जिम्मेवारी अब काँगे्रसको काँधमा रहेको बताएका थिए।
नेपाली काँगे्रस जुम्लाद्वारा आज आयोजित बृहत् सभालाई सम्बोधन गर्दै सभापति देउवाले मुलुकको संविधान काँग्रेसको नेतृत्वमा बनेकाले त्यसको कार्यान्वयन पनि काँग्रेसले गर्ने जिकिर गरे। सभापति देउवाले भाषा, संस्कृति र प्राकृतिक स्रोतले सम्पन्न कर्णाली विकास नहुँदा पछि परेको उल्लेख गर्दै भन्नुभयो, “कर्णालीमा विकास गर्न जरुरी छ, त्यही हेतुले कर्णाली विकास आयोगको गठन गरिएको हो। पछिल्लो चरणमा कर्णालीको विकासलाई महत्वका साथ हेरिएको छ।”
सभापति देउवाले आजै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाननजिकै निर्माण गरिएको काँग्रेस जुम्लाका तत्कालीन सभापति स्व मानव सेजुवालको सालिक अनावरण गरे।
काँग्रेस नेता धनराज गुरुङले कर्णाली राजमार्ग स्तरवृद्धि र सुर्खेत–दैलेख–कालिकोट–जुम्ला–मुगु गमगढी–नाक्चेनाङ्लासम्मको दुई लेनको सडक निर्माणका लागि पहल गर्ने बताउनुभयो ।
अर्का नेता बद्री पाण्डेले मुलुकको कुनै परिवर्तन वामपन्थीबाट नभई काँग्रेसले मात्र गर्न सक्ने दाबी गर्दै वर्तमान सरकारले जनतालाई दिग्भ्रमित पारेको आरोप लगाउनुभयो ।
आमसभामा संसद् ललितजङ्ग शाही, पूर्वमन्त्री शिवराज जोशी, पूर्वराज्यमन्त्री भक्तबहादुर रोकाया, जुम्ला जिल्लाका तत्कालीन पार्टी सभापति स्व मानव सेजुवालकी धर्मपत्नी कान्तिका सेजुवाल, मुगु, कालिकोट, सुर्खेत र जुम्ला जिल्लाका पार्टी सभापतिको उपस्थिति रहेको थियो।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको राष्ट्रिय राजनीतिमा आफ्नो दलले सधैँ परिवर्तनका लागि नेतृत्व गरेको बताए।
यसैगरी सो दलको बाँके जिल्ला कार्यसमितिद्वारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली काँग्रेस जनतालाई भ्रम बाँडेर राजनीति गर्दैन, लोकतन्त्रको मूल्य, मान्यता र मर्यादा नै काँग्रेसको मूलमन्त्र हो, त्यसमा जनता र मुलुकलाई हामीले साक्षी राखेका छौँ।’
जहानियाँ राणाशासन, राजतन्त्रको अन्त्य र युद्धमा लागेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन काँग्रेसले ठूलो मूल्य चुकाएको स्मरण गर्दै उनले अबको बाटो लोकतन्त्रलाई बलियो बनाउने दिशामा अग्रसर हुनुपर्ने बताए।
सो दलका जिल्ला अध्यक्ष किरण कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु गगन थापा, दीपक गिरी र किशोरसिंह राठौरले पार्टीका कार्यकर्ताको एकताले नै पार्टी जीवन्त रहने विश्वास व्यक्त गरे।
साभारः नागरिक अनलाइन



Prawash Kumar Shakya । २ असार २०७३, बिहीबार १६:०६ बजे