श्रीमान्-श्रीमतीबीचको मानसिक द्वन्द्वको कथा “अनागत”


करीब साढे २ वर्ष अगाडि छायांकन सकिएको अभिनेता अर्पण थापा र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘अनागत’ अब प्रदर्शनका लागि तयार भएको छ । माघ ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा परिवारमा शंका उत्पन्न भएपछि आउने परिस्थितिलाई देखाइएको निर्देशक साम्तेन भुटियाले बताए ।
‘श्रीमान्-श्रीमतीबीचको मानसिक द्वन्द्वको कथा हो ‘अनागत’ । यसमा धेरथोर आर्ट कल्चरमा काम गर्ने कोशिश गरेको छु’, फिल्मको विषयमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक भुटियाले भने, ‘यो साइकोलजिकल थ्रिलर जनराको फिल्म हो ।’ निर्देशक भुटिया, अर्पण र प्रियंकालाई फरक चरित्रमा उतारेको बताउँछन् ।
फिल्ममा अर्पणले एक चित्रकारको भूमिका निभाएका छन् । उनले उक्त भूमिका आफ्नो करिअरको सबैभन्दा कठिन र सम्झनलायक रहेको बताए । उनी फिल्ममा निभाएको भूमिकाबाट आफू लामो समय बाहिर निस्कन नसकेको पनि सम्झन्छन् । ‘मबाट केही फरक खोज्ने दर्शकले छुटाउन नहुने फिल्म हो यो’, उनले भने ।
‘यो पहिलो फिल्म होला मेरो लाइफमा, जुन फिल्मको क्यारेक्टर मैले गरिसकेपछि धेरै समय मसँग नै बसेको थियो’, उनले अगाडि भने, ‘आफ्नो क्यारेक्टरलाई न्याय दिन सेट तयार नहुँदासम्म म सुतिरहन्थेँ । निर्देशक साम्तेनले सेट ‘रेडी’ भयो उठ भनेपछि उठ्थेँ र सुटिङ गर्थेँ ।’ उनले ‘अनागत’ को क्यारेक्ब्टर विर्सन निकै गाह्रो भएको बताए ।
उनी ‘अनागत’ लाई आफूले गरेको अन्य फिल्मभन्दा मनैबाट सन्तुष्टि भएको फिल्मको रुपमा लिन्छन् । यस्तै, अभिनेत्री प्रियंका आफूलाई दर्शकले फिल्ममा विल्कुलै फरक भूमिकामा देख्न पाउने पाइन् । उनी भन्छन्, ‘हरेक फिल्ममा भूमिका त फरक नै हुन्छ तर यसमा साँच्चै नै फरक छ ।’ उनले फिल्ममा आफू कृतिको भूमिकामा रहेको बताइन् ।
उनी भन्छिन्, ‘कृतिलाई प्रियंकाभन्दा टाढा राखेर काम गर्ने कोशिश गरेको छु । फिल्ममा तडकभडक केही छैन । एउटा साधारण कथामा बनेको फिल्म हो । ‘अनागत’ अलि डार्क र इमोसनल छ ।’ अभिनेता प्रविण खतिवडाले भने आफू रियलझैं फिल्ममा पनि थिएटर आर्टिस्टकै भूमिकामा रहेको बताए ।
फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् । फिल्ममा रोशिन सुवेदी, अरुण रेग्मी, सम्राट थापा, अनु शर्मालगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्मीखबरअनलाइनबाट