३ चैत्र, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका १३ गुमीमा सञ्चालन हुने १२ औँ फागु महोत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । ‘गुमिचुली जागरण युवाहरुको अभियान पर्यटन, खेलकुद, कृषि तथा कला संस्कृतिको उत्थान’ भन्ने मुल नारा सहित भोली (सोमवार) देखि महोत्सव सञ्चालन हुदैछ ।
महोत्सवको भोली बिहान (सोमबार) ११ बजे कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले उद्घाट्न गर्नुहुने आयोजकले जनाएको छ । हिन्दु नेपालीहरुको महानपर्व होलीको अवसरमा विगत देखि गुमीचुली जागरण युवा क्लब गुर्भाकोट १३ र १४ ले महोत्सव सञ्चालन गर्दै आएका छन् ।
महोत्सवमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी, लोपोन्मुख बाजा प्रदर्शनी, सिंगारु नृत्य सहित पञ्चेबाजा प्रदर्शनी गरिने आयोजक संस्थाका सचिव वेलबहादुर विकले बताउनुभयो । महोत्सव अवधिभर राष्ट्रिय कलाकारहरु कुलेन्द्र विश्वकर्मा, देवी घर्ती ,प्रकाश सपुत, धनराज चुनारा लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने संयोजक विकले बताउनुभयो ।
साथै महोत्सवका थप आर्कषणहरुमा नगरपालिका तथा गाउँपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता, पुरुष व्याटमिन्टन प्रतियोगिताको पनि गरिने भएकोछ । चैत्र ४ देखि ८ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गुर्भाकोट नगरपालिका वडा कार्यालय १३ र १४ लगायत उद्योग वाणिज्य संघ उपशाखा गुर्भाकोटको सहआयोजना रहेको आयोजकले जनाएको छ ।



Milan Shrestha । ३ चैत्र २०७५, आईतवार २०:४२ बजे