
१६ बैशाख सुर्खेत । बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मुल नाराका साथ लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको प्रदेश ५ सरकारले कर्णाली प्रदेशबासीलाई लुम्बिनी घुम्न आउन निम्तो दिएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लुम्बिनी भ्रमण वर्ष २०७६ प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन गर्दै बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा मार्फत प्रदेश बासीलाई निम्तो दिएको हो ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बुढालाई प्रदेश ५ सरकारको तर्फाबाट भ्रमणको निम्तो लिएर आएको प्रचारप्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले प्रदेशबासीमा निमन्त्रणा सन्देश पुर्याउन अनुरोध गर्नुभयो ।
लुम्बिनी भ्रमणको निम्तो ग्रहण गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले लुम्बिनी भ्रमण वर्ष सफल पार्नका लागि कर्णाली प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्ने बताउनुभयो ।
आन्तरिक र बाहृय पर्यटक भित्राउनका लागि कर्णाली प्रदेश सरकारले पूर्णरुपमा साथ दिनेछ, उहाँले भन्नुभयो ‘म पनि समय मिलाएर लुम्बिनी घुम्न आउनेछु, लुम्बिनीको बारेमा धेरै जानकारी लिनुपर्नेछ ।’
मन्त्री बुुढाले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश फैलाइरहेको भन्दै लुम्बिनी र बौद्धस्थलहरुसँग जोडेर कर्णाली प्रदेशका काँक्रेविहार लगायत बौद्धस्थलहरुको प्रवर्द्धनका लागि कर्णाली प्रदेश सरकारले कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।
कर्णाली रारा भ्रमण वर्ष मनाएर धेरै कुरा सिक्ने मौका पाएको भन्दै मन्त्री बुढाले कर्णालीमा पर्यटक आगमन वृद्धि भएको र साथै आगामी दिनमा प्रवर्द्धनात्मक कार्यक्रमका साथसाथै भौतिक पूर्वाधार विकासमा समेत जोड दिने बताउनुभयो ।
मन्त्री बुढाले कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुको अभिलेख र तथ्यांक संकलनलाई व्यवस्थित गर्नेमा जोड दिदै छिटै नै कर्णालीका १ सय १ वटा पर्यटकीय स्थलहरु घोषणा गर्ने र ती स्थलहरुको भौतिक पूर्वाधार र प्रवर्द्धनको कार्यक्रम थाल्ने जानकारी दिनुभयो ।
कर्णाली प्रदेशमा बौद्धगुम्बा र पर्यटकीय स्थलहरु रहेको भन्दै मन्त्री बुढाले लुम्बिनीसँग जोडेर प्रचारप्रसार गर्ने र पर्यटक आगमनलाई वृद्धि गर्दै प्रदेश ५ सरकारले गरेका राम्रा कामहरुको अनुसरण गर्दै कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका पर्यटकीय स्थलहरुको प्रवर्द्धनका लागि काम गर्ने मन्त्री बुढाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रचारप्रसार सचिवालय सदस्य प्रदीप आचार्यले लुम्बिनी घुम्न आएर कम्तीमा ३ दिन बास बस्न अनुरोध गर्नुभयो । ‘कर्णाली प्रदेशका पर्यटकीय स्थलमा आउने पर्यटकलाई लुम्बिनी पुर्याउने र लुम्बिनी आएका पर्यटकलाई कर्णाली प्रदेशका पर्यटकीय स्थल घुम्ने वातावरण बनाउनका लागि प्रदेश-प्रदेशबीच सहकार्य र समन्वयका लागि पनि यो अभियानको थालनी भएको हो’ आचार्यले भन्नुभयो ।
लुम्बिनीमा पर्यटक आगमनलाई बढाउने र बसाई लम्बाउने सोंचका साथ प्रदेश सरकारले प्रवर्द्धनात्मक कार्यक्रम थालेको प्रदेश ५ पर्यटन मन्त्रालयका शाखा अधिकृत केशव सुनारले जानकारी दिनुभयो ।
कार्यक्रममा पत्रकारहरु गणेश ओली, श्रीधर पौडेल, दीपक जैसी, धर्मराज जिसी, पुरुषोत्तम सापकोटा, खगेन्द्र अधिकारी, सुरजकुमार सिंहलगायतले लुम्बिनी आउने पर्यटकलाई काँक्रेबिहार क्षेत्र, रारा ताल, सेफोक्सुण्डो ताल, दहहरु, दैलेख, सिंजा र अरु पर्यटकीय स्थलमा पर्यटक आउने गरी समन्वयकारी काम गर्नुपर्ने बताउँदै भौतिक पूर्वाधारमा पनि चासो दिएर लुम्बिनी गुरुयोजना छिटै सम्पन्न गर्न सुझाव दिनुभएको थियो ।
यस्तो छ भ्रमण वर्ष कार्यक्रम
सिद्धार्थ गौतमबुद्ध मात्रै होइन, लुम्बिनी क्षेत्रमा त्यसअघिका क्रकुच्छन्द र कनकमणि बुद्ध पनि जन्मिएनुभएको थियो । क्रकुच्छन्द र कनकमणि बुद्ध कपिलवस्तुको गोटिहवा र अरोराकोटमा जन्मिनुभएको थियो । बुद्धको अस्तुधातु समेत लुम्बिनी क्षेत्रमै रहेको छ । रुपन्देही, कपिलवस्तु र नवलपरासी (पश्चिम) का बुद्धस्थलहरुलाई लुम्बिनी क्षेत्रमा राखेर प्रदेश सरकारले प्रवर्द्धनात्मक कार्यक्रम थालेको हो ।
बुद्धको जन्मभूमि रुपन्देहीको लुम्बिनी, क्रिडास्थल कपिलवस्तुको तिलौराकोट, मावली तथा ससुराली रुपन्देहीको देवदह, बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राम, बुद्धस्थलहरु गोटिहवा, सगरहवा, कुदान, अरौेराकोट, सिसहनिया लगायतका पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको संख्या २५ लाख पुर्याउने उद्देश्य सहित प्रदेश ५ सरकारले २०७६ साललाई लुम्बिनी भ्रमण वर्षमनाउने घोषणा गरेको छ ।
लुम्बिनी भ्रमण वर्ष मूल समितिको अध्यक्षमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रहेनुभएको छ । त्यस्ते कार्यकारी समितिको संयोजकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी रहेनुभएको छ ।
प्रदेश ५ सरकारले भ्रमण वर्ष प्रचारप्रसारका लागि नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ ।
भ्रमण वर्षे यस क्षेत्रमा व्यवसायीलाई आकर्षित गर्ने र स्थानीय समुदायलाई पर्यटकमैत्री बनाउन सफल हुने विश्वास मूल समितिको छ ।
भ्रमण वर्ष कार्यक्रम ०७६ सालको वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई चैत्र शुक्ल पूणिर्माका दिन समापन हुनेछ ।
कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।
लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्वर्द्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पुर्याउने उद्देश्यले भ्रमण वर्षमनाउन लागिएको हो ।
प्रदेशको समृद्धिका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासलाई प्रमुख आधारका रूपमा योजनाबद्ध रूपले कार्यक्रम अघि बढाएको प्रचार प्रसार समितिका सदस्य अमृत गिरीले बताउनुभयो ।
पर्यटन क्षेत्रको विकासमा लुम्बिनी भ्रमण वर्षमहत्वपूर्ण हुने प्रदेश ५ सरकारको विश्वास छ ।
भ्रमण वर्षा मुख्यतया लुम्बिनी क्षेत्र तथा बुद्ध र्सर्किटसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, अरौराकोट, सगरहवा, सिसहनियालगायतका क्षेत्रलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने उपसमिति सदस्य सी. पी. खनालले जानकारी दिए ।
लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित स्थानहरूको साथै नजोडिएका तर भारत हुँदै लुम्बिनी क्षेत्रमा पर्यटक भ्रमण गर्ने प्रमुख नाका बेलहियामा समेत विभिन्न कार्यक्रम गरिने उपसमिति सदस्य रुद्रहरि कुँवरले बताउनुभयो ।
यस्तै, गौतमबुद्धको जीवनीसँग सम्बन्धित सडक प्रदर्शनी होटल तथा पर्यटन व्यवसायी मार्फत सातवटै प्रदेश र भारतको कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा समेत प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने प्रचार प्रसार उपसमिति सदस्य मनिष पन्तले जानकारी दिनुभयो ।
भ्रमण वर्षमा मायादेवी प्रसूति मार्ग घोषणा तथा प्रसूति उत्सव, लुम्बिनी फूड फेस्टिबल, सुजाता खीर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गरिने छ ।
२२ फागुनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको थियो ।
मायादेवी प्रसुति उत्सव
महारानी मायादेवी सुत्केरी हुने बेला नजिकिदै गएपछि पहिलो सन्तानको जन्म दिन माइती जानुपर्ने त्यतिबेलाको परम्पराअनुसार उनी कपिलवस्तुको राजधानी तिलौराकोटबाट सुसारे, सेनासहित माइती देवदह प्रस्थान गर्नुभयो ।
बाटोमा पर्ने मनमोहक लुम्बिनी बगैचामा विश्राम गरिन् । सोही क्रममा उहाँलाई व्यथा लाग्यो । बगैचामा साल वृक्षको हाँगा समातेर सिद्धार्थलाई जन्म दिनुभयो । महारानी मायादेवीको कोखबाट बालक सिद्धार्थको जन्म भएको खबर सुनेर राजा शुद्धोधनले कपिलवस्तु राज्यमा महाउत्सव मनाउने घोषणा गर्नुभयो ।
सोही अनुसार लुम्बिनीमा कोलिय र शाक्य राज्यका भद्रभलाद्मीहरुको उपस्थिति भयो । कपिलवस्तु राज्यभरि सरसफाई गरियो, तुल टाँगियो, बाजागाजा लगाउन लगाइयो, प्रत्येक घरअघि घडा राख्न लगाइयो, स्वागतद्वारहरु निर्माण भए ।
महारानी शिशु सिद्धार्थलाई लिएर लुम्बिनीबाट कपिलवस्तु फर्किदा हजारौं नागरिकहरु उत्सवमा सहभागी भए । त्यही महाउत्सवको झल्को दिने गरी बुद्धपूर्णिमाको अर्को दिन जेठ ५ गते प्रसुति उत्सव मनाइनेछ ।



Milan Shrestha । १६ बैशाख २०७६, सोमबार १८:०० बजे