
२४ फागुन दैलेख ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशको उत्तरी नाका छिट्टै जोडिने बताउनु भएको छ । कर्णाली प्रदेश सरकार चाइना भ्रमण गएका बेला चाइनाको सरकार सँग नेपालगञ्जको जमुनाहा नाका हुँदै सुर्खेत, दैलेख सदरमुकाम, कालिकोट, जुम्ला, मुगु, हुम्ला हुदै हिल्सा फास्ट ट्रर्याकको डिपीआर निर्माण कार्य सकिएको बताउँदै दुवै छिमेकी देशहरु जोड्ने जमुनाहा हिल्सा सडक निर्माण कार्य तत्काल सुरु हुने बताउनु भएको छ ।
दैलेख उद्योग बाणिज्य संघले आयोजना गरेको ब्यापार मेला तथा दैलेख महोत्सव २०७५ को उद्दघाटन गर्दै मुख्यमन्त्री शाहीले चीनसँगको नाका खुलेपछि कर्णालीको सिंङ्गो आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने बताउनु भयो। बिकासका हिसावले दैलेख भाग्यमानि जिल्ला भएको भन्दै मुख्य मन्त्री शाहीले यो जिल्ला कर्णालीको मध्यभागमा छ । जताबाट बिकास सुरु गरेपनि दैलेख छोडेर जान सकिदैन् । मध्यपहाडी पुष्पलाल लोकमार्ग दैलेखको भू–भाग भएर गएको छ । जमुनाह हिल्सा फास्ट ट्र्याक दैलेख भएर जाँदै छ । अव केही दिनमा सडक पुर्वाधार तयार हुन्छ तर सडक आएपछि स्थानीय बासिन्दाहरुले उत्पादन गरेका बस्तुहरुको बेचबिखन गर्नका लागि यहाँ उत्पादन बढाउनुपर्ने धारणा मुख्य मन्त्री शाहीको थियो ।
कर्णालीमा लगानी गर्न आउने बिभिन्न निकायहरुलाई सरकारले १० बर्षसम्म कर छुट दिने निर्णय गर्ने तयारी भएकोले यहाँको बिकासका लागि लगानी गर्न आउन उद्योगीहरुलाई आग्रह गर्नु भयो ।
नेपल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डी प्रसाद ढकालले प्रदेश सरकारले गुरु योजना तयार गरेर निजी क्षेत्रको अवस्यकता महसुस गरे आफूहरु लगानीको वातावरण तयार गर्न सक्ने बताउनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले हरेक प्रदेशमा एउटा महत्वपुर्ण परियोजना निर्माण गर्ने तयारी उद्योग बाणिज्य महासंघको रहेकोले सरकारले यसको खाका तयार पारिदिए आफुहरु सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
जिल्लाका उद्योगीहरुले दैलेखको पेट्रोलियम पदार्थ तत्काल उत्खनन् गर्नुपर्ने, पंचकोशी पर्यटन क्षेत्रको बिकासमा ठोस कार्ययोजना सहित काम थालनी गर्नुपर्ने, मध्यपहाडी राजमार्गको दैलेख सदरमुकाम खण्डको विवाद तत्काल समाधान गर्नुपर्ने, दैलेखमा निर्माणाधिन माथिल्लो कर्णाली आयोजना, मेगा सिटी, मध्यपहाडी राजमार्ग जस्ता राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सक्न सरकारलाई ध्यानाकर्षण गरेका छन् ।
प्रतिनिधी सभा सदस्य पार्वती बिशुन्के, कर्णाली प्रदेश सभाका सदस्य अम्मर बहादुर थापा, धर्मराज रेग्मी, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा पुण्य रेग्मी, लगायतले दैलेख सम्भावनाको खानी भएको जिल्ला भएको भन्दै प्रदेश सरकारले बिशेष ध्यान दिनुपर्ने सुझाव दिनु भएको छ ।
महोत्सव उद्घाटन समारोहका अध्यक्ष कुलबहादुर बि.क.ले दैलेख उद्योग बाणिज्य संघ दैलेखले स्थानीय उत्पादनलाई बढावा दिन, उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको पहिचान, दैलेखका ऐतिहासिक धार्मिक, पर्यटकिय स्थलहरुको प्रचार प्रसारमा सहयोग सँगै महोत्सवबाट बचेको रकमले सिटी हल निर्माण गर्ने योजना रहेको बताए । उद्घाटन समाहरोह कार्यक्रम संचालन महासचिव राजेश हमालले गर्नुभएको थियो ।
फजुल खर्च हुने र उपलब्धि नहुने मेला महोत्सव प्रतिबन्द लगाउनुपर्छ शाही
मुख्यमन्त्री शाहीले फजुल खर्च बढाउने र उपलब्धि नहुने मेला महोत्सवहरुमा प्रतिवन्द लगाउनुपर्ने धारणा समेत राख्नुभएको छ ।
अवका मेला महोत्सवहरु स्थानीय कला संस्कृति झल्किने, संरक्षण हुने, स्थानीय उत्पादनहरुको बजारिकणका लागि हुनुपर्ने बताउनु भयो । अनावश्यक रुपमा फजुल खर्च बढाउने, बिदेशका उत्पादनहरुमा जिल्लामा ल्याएर अनावश्यक खर्च बढाउने खालका मेला महोत्सवहरुमा प्रतिबन्द लगाउनुपर्ने बताउनु भयो । जनताले लाखौं रकम मेलाका नाममा खर्च गर्छन् तर उपलब्धि केही देखिएका छैनन्, स्थानीय उत्पादनहरुको प्रर्वद्धन गर्नुको साटो हरेक मेलामा बाह्य जिल्लाबाट, बाह्य देशवाट ल्याएका अनावश्यक बस्तुहरु ल्याउने प्रचलन बन्द गर्नुपर्छ भन्नुभयो ।
अवका महोत्सवहरु जनताको जीवनस्तर सुधार गर्ने काममा आउनका लागि मात्र लगाउन सम्वन्धित निकायहरुलाई मुख्य मन्त्रीले सल्लाह दिनुभएको छ ।
सदरमुकाममा पहिलोपटक प्याराग्लाईडिङ्ग

दैलेख महोत्सवको अवसर पारेर दैलेख सदरमुकाम दैलेख बजार माथि भएर पहिलोपटक प्याराग्लाईडिङ्ग उडान गरिएको छ । महोत्सव उद्घाटनका क्रममा प्याराग्लाईडिङ्गबाट फुल अविर बर्षा गर्ने कार्यक्रम तय गरिएको भएपनि हावाको गतिले साथ नदिएपछि सदरमुकाम दैलेखबजारको माथिबाट पहिलोपटक प्याराग्लाईडिङ्गको उडान गरिएको हो ।



Milan Shrestha । २५ फाल्गुन २०७५, शनिबार ०८:३९ बजे