मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त


कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गएराती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका र आज बिहान रुकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिकामा वर्षासँगै गएको पहिरोमा परि भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वडा नं. ४ जिरीमा गएको पहिरोमा परी ७ जनाको दुःखद निधन हुनुको साथै ५ जना अहिलेसम्म बेपत्ता रहेको र रुकुम (पश्चिम) जिल्ला आठविसकोट नगरपालिका वडा नं. ३ रेझेखोलामा गएको पहिरोमा परि २ जनाको दुःखद निधन भएको र १ जना घाइते भएको घटनाले मुख्यमन्त्री शाही निकै स्तब्ध हुनुभएको विज्ञप्तीमा उल्लेख छ ।

उक्त विपद्मा परि निधन हुनुभएका सबैप्रति मुख्यमन्त्रीले भावपूर्ण श्रद्धाञ्जली एवं शोकमा रहनुभएका परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ । यसबाट सम्बन्धित घरपरिवारमा पर्नगएको पीडाप्रति मुख्यमन्त्रीले गहिरो सहानुभूति सहित घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

मुख्यमन्त्रीबाट पहिरोमा बेपत्ता नागरिकहरुको खोजी कार्य, विस्थापित परिवारका लागि राहत सामग्री एवं मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट गरिएको विपद जोखिम विमा रकम भुक्तानी दिने व्यवस्था गर्न सम्वन्धित निकायलाई निर्देशन दिइसक्नुभएको छ । वर्षायामको शुरुवातसँगै बाढी, पहिरोलगायतका प्राकृतिक विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित हुनसक्ने भन्दै माननीय मुख्यमन्त्रीले विपद् जोखिमबाट बच्न सबैले आ–आफ्नो तहबाट सतर्कता अपनाउन र जोखिम न्यूनीकरणका लागि व्यवस्था मिलाउन प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय एवं सरोकारवाला निकायलाई निर्देशन गर्नुभएको छ ।

विपद्को सूचना पाउने बित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं सूचना सम्प्रेषण गर्ने सञ्चारकर्मीहरुलाई मुख्यमन्त्रीले धन्यवाद व्यक्त गर्नुभएको छ ।