आठौ राष्ट्रिय खेलकुद छनौट प्रतियोगिता “क्रिकेट”मा सुर्खेतको जित


१३ फागुन, सुर्खेत । सुर्खेतमा जारी आठौ राष्ट्रिय खेलकुद छनौट प्रतियोगिता अन्तरगत क्रिक्रेट खेलमा सुर्खेतले जित हात पार्न सफल भएको छ । आज (सोमवार) भएको फाईनलमा रुकुम पश्चिमलाई २६ रनले हराउदै सुर्खेत बिजेता बन्न सफल भएको हो ।

लिग चरणका खेलमा सल्यान र दैलेखलाई पराजित गरेको सुर्खेत फा२नलमा रुकुमलाई पाखा लगाउदै बिजेता बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली सुर्खेतले २० ओभरमा ६ विकेटको गुमाएर १४३ रन बनाएको थियो ।

सुर्खेतलाई जिताउन प्रकाश जैसीले ३७ रनको बनाउनु भएको थियो भने निश्चल रावलले ३० रन बनाउनु भएको थियो । जवाफमा रुकुमले १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर मात्र ११६ रन बनाउन सक्यो । रुकुमका हेमन्त वलीले २५ बिजय विष्टले १८ रन जोड्नुभयो भने अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन समेत जोडन सकेनन् ।

यस्तै आजै भएको भएको अर्को खेलमा दैलेखलाई पराजित गर्दै सल्यान तेस्रो स्थान हासिल गर्न सफल भएको छ । कालुन्चोक मैदानमा भएको खेलमा सल्यानले दैलेखलाई १२८ रनको फराकिलो अन्तरले हराएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सल्यानले १५ ओभरमा ५ विकेट १६८ रन बनाउन सफल भएको थियो । जसमा सल्यानका दिनेश अधिकारीले ८० रन बनाउनु भएको थियो भने आशिस सिहँले २० रन बनाउदै जित हात पार्न सफल हुनुभएको थियो ।

१६९ रनको विशाल लक्ष्य लिएर मैदान उत्रिएको दैलेखले ९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर मात्र ४० रन बनाउन सक्यो । दैलेखका अनिल केसी ५ र गोपाल बुढाले ४ रन बनाउनुभयो भने अन्य व्यास्टम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

यस्तै आजै भएको फुटबल तर्फको खेलमा कालीकोट र हुम्ला जित हात पारेका छन । कालीकोट र रुकुम बिचको खेल निधारित समयमा पनि गोल हुन खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा कालिकोटले रुकुमपश्चिमलाइ ७ -६ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा आफ्नो स्थान पक्का गरेको छ ।

यस्तैगरी अर्कौ खेलमा हुम्लाले दैलेखलाई ३ -१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गरेको छ । भोली (सोमवार) विहान क्वाटरफाईनलको अन्तिम एक खेल भएपछि भोलीबाट नै सेमीफाइनल चरणका खेलहरु सुरु हुने जनाइएको छ ।

यस्तै एथ्लेटिक्स एक हजार ५०० दौडमा महिलातर्फ जुम्लाका राममाया बुढा प्रथम, सीता न्यौपाने द्वितीय र कालीकोटका ममिता बुढा तृतीय हुनुभएको छ । एथ्लेटिक्स १ हजार ५०० मिटर दौडमा पुरुष तर्फ जुम्लाका नरेश बुढा प्रथम, कालीकोटका सन्तोषनाथ योगी द्वितीय र सुर्खेतका सुशील राम्जाली तृतीय हुन सफल हुनुभएको छ ।

प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशका प्रचारप्रसार समिति संयोजक अर्जुनजङ्ग शाहीका अनुसार एथ्लेटिक्स १०० मिटर दौडमा महिला तर्फ सुर्खेतका सेरना सिरपाली प्रथम, कालीकोटका रसुदा शाही द्वितीय र सल्यानका खिमा आचार्य तृतीय बन्नुभएको छ ।

यस्तै एथ्लेटिक्स १ सय मिटर दौडमा पुरुष तर्फ जाजरकोटका यामसाजन सुनार प्रथम, सल्यानका सुशील केसी द्वितीय र सुर्खेतका पवनकुमार बिसी तृतीय  बन्नु भएको छ ।

त्यसैगरी, सटफुटमा पुरुष तर्फ सुर्खेतका तिलक विक प्रथम, सुर्खेतकै पदम परियार द्वितीय र रुकुम पश्चिमका हर्क विश्वकर्मा तृतीय बन्नु भएको छ भने सटफुट महिलातर्फ कालीकोटका निरुताकुमारी शाही प्रथम, सुर्खेतका प्रतिमा थापा द्वितीय र कालीकोटका रसुदा शाही तृतीय बन्नु भएको छ ।

लङजम्प पुरुष तर्फ सल्यानका सुशील केसी प्रथम, जाजरकोटका यामसाजन सुनार द्वितीय र रुकुम पश्चिमका हेमन्त विक तृतीय स्थान हासिल गर्नुभएको छ भने लङजम्प महिला तर्फ सुर्खेतका आशा विक प्रथम, हुम्लाका जयलक्ष्मी हमाल द्वितीय र सल्यानका सुशीला राना तृतीय बन्नु भएको छ।

२६४ स्वर्ण, २६४ रजत र ४०२ काँस्य पदका लागि १० जिल्लाका एक हजार २४१ खेलाडीले २१ खेलमा प्रतिस्पर्धा गरि रहेका छन्।