
पौष २, सुर्खेत ।
लामो संघर्षका बीच कर्णाली प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता चयन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका सह–इन्चार्ज यामलाल कँडेलको प्रस्तावमा कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।
संसदिय दलको नेता चयनका बिषयमा भएको छलफलमा प्रदेश सभा सदस्य समेत रहेका यामलाल कँडेलले दलको नेता विधि अनुरुप चयन गरिनु पर्नेमा उपरवालेको आदेशमा टिका लगाउनु बिधान अनुरुप नभएको भनेपनि अन्तत उनकै प्रस्तावमा शाही चयन भएका हुन् ।
संसदिय दलको नेता चयन सँगै पौष १ गते बसेको संसदीय दलको बैठकले बनाएको विधान कार्यदलले तयार पारेको विधान पनि संशोधनसहित पारित गरिएको छ ।
संसदिय दलको नेतामा चयनभएसँगै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा संसदीय दलले अब प्रभावकारी काम गर्ने प्रतिक्रिया दिनुभएको छ । नेता शाहीले बिधान अनुरुप काम कार्बाही गरिने भन्दै सबैलाई सँगै लिएर काम गर्ने र दलको प्रमुख सचेतक, सचेतक, विभिन्न संसदीय समितिको संयोजकहरु अब छिट्टै चयन गरि काम कार्बाही अघि बढाइने बताए ।



Milan Shrestha । २ पुष २०७५, सोमबार १८:१८ बजे