
१३ पौष, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परिवतर्नको लडाईमा संगै लडदै गर्दा छेउमै ढलेका सहिदका सपना नभुलेको बताउनुभयो ।
मुख्यमन्त्री शाहीलाई भेटेर आफना समस्या सुनाउन सुर्खेत आईपुगेका रुकुम पश्चिमका सहिद परिवारसंग मुख्यमन्त्री शाहीले सहिदहरुको रगतवाट संघीय गणतन्त्र प्राप्त भएको भन्दै सहिदहरुले देखाएको बाटोबाट कहिलै विचलित नहुने प्रतिवद्धता गर्नुभयो ।
सहिद परिवारको समस्यालाई आफुले नजिकवाट अनुभुति गरेको बताउदै मुख्यमन्त्री शाहीले सहिद परिवारको समस्या सामाधानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । सहिद परिवारको पारिवारीक अवस्था हेरी रोजगारी तथा आयमुलक कामका लागि ठोस योेजना निर्माण गरि काम गर्ने उहाँको भनाई छ ।
मुख्यमन्त्री शाहीले जनयुद्धका घाईते अपाँङ्ग योद्धाहरुको लागि प्रदेशस्तरीय पुनःस्थापना केन्द्रको स्थापना गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिदै चालु आवमै कार्यान्वयन गरिने बताउनुभयो । असक्त घाईते अपाङ्गहरुलाई सहयोगी सहित पुनःस्थापना केन्द्रमा राखिने, उपचारको आवश्यकता भएका घाईते अपाङ्गलाई उपचारको व्यवस्था गरिने र काम गर्न सक्ने घाईते अपाङ्गहरुलाई रोजगारीको व्यवस्था गरिने मुख्यमन्त्री शाहले बताउनुभयो । त्यसैगरि द्वन्द्व प्रभावित व्यक्तिका मनोसामाजिक परामर्श लगायतका कार्यक्रम संचालन गरिने पनि मुख्यमन्त्री शाहीको भनाई छ ।
द्वन्द्व प्रभावित व्यक्तिको लागि अहिले पनि परामर्श र प्रेरणाको आवश्यक रहेको बताउदै मुख्यमन्त्री शाहीले त्यसका लागि परामर्शदाताहरुको समूह बनाएर गाँउगाँउ पठाईने बताउनुभयो ।
रुकुम पश्चिममा द्वन्द्वको बेला भएका सामुहिक हत्याकाण्डमा हत्या गरिएका खारा, पीपल, मग्माका सहिद परिवार तथा द्वन्द्वका क्रममा हिंसापिडित महिलाहरुले आफ्ना समस्या सामाधान गर्न माग गर्दै मुख्यमन्त्री शाहीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
ओरेक नेपालको सहजीकरणमा भएको भेटमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, सामाजिक विकास मन्त्री दल रावल र ओेरेक नेपालकी संस्थापक अध्यक्ष डा.रेणु अधिकारी लगायतको सहभागिता रहेको थियो ।
Milan Shrestha । १३ पुष २०७५, शुक्रबार ०७:४६ बजे