मंगलगढी-काँक्रेविहार सडकले कहिले पाउँछ पूर्णता ?


मंगलगढी-काँक्रेविहार सडकखण्डको शुरुवात विन्दु

२०७६ साउनबाट निर्माणकार्यको थालनी गरिएको मंगलगढी-काँक्रेविहार सडक खण्डले अझै पूर्णता पाउन सकेको छैन । शुरुमा स्थानीय सरकार र प्रदेश सरकारबाट निर्माण शुरु गरिएको सडक पछि प्रदेश सरकारले एकमुष्ठ ठेक्का आह्वान गरि निर्माण शुरु गरिएको सडक अझै पूर्णरुपमा निर्माण हुन नसकेको हो ।

शुरुवातमा सडक मापदण्ड भित्रको संरचना हटाइ नाला र माटो फिलिङ्ग गर्ने गरि बाटो निर्माणको शुभारम्भ गरिएको थियो । तर निर्माण व्यावसायीले पूर्णरुपमा काम नगरेपछि ठेक्का तोडेर स्थानीय सरकार र प्रदेश सरकारले संयुक्तरुप नयाँ ठेक्का आह्वान गरेर २०७६ कार्तिक ३ गते तत्कालिन वडा अध्यक्ष सुरेश मानन्धरले आफैले बाटोको मापदण्ड २५ मिटरको रेखाङ्कन गरेर सडक निर्माण शुरु गरिएको थियो र पनि सडक निर्माण हुन नसकेपछि २०७८ पुष ४ गतेबाट प्रदेश सरकारले एकमुष्ठ ठेक्का आह्वान गरेपछि सडक निर्माण शुरु भएको हो । त्यसपछि पनि निर्माण व्यावसायी अमर-सिस्ने-मेगा जेवीले समयमा सडक निर्माण गर्न नसकेपछि धरौटी वापतको जम्मा रकम ८७लाख पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले जफत गरेपछि भने ठेक्का लिएको मध्यको अमर कन्सट्रक्सनले सडक निर्माण शुरु गरेर मंगलगढीबाट लाटीकोइली स्थित ९ नम्बर वडा कार्यालय सम्म र वीचको सत्यनारायण मन्दिर सम्म एकतर्फी पिच गरेको छ ।

यसैसन्दर्भमा पूर्वाधार विकास निर्देशनालयका निर्माणधिन सडका हेरिरहनुभएका इन्जिनियर प्रेमचन्द्र पाण्डेले सडक निर्माणकालागि निर्देशनालयले निर्माण व्यावसायीलाई ताकेता गरिरहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “हामीले पत्र पठाएर सडक निर्माण छिटो सक्न भनेका छौ ।” उता सडक निर्माणमा अहिले एक्लै काम गरिरहेको अमर कन्सट्रक्सनका भद्र शाहीले बर्षाको कारण सडक निर्माण हुन ढिलाई भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ “हेर्नुस यो सडक हामी छिटो भन्दा छिटो सम्पन्न गर्न चाहन्छौ तर के गर्ने मौसमले गर्दा ढिलाई भएको छ । यस्ले हामीलाई नै घाटा भैरहेको छ । अब हामी मौसम सुधार हुने वित्तिकै दशैं लगतै वेश गरिसकेको सडकको पिच गर्छौ अनी अरु काम पनि गर्दै जानेछौं।”

अहिले यो सडकको मंगलगढीबाट ९ नम्बर वडा कार्यालय सम्म र लाटीकोइली पुल देखि सत्यनारायण मन्दिर सम्म एकतर्फी पिच र वेसको काम गरिएको छ । नवज्योति स्कूल नजिकै सडकमा रहेको पिपलको रुखलाई राख्ने कि फाल्ने त्यो अन्यौलमा नै छ भने त्यही नजिकै विजुलीका पोलहरु नसारिँदा विचमा नाला बनाउन पनि बाँकी नै रहेको छ ।

यता स्थानीयवासीहरुले अब यो सडक अर्को तर्फ पिच हुने वेला बनेको तर्फको पिच भत्कने त होला भनेर चिन्तित छन् ।

मंगलगढी-काँक्रेविहार सडकखण्डमा रहेको पिपलको रुख