जेठ २१ बाट अन्तर विद्यालय स्तरीय छात्र/छात्रा फुटबल प्रतियोगिता हुने


१ जेठ, सुर्खेत । सुर्खेतमा यही जेठ २१ गतेदेखि क्विक कप अन्तर विद्यालय स्तरीय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा र चौधरी ग्रुप बीच गत वैशाख १७ गते भएको सम्झौता अनुसार देशैभर हुने प्रतियोगिताको पहिलो चरण सुर्खेतमा भने २१ गतेबाट शुरु हुने भएको हो । प्रतियोगितामा जिल्लाभरबाट सामुदायिक तथा निजी विद्यालयले सहभागिता जनाउन सक्ने संघका महासचिव गणेशकुमार कार्कीले बताउनुभयो ।

जिल्लास्तरीय प्रतियोगिताको विजेता टोलीले दोश्रो चरणमा हुने प्रदेश स्तरको प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्नेछन् । प्रदेश स्तरको प्रतियोगिता भने साउन १९ गतेदेखि ३२ गतेसम्म हुने तय भएको महासचिव कार्कीले जानकारी दिनुभयो ।

प्रदेश स्तरको प्रतियोगिता विजेता टोलीले भने असोज १ गतेदेखि ११ गतेसम्म हुने राष्टिय स्तरको विद्यालय स्तरीय प्रतियोगितामा जिल्ला र प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पाउने छन् ।

प्रतियोगिता सञ्चालनका लागि नियमावली भने एन्फाले उपलब्ध गराउना साथ सहभागी हुने विद्यालयहरुलाई उपलब्ध गराइने महासचिव कार्कीले जानकारी दिनुभयो ।