महोत्सवमा १७ लाख घाटा, “बुद्ध सरोवर” निर्माण नरोकिने


६ पौष, सुर्खेत । नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतले गत कार्तिक ९ गते देखि १४ गते सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतको बुद्धपथमा बुद्ध सरोवर निर्माण सहयोगार्थ खुला मञ्चमा संचालन गरेको “कृषि साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०७५”को आज (शुक्रबार) आय-व्यय सार्वजनिक गरेको छ ।

महोत्सव संचालनबाट महासंघलाई करिब १७ लाख घाटा लागेको महासंघका उपाध्यक्ष जीवनकुमार शाक्यले बताउनुभयो ।

महोत्सव संचालनकालागि सम्बन्धित निकायबाट कार्तिक ९ बाट १९ गते सम्मकालागि अनुमति पाएता पनि स्थानीय केही व्यावसायी र सुर्खेत उद्योग बाणिज्य संघ अन्तरगतका विभिन्न वस्तुगत समितिले महोत्सवको विरोधमा आन्दोलन गर्दा महोत्सव घाटामा गएको महासंघबाट आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

१० लाख ५१ हजार मुनाफ हुने लक्ष्य लिएकोमा ३७ लाख ६ हजार आम्दानी भएको र ५४ लाख ४१ हजार रुपैयाँ खर्च भएको मेला मुल आयोजक समितिका संयोजक एवं जनजाती महासंघ सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकायले जानकारी दिनुभयो ।

“महोत्सव घाटामा गयो तर हामी भने बुद्ध सरोवर निर्माण गर्न पछि हट्ने छैनौ, सरोवर निर्माणकालागि हामी लागि पर्ने छौ” अध्यक्ष रोकायले भन्नुभयो ।