दोषी कर्मचारीलाई कारवाही गरिने


५ वैशाख, काठमाडौं । प्रेस काउन्सिल नेपालको लापरबाहीले पोखराका पत्रकार अर्जुन गिरी प्रहरी नियन्त्रणमा पुगेको भन्दै चौतर्फी आलोचना भएपछि काउन्सिलले त्रुटि गर्ने कर्मचारीलाई कारबाही प्रक्रिया थालेको आज एक प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

आज बिहीबार काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत त्रुटिपूर्ण कार्यमा संलग्न कर्मचारीलाई तत्कालै स्पष्टिकरण सोधिएको जनाएको छ ।

विज्ञप्तीमा तान्डव न्यूज डटकम काउन्सिलमा सूचीकरण भए/नभएको बारेमा विपेन्द्रराज बतासले जानकारी माग गरी निवेदन दिएकोमा सोको जानकारी दिँदा सूचीकरणको लागि प्राप्त निवेदनका आधारमा एकीकृत अभिलेखसिट तयार गर्दा कम्प्युटर टाइपमा त्रुटि भइ www.tandavnews.com  हुनुपर्नेमा www.tandannews.com भएकोले फेला नपरेको कारण सूचीकरणका लागि प्राप्त नभएको भनी पत्राचार भएको हो ।’

त्रुटिमा संलग्न कर्मचारीमाथि स्पष्टिकरण सोध्दै कारबाही प्रक्रिया थालिएको उल्लेख गरिएको छ । तर काउन्सिलले दोषी कर्मचारीबारे भने केही उल्लेख गरेको छैन ।

काउन्सिलले यो घटनालाई शिक्षाको रुप लिएको र यस घटनाबाट अभिलेखलाई दुरुस्त राख्नकालागि थप प्रक्रियाको थालनी समेत गरेको विज्ञप्तीमा उल्लेख छ ।