कर्णालीका मानिस दुषित खाद्य तथा पानीजन्य रोगबाट विरामी


१८ असार, सुर्खेत । अधिकासं रोगहरु दुषित खाद्य तथा पानीजन्य वस्तुहरुबाट हुने गरेको विज्ञहरुले बताएका छन् ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय सुर्खेतले आयोजना गरेको दुई दिने ‘खाद्य पोषण सम्बन्धि’ तालिमको बुधबार वीरेन्द्रनगरमा समापन कार्यक्रममा प्रदेश अस्पताल सुर्खेतका डाक्टर नवनित रौनियारले कर्णालीका धेरैजसो मानिसलाई दुषित खाद्य तथा पानीजन्य रोगबाट विरामी हुने गरेको जनाउनुभयो । उहाँले खाद्य स्वच्छता तथा पोषणमा ध्यान दिन सुझाव दिनुभयो ।

‘वर्षातको समयमा पानीजन्य सरुवा रोगको जोखिम बढी हुन्छ, झाडापखाला, आउँ हैजा, टाइफाइड र जण्डिस जस्ता रोगको जोखिम बढ्न सक्छन,’ उहाँले भन्नुभयो, ‘दुषित खाद्य तथा पानीजन्य रोगहरु बच्न केही सावधानी अपाउन सके यसबाट बच्न सकिन्छ ।’

उहाँले पानीजन्य रोगको संक्रमण फैलनबाट जोगिनका लागि विशेष गरी आफ्नो दैनिकी रहनसहनलाई ख्याल गर्नुपर्ने तथा खानपानमा विशेष सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो । उनका अनुसार पानीको शुद्धतामा घरबाहिर मात्र होईन् घरभित्र पनि विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । रोगको संक्रमण धेरै हदसम्म हाम्रै रहनसहनका कारण हुने भएकाले आफूले अलिकति ध्यान दिएमा जोखिमबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।

कसरी बच्ने ?
धेरै रोग त अशुद्ध पानीकै कारण लाग्ने र फैलिने भएकाले पानी शुद्धीकरण गरेर मात्रै पिउनुपर्छ । पानीलाई उमालेर, फिल्टर गरेर, पियूषजस्ता पानी शुद्ध बनाउने औषधी हालेको पानी प्रयोग गर्नुपर्छ । घर वरिपरी सफा राख्ने, खुला राखेका तथा बासी खानेकुरा नखाने, झुल टाँगेर सुत्ने, लामो बाहुला भएको लुगा लगाउने, सर्पबाट जोगिन सर्प हुने सम्भावित ठाउँतिर नजाने डा. रौनियारको भनाई छ ।
खाद्य स्वच्छता अधिकार
सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले नियमनकारी निकायहरुको एकल प्रयासले मात्र बजारलाई स्वच्छ तथा नियन्त्रित गर्न नसकिने भएकाले हरेक नागरिकको यथोचित भूमिका अपरिहार्य रहेको औल्याउनु भयो ।

उहाँले ऐन, नियम तथा कानूनको पालना गर्न–गराउन सबैको उत्तिकै जवाफदेहिता रहेको बताउनुभयो ।

त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य अनुसन्धान अधिकृत विवेक सुवेदीले खाद्य पोषण विभिन्न उमेर समूहका व्यक्तिमा फरक–फरक मात्र तथा पौष्टिकता आवश्यकता हुने गरेको जनकारी दिनुभयो ।

उहाँले खाद्य वस्तुमा मिसावटको असर, खाद्य वस्तुजनित रोगबाट बच्ने तरिका, कुपोषण कारण तथा निदान, कुपोषण नाप्ने तरिकाका बारेमा सैद्धान्तिकसँगै तालिमका सहभागिलाई व्यवहारिक प्रशिक्षण दिनुभयो ।

सहभागिहरुका तर्फबाट भैरव मावि भैरवस्थानका शिक्षक राजेन्द्र गौतमले तालिम उपयोगी, फलदायी हुनुका साथै विभिन्न नयाँ विषय वस्तुहरुको जानकारी पाउने अवसर भएको बताउनुभयो । उहाँले मानव जीवनसँगै सम्बन्धित यस्ता महत्वपूर्ण तालिमको अवधि बढाएर बढी विषयवस्तुहरु समेट्दा थप प्रभावकारी हुने धारणा राख्नुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेत निमित्त प्रमुख भेषबहादुर थापाले खाद्य स्वच्छता तथा खाद्य पोषण सम्बन्धि विद्यार्थीहरुको जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले वीरेन्द्रनगरका सरकारी तथा निजी विद्यालयका विज्ञान, स्वास्थ्य तथा जनसंख्या विषयका शिक्षक एवं शिक्षिकाहरुलाई खाद्य पोषण सम्बन्धि तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँले साझा प्रयासबाट खाद्य श्रृखलामा स्वच्छता अपनाउँदै आम नागरिकको स्वच्छ खाद्य वस्तु उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न समान सहभागिता आवश्यक रहेको औल्याउनुभयो । उहाँका अनुसार तालिममा पोषण, खाद्य स्वच्छता, नियमनकारी निकायको भूमिका, खाद्य ऐन, नियम, उपभोक्ता सचेतना, उपभोक्ता अधिकार, खाद्य वस्तुमा मिसावटको असर, खाद्य वस्तुजनित रोगबाट बच्ने उपाय, कुपोषणका कारण, निदान, कुपोषण नाप्ने तरिका लगायतका बारेमा सहभागिलाई प्रशिक्षण दिईएको थियो ।