२९ फागुन. साविक विजेता वीरेन्द्रनगर स्पोर्टस क्लव(सैनिक आवासीय मावि) लार्इ ४ शून्यले हराउँदै नवप्रवेशी साथी खोर्के युवा (स्कार्इ) क्लवले यस वर्षको जिल्लास्तरीय एन्फा लिगको उपाधि उचालेको छ ।
शनिबार आज भएको फाइनलमा उपाधि रक्षाका लागि उत्रिएको वीरेन्द्रनगरको चुनौति सजिलै पन्छाउँदै स्काइले पहिलो उपाधिसंगै नगद ४० हजार रुपैयाँ हात पारेको छ । लगातार दोश्रो पटक फाइनल पुगेपनि उपाधि जोगाउन नसकेको वीरेन्द्रनगरले भने नगद २५ हजारसंगै उपविजेता मै चित्त बुझाउनु परेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोश्रो हाफको ५३ औं मिनेटमा रोशन सारुले गरेको गोलसंगै अग्रता लिएको स्काइका लागि सन्दिप गुरुंगले ७०, सुमन घर्तीले ८४ र अरुण गाहाले ८८ औं मिनेटमा गोल गर्दै वीरेन्द्रनगरलार्इ निराश बनाए ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका वीरेन्द्रनगरका विष्णु दुवालले प्लेयर अफ दि टुर्नामेन्टको उपाधिसंगै नगद १५ सय रुपैयाँ हात पार्दा प्रतियोगितामा सबैभन्दा धेरै ८ गोल गरेका वीरेन्द्रनगर कै शिव खड्काले नगद १ हजार पुरस्कार पाएका छन । उत्कृष्ट गोलरक्षक घोषित बाबियाचौरका कमल कार्की, उत्कृष्ट मिडफिल्डर स्काइका सुदिप गुरुंग, उत्कृष्ट रक्षक वीरेन्द्रनगरका योगेश वीसी र म्यान अफ दि म्याच स्काइका अरुण गाहाले जनही एक हजार रुपैयाँ पुरस्कार पाएका छन ।
यस्तै अनुशासित क्लवका रुपमा न्यू स्टार कालागाउँले फेयर प्लेको उपाधिसंगै ४ हजार रुपैयाँ प्राप्त गरेको छ । विजेता टोली र खेलाडीहरुलार्इ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी, उपाध्यक्ष जनक रावल, आयोजक संघका अध्यक्ष गोवर्द्धन खड्कालगायतले पुरस्कार र ट्फी प्रदान गरेका हुन ।



Milan Shrestha । २९ फाल्गुन २०७२, शनिबार १५:३५ बजे