एन्फा अध्यक्षमा निलम्बित गणेश थापा निकटकै नरेन्द्रलाल श्रेष्ठ विजयी


241020160655047-1000x0कार्तिक ८, २०७३- अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष र उपाध्यक्षका लागि सोमबार भएको निर्वाचनमा अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ र उपाध्यक्षमा मणि कुँवर विजयी भएका छन् । श्रेष्ठ ३६ र कुँवर ३४ मत ल्याइ विजयी भएका हुन् । श्रेष्ठ र कुँवर फिफाबाट कारबाहीमा परेका निलम्बित अध्यक्ष गणेश थापा निकट हुन्।

अध्यक्ष पदका अर्का प्रत्याशी  कर्मा छिरिङ शेर्पाले ३१ मत प्राप्त गरे भने उपाध्यक्षका प्रत्याशीहरु दीपक खातीले २५  र उपेन्द्रमान सिंहले ८ मत मात्रै ल्याए । कुल मतसंख्या ६७ रहेको थियो ।

२१ वर्षसम्म एन्फाको नेतृत्व एकलौटी गरेका गणेश थापालाई फिफाले भ्रष्टाचारको आरोपमा १० वर्ष निलम्बन गरेपछि नयाँ नेतृत्व छान्न सोमबार चुनाव भएको थियो।

काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा भएको एन्फाको १५ औं साधारण सभाको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले गरेका थिए।

उद्घाटन कार्यक्रममा मन्त्रीसहित विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसी, राखेप प्रतिनिधि लगायत एन्फाका पदाधिकारीहरुको उपस्थिति थियो।

साभारः कान्तिपूर अनलाइन