साथीहरूका हौसलाले संगीतमा आएँ


पछिल्लो समयको निकै चर्चित गीत नाच फिरिरि…का गायक हुन्– महेश काफ्ले । उनको यो गीतले अनपेक्षित सफलता हासिल गर्‍यो । उक्त गीतले युट्युबमा हालसम्म ४ करोडभन्दा बढी भ्युज पाइसकेको छ । नेपाली गीत–संगीतको इतिहासमा छोटो समयमै सबैभन्दा बढी भ्युज पाउने गीत सम्भवतः यही हो । यो गीतले यति धेरै सफलता पाउला भन्ने स्वयम् गायक काफ्लेले पनि सोंचेका थिएनन् ।

उनी भन्छन्, ‘सफलता सपना जस्तै भएको छ ।’ यद्यपि, काफ्लेका लागि भने यो सफलता पहिलो होइन । ११ वर्षको उमेरदेखि नै गीत–संगीतमा सक्रिय काफ्लेले बाल्यावस्थामै हिट गीत गाएर चर्चा कमाएका थिए । काफ्लेले पहिलो पटक ‘सानीमा मार्देऊ बरु बगाइदेऊ पानीमा’ गाएका थिए । त्यो गीतले निकै चर्चा कमायो । साथै, पिण्ड दिने छोरो त मै हो नि, सम्पत्ति सक्यो बाउले जुवा तासैमा, नाङ्गै छु भोकै छु लाउन खान पाऊँ आदि गीत उनले १३ वर्षको उमेरसम्म गाइसकेका थिए । यिनै गीतका कारण उनी बालगायकका रूपमा स्थापित भैसकेका थिए ।

काफ्ले गायक भोजराज काफ्लेका छोरा हुन्, उनी सानै उमेरदेखि घरको सांगीतिक वातावरणमा हुर्किए । आफूलाई त्यही माहोलले यो क्षेत्रमा तानेको काफ्ले बताउँछन् । काफ्ले भन्छन्– मेरो घरमा बुबा पनि गायक हुनुहुन्छ अनि दाइ दिनेश काफ्लेले पनि ‘आमा रातो सारी चुरा पोते किन नलाको’ गीत गाउनुभयो जुन निकै हिट भयो, त्यसपछि ममा पनि गीत गाउने हुटहुटी जाग्यो ।

काफ्लेका दाई दिनेश काफ्लेको स्वरको आमा रातो सारी चुरा पोते किन नलाको गीतले अपार सफलता पाए पनि दिनेश अहिले सांगीतिक क्षेत्रमा छैनन् । दाजुले गाएको गीत हिट भएपछि महेशले गीत गाउने आफ्नो इच्छा बुबा भोजराजलाई सुनाए । बाबु भोजराजले भने उनले गीत गाउन सक्छन् भन्ने कुरा पत्याएनन् । त्यसपछि महेशले आफ्नी आमालाई गुहारे । काफ्ले भन्छन्– त्यसपछि आमाले बुबालाई सम्झाइदिएपछि उहाँले गीत गाउन लगाउने भन्नुभयो ।

यही क्रममा उनको स्वरमा सानीमा मार्देउ बरु बगाइदेऊ पानीमा गीत रेकर्ड भयो, जसको भिडियोमा महेश आफैंले अभिनय गरे । उक्त गीतले अपार सफलता प्राप्त गर्‍यो । त्यति बेला महेश ११ वर्षका थिए । त्यसपछि ऊनले क्रमैसँग ७ वटाजति गीत गाए । यहित्रममा उनको स्वरमा परिवर्तन आयो, साथै पढाइको चाप पनि बढ्न थाल्यो । उनको ध्यान गीत–संगीतभन्दा पनि अध्ययनतर्फ लाग्यो । कक्षा १२ उत्तीर्ण गरेपछि उनले आफ्नो भविष्यको रेखा कोर्ने बाटो पहिल्याउन थाले ।

त्यतिबेला उनका केही साथी अस्ट्रेलिया जाने तयारी गर्दै थिए त केही सरकारी जागिरको । महेशको ध्यान पनि केही समय त्यतै तिर लाग्यो । उनले सरकारी जागिर खान नासुको फारमसमेत भरे । केही समय लोकसेवाको तयारी पनि गरे तर आफूले परीक्षा नदिएको काफ्ले बताउँछन् । उनलाई खेलकुदमा एकदमै रुचि थियो । यही क्रममा इमेज टेलिभिजनमा खेलकुद पत्रकारका लागि आवेदन खुल्यो । त्यसपछि उनले इमेज टेलिभिजनमा खेलकुद पत्रकारका रूपमा करिब ३ वर्ष काम गरे ।

उनको संगीतप्रतिको मोह भने मरिसकेको थिएन । उनी अलिकति फुर्सद भयो कि गीत–संगीत सुनेर समय बिताउँथे । इमेज च्यानलमा खेलकुद पत्रकारका रूपमा काम गर्न थालेपछि उनको मानिसहरूसँगको चिनजानको दायरा फराकिलो हुन थाल्यो । उनले आफ्नो परिचय दिदा सानैमा गीत गाउने महेश काफ्ले हो कि क्या हो भनेर धेरैले सोधेको काफ्ले बताउँछन् । उनी भन्छन्– मैले कतै परिचय दिँदा मैले पहिले गाएका गीत सुनेका कतिपयले मलाई चिन्नुहुँदो रहेछ । उहाँहरूले मेरो विगत कोट्याइदिनुभयो । त्यसपछि मलाई आफ्नो बाटो त अर्कै रहेछ भन्ने लाग्यो ।

यसरी जन्मियो नाच फिरिरी… 

गायक काफ्लेले कहिल्यै पनि नाच फिरिरी…ले यति सफलता पाउला भन्ने कल्पना गरेका थिएनन् । काफ्ले भन्छन्,‘यो सफलताले सप्राइज छु ।’ असार–साउनको महिना थियो । एक दिन महेश घरकौ झ्यालमा बसेर बाहिरतिर हेरिरहेको थिएँ । बिहानको ८–९ बजेको समय थियो । बाहिर सिमसिम पानी परिरहेको थियो । यही क्रममा उनको दिमागमा नाच फिरिरी भन्ने शब्द फुर्‍यो । यो शब्दले उनको मनमा बास गरिरह्यो । उनले यो शब्दलाई धेरैपटक दोहोर्‍याइरहे ।

यही क्रममा हावा चल्यो सिरिरी शब्द जन्मियो । उनलाई राम्रो गीत बन्ला जस्तो लाग्न थाल्यो । उनले अरु शब्द पनि सोंच्दै जान थाले । बिस्तारै एउटा पूर्ण गीत तयार भयो । काफ्ले शब्द कोर्दा संगीतको पाटोलाई पनि त्यत्तिकै ध्यान दिएर संगीत निर्माण गर्दै जान्छन् । जसले गर्दा शब्द र संगीत सँगसँगै उत्पन्न भएको काफ्ले बताउँछन् । काफ्ले भन्छन्– नाच फिरिरी गीतको शब्द यति सजिलो सँग फुर्‍यो कि म आफैं आश्चर्यचकित छु, म त भन्छु यो गीत मलाई सरस्वती माताले वरदान दिनुभएको हो ।

साप्ताहिक अनलाइनबाट