अभावै अभावमा गुज्रिएको सुर्खेतको खेलकुद


13487567_1000910386696882_1504148006_n-768x430सुर्खेत, ५ असार । खेलकुद सामग्री र प्रर्याप्त प्रशिक्षकको नहुँदा सुर्खेतको खेलकुद क्षेत्र अभावै अभावमा गुज्रिएको छ । जिल्ला खेलकुद विकास समितिमा धेरै खेलाडी भएपनि प्रशिक्षण दिने प्रशिक्षकको र खेलकुद सामग्रीको अभाव रहेको छ । खेलकुद सामग्री र प्रशिक्षक विना पनि सुर्खेतका खेलाडीहरु प्रतियोगितामा भने भाग लिंदै आएका छन् ।

फुटवलका लागि खेल मैदान उपयुक्त नहुँदा समस्या भएको जिल्ला खेलकुद विकास समिति सुर्खेतका कार्यालय प्रमुख निलमणि सापकाेटाले बताए । उनले रङ्गशालामा दुबो रोप्ने कार्यक्रमका लागि केन्द्रमा पहल गरेपनि सुनुवाइ नभएको बताए । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सापकोटा भन्छन्, ‘खेलाडीका लागि रङ्गशालामा ओपन सेमी कर्वड हल बनाएको १ वर्ष नपुग्दै त्यसको छाना विग्रन लागेको छ ।’

उनले भने, ‘कर्वड हल भित्र हावापानी छिर्ने हुनाले खेलाडीहरुलाई खेल खेल्न गाह्रो भएको छ ।’ ओपन सेमी कर्वड हल मर्मत गर्न सामान भएपनि बनाउन केन्द्रबाट नै जनशक्ति ल्याएर गर्नुपर्ने समस्या केन्द्रमा जानकारी दिँदा पनि अहिलेसम्म कुनै सुनुवाई नभएको प्रमुख सापकोटाले गुनासो गरे ।

युवा तथा खेलकुद मन्त्रालयबाट विद्यार्थीहरुलाई प्रतियोगिता सञ्चालनका लागि ३ वटा निर्वाचन क्षेत्रमा १/१ खेलमैदान बनाउन पहिलो वर्ष ७५ हजार दोस्रो वर्ष ३ लाख र यो वर्ष ५ लाख रुपैयाँले खेलमैदान निर्माण गरिएको प्रमुख सापकोटा जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्वर १ को मेहेलकुना र मैनतडामा, निर्वाचन क्षेत्र नम्वर २ को दशरथपुर स्थित विद्यालय परिसरमा र निर्वाचन क्षेत्र नम्वर ३ को वावियाचौरमा खेलमैदान बनाएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जिल्लामा खेलकुदको विकासका लागि भएको पूर्वाधार तीन क्षेत्रमा निर्माण गरिएको खेलमैदान मात्रै भएको प्रमुख सापकोटाले बताए ।

उनले खेलकुदको क्षेत्रमा जिल्लामा यो भन्दा अरु कुनै विकास निर्माण हुन नसकेको जनाए । प्रमुख सापकोटाका अनुसार जिल्ला खेलकुद विकास समितिमा १६ वटा खेलाडीहरु भएपनि प्रशिक्षक भने जम्मा ५ जना मात्रै भएको जानकारी दिए ।

उनले जिल्ला खेलकुद विकास समितिमा सबै भन्दा खेल सामग्री र प्रशिक्षकको समस्या भएको बताए । ‘खेलाडीहरु चौरमा प्रशिक्षण गरेर प्रतियोगितामा म्याटमा खेल्ने गर्छन, कुस्तीका खेलाडीहरुका लागि म्याट चाहिन्छ तर कुस्ती खेलाडीहरु बालुवामा गएर प्रशिक्षण गर्नुपर्ने दुखद अवस्था छ ।’ उनले भने, ‘कराँते, उसु, भलिवल, मार्सलआर्ट, तेक्वाण्डो, खेलहरु कर्वड हलमा खेल्नु पर्ने हुन तर यहाँ यसो हुन सकिरहेको छैन ।’

साभारः खबरइरा अनलाइन