फरक समुदाय बीच संवाद कार्यक्रम सम्पन्न
सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकामा आज फरक समुदायका वीच सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतको आयोजनामा प्रभावकारी सहभागिता, आधारभूत सेवा र समन्यायिक पहुँचका लागि फरक समुदाय बीच संवाद कार्यक्रम बराहताल गाउँपालिकाको वडा नं. ६ बिउरेनीमा सम्पन्न भएको हो ।
संवाद कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष खगेन्द्रदेव गिरीले समाजमा व्याप्त रहेको छुवाछुत अन्त्य अझै नभएकोले त्यसका लागि सबै तह र तप्काले आ–आफ्नो भूमिका खेल्नु पर्ने बताउनुभयो । पहिलेको भन्दा धेरै परिवर्तन भएपनि यसलाई सतप्रतिशत पु¥याउनका लागि आफूले जनप्रतिनिधिको हैसियतले गर्नु पर्ने कार्यहरु गर्ने कुरामा कटिवद्ध रहेको उहाँको भनाइ थियो ।
वडा कार्यालयमा काम गर्दा होस् वा विकास निर्माणका कार्यमा हुने सहभागितामा होस् जातीयता तथा लैङ्गिक आधारमा कसैलाई विभेद गरिएको छैन र गर्नु पनि हुँदैन । सार्वजनिक स्थानमा मात्र नभएर नीजि स्थानमा समेत जातीय विभेद गर्नु दण्डनीय रहेको बताउँदै वडाअध्यक्ष गिरीले समाजमा भएका कुरिति हटाउन सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा दलित एवम् गैरदलितहरुको सहभागीता रहेको थियो भने प्रभावकारी सहभागिता, आधारभूत सेवा तथा समन्यायिक पहुँचका बिषयमा खगेन्द्र अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी दलित र गैरदलितहरुले समाजमा भए गरेको क्रियाकलापहरुको बारेमा आ–आफ्ना भोगाईहरु राखेका थिए । गाउँघरमा अझैँ पनि दही दुध दलितहरुलाई दिनु हुँदैन देउता बिग्रन्छन् भन्ने भावना रहेकोले अझैपनि समाजमा छुवाछुतको भेदभाव व्याप्त रहेको सहभागीहरुको भनाइ थियो ।
अज्ञानताका कारण र समाजको चलिचलनका कारण त्यसो भएको भएपनि पछिल्लो समयमा केही मात्रामा भएपनि परिवर्तन हुनुले समाज रुपान्तरण तर्फ अघि बढेको वडा सदस्य अमृता वि.क. ले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय दलित समाज कल्याण सुर्खेतका सचिव भीमबहादुर शाहीले समाज परिवर्तनका लागि आफैले सुरु गर्नु पर्ने बताउनुभयो । समाजमा बालविवाह, छाउपडी प्रथा जस्ता कुरितिहरु अझै पनि नहटेकोले समाजमा अझै पनि चेतनाको स्तर उठ्न नसकेको बताउँदै सचिव शाहीले कुसंस्कारको रुपमा रहेको जातीय विभेद कानूनी रुपमा समेत दण्डनीय रहेको र ‘कुनै समयका शासकहरुले शुद्रका नाममा मानव माथि गरिएको विभेदलाई अन्त्य नगर्ने हो भने समृद्ध समाजको परिकल्पना गर्नु व्यर्थ छ । उहाँले भन्नुभयो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतका अध्यक्ष रुद्र बहादुर कार्कीको अध्यक्षतामा भएको थियो ।



Milan Shrestha । २८ श्रावण २०७६, मंगलवार २०:२५ बजे