विद्यालय भवन निर्माणको शिलान्यास


१६ माघ, सुर्खेत । सुर्खेत जिल्लाको क्षेत्र न‌ं २ बाट प्रतिनिधी सभामा निर्वाचित सांसद नवराज रावतको सहयोगमा त्रिपुरेश्वर माध्यमिक विद्यालय वीरेन्द्रनगरको भवन निर्माण हुने भएको छ ।

रावतले पूर्वाधार निर्वाचन क्षेत्र विकास कोषबाट विद्यालयको भवन निर्माणका लागि ५० लाख रुपैयाँ प्रदान गर्नुभएपछि भवन निर्माण हुन लागेको हो ।

६ कोठे भवनको आज (बुधवार) साँसद रावतले भवनको शिलान्यास गर्नुभएको छ । भवन शिलान्यास गर्दै रावतले आफ्नो निर्वाचिन क्षेत्रको विकासका लागि आफू सधै तत्पर रहेको बताउनुभयो । झुठा र पूरा नहुने आश्वासन आफूले नदिने र काम गरेर देखाउने समेत उहाँले जिकिर गर्नुभयो ।

आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि आफू जेसुकै गर्न तयार रहेको भन्दै उहाँले सुर्खेत निर्वाचन क्षेत्र नं. २ को विकास नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराम सुवेदीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का अध्यक्ष गंगाराम सुनारसहित शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका शिक्षक किरण भण्डारीले जानकारी दिनुभयो ।