‘कर्णाली साहित्य समाज’ स्रष्टा सम्मानसँगै विशेष रचना गर्दै


१५ ज्येष्ठ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा यही ज्येष्ठ १८ गते शनिबार सुर्खेत क्याम्पस (शिक्षा)को डाइनिङ्ग हलमा स्रष्टा सम्मानसँगै विशेष रचना वाचन कार्यक्रम हुने भएको छ । कार्यक्रमको तिब्र तयारी भइरहेको कर्णाली साहित्य समाजका उपाध्यक्ष देवकी तिमल्सिनाले बताउनु भयो ।

संस्थाका संरक्षक ‘छापामारको छोरो’ कृतिका लेखक मदन पुरस्कार प्राप्त कथाकार महेशविक्रम शाहलाई संस्थाले सम्मान गर्ने योजना बनाएको छ भने संस्थाका सल्लाहकारहरु प्रा. डा जीवेन्द्र देव गिरी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र लेखक तथा कर्णाली योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायलाई सल्लाहकार सम्मान प्रदान गर्ने कार्यक्रम रहेको संस्थाकी सचिव सरस्वती पन्तले जानकारी दिनु भयो ।

विशेष रचना वाचन कार्यक्रम अन्तर्गत विष्णु महतारा, सीता यरी, सन्देश कठायत र लीला पोख्रेलले गजल वाचन गर्नुका साथै कवि सुरेन्द्र अधिकारी, गणेशकञ्चन भारती र पहल असिम थापाले कविता वाचन गर्ने कार्यक्रम रहेको सचिव पन्तले बताउनु भयो ।

सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, बर्दिया, बाँके, कैलाली, कञ्चनपुर, अछाम, जुम्ला, हुम्ला, सल्यान, रुकुम, दाङ, मुगु, बैतडीलगायतका जिल्लाका साहित्यकारहरुको सहभागीता रहने उपाध्यक्ष तिमल्सिनाले बताउनु भयो ।