
पौष १८, काठमाण्डौ ।
संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल वायुसेवा निगमका लागि वाइडबडीको दुई वटा विमान खरिद गर्दा ४ अर्ब घछ करोड भन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । उक्त प्रक्रियामा संलग्न तीन मन्त्री, तीन सचिव र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कारबाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ ।उपसमितिले भ्रष्टाचारको निष्कर्ष निकाल्दा लिएका आधारहरू यिनै हुन् :
- लागत अनुमान तयार गर्दा एयर बस कम्पनीको तत्कालिन मूल्य र छुट रकमलाई नलिई गलत मनसायले ८ वर्ष पुरानो मूल्यमा वार्षिक मूल्यवद्धि समायोजन गरी नयाँ विमानको मूल्यलाई लागत अनुमान बनाई अमेरिकी डलर ११८,१६३,७७३ निर्धारण गरिएको तर बोलपत्रमा १००० घण्टासम्म उडेको र २०१४ पछि निर्मित पुरानो विमानका लागि सूचना जारी गरेर निगम सञ्चालक समितिले निगमले पाउने तत्कालिन छुट मूल्य बढी हुनुपर्नेमा निगमलाई नोक्सान हुनेगरी खरिद गरेको अवस्थामा प्रस्ताव मूल्यांकन उपसमितिले प्रस्ताव गरेको सन् २०१६ मा विमानको मुल्य अमेरिकी डलर ८८,०९९,३१७ पर्ने र निगम व्यवस्थापनले निर्धारण गरेको दर २.७६९९ प्रतिशतको मूल्यवृद्धि कायम गर्दा नयाँ विमानको मूल्य अमेरिकी डलर ९३,०४,७४३४.८० पर्ने सुझावलाई वेवास्ता गरी एएआर इन्कले प्रस्ताव पेश गरेको मूल्य अमेरिकी डलर १०४.८ मिलियन स्वीकारी करिब ११.८ मिलियन अमेरिकी डलरका दरले दुई जहाजमा २३.६ मिलियन डलर नोक्सानी भएकोले सोको दोषीहरुबाट भराउन र हाल वहाल रहेका तथा तत्कालिन सञ्चालक समितिका पदाधिकारी लगायत अन्य संलग्नहरुलाई निलम्बन गरी अख्तियार दुरुपयोग गरेकोमा कारवाही गर्न निर्देशन दिने।
- निगम सञ्चालक समितिले पुरानो विमान खरिद प्रक्रिया अपनाउँदा ह्रासकट्टी गर्नुको सट्टा नयाँ विमानको खरिदका सन्दर्भमा उत्पादक कम्पनीका लागि मात्र लागुहुने वृद्धि दफाको अधिकतम् सीमा व्यवस्थापनले सिफारिस गरे बमोजिम (२.७६९९५ मा नबढ्ने गरी) कायम गर्दै न्यूनतम सीमा एयर बस कम्पनीले सोही बर्षको लागि कायम गरी सार्वजनिक गरेको दर बमोजिम वार्ताबाट टुंगो लगाउने व्यवस्था मिलाइ सार्वजनिक खरिद ऐन २०६३ को वर्खिलाप हुनेगरी प्रस्ताव छनौट भएपछि मूल्य बढाउन सक्ने प्रावधान राखी निगमलाई आर्थिक नोक्सानी हुनेगरी व्यवस्थापनलाई निर्देशन दिएर करिब ६.८ मिलियन अमेरिकी डलर नोक्सानी पुर्याएकोले उनीहरुबाट सो रकम भराउन तथा कानूनी कारवाही गर्न निर्देशन दिने।
- प्रस्ताव पेश गर्ने एएआर इन्क कम्पनीले प्रस्ताव गर्दा भार क्षमता २४२ मे. टन भएको ए३३०-२०० जहाज दिने प्रस्ताव गरेकोमा एमओयू गर्दा र खरिद बिक्री सम्झौता गर्दा विमानको प्रस्तावित अधिकतम टेक अफ भार क्षमता भन्दा प्रति विमान १२ मेट्रिक टन क्षमता कम भएका दुई २३० मे. टनका विमान ए३३०-२४३ जस्को भार क्षमता मात्र २३० मे.टन रहेकोमा यस्ले गर्दा निगमलाई ८.४ मिलियनअमेरिकी डलर क्षति पुर्याएकाले कानुनी कारवाही सहित असुल उपर गर्न निर्देशन दिने।
- निगमले खरिद बिक्री सम्झौतामा सबै रकम एस्क्रो एकाउन्ट वा एयर बस वा एस्क्रो एग्रिमेन्ट अनुसार भनी प्रावधान राखेकोमा सिधै एयर बसलाई रकम पठाउने प्रावधान हुँदाहुदै एस्क्रो एजेन्टलाई १० हजार युरो कमिसन दिन स्वीकार गरी गैरकानुनी रूपमा रकम अपचलन गरेकोमा अख्तीयारको दुरुपयोग गर्ने निगमका पदाधिकारीहरुलाई कारबाही गर्न निर्देशन दिने।
- पहिलो विमानले व्यावसायिक उडान १ अगष्ट २०१८ मा कतारको दोहाबाट र दोस्रोले २४ अगष्ट २०१८ मा थाइलैण्डको बैंककबाट शुरु गरेको भए पनि पूर्व निर्धारित व्यवसायिक योजना कामयावी नभएको, विमान दैनिक ५ देखि ७ घण्टा मात्र उडान गर्न सकेको र यसको पूर्ण क्षमता १४ देखि १५ घण्टा हुने कुरा स्वयं पदाधिकारीहरुले स्वीकार गरेको, हालै मात्र २२ दिनसम्म लापरवाहीपूर्ण तरिकाले ग्राउण्डेड रहेका, नयाँ गन्तव्य तय गर्न नसकेको र कर्जाको व्याज समेत तिर्न आम्दानी नभएकोले दैनिक करीब ७० लाख रूपैयाँ ब्याज मात्र नोक्सानी भएकोले सो को उडान तालिका अनुसार हर्जाना सम्बन्धित पक्षलाई तिराउन निर्देशन दिने । कान्तिपुरबाट



Milan Shrestha । १८ पुष २०७५, बुधबार १६:३१ बजे