कालिकोटवासीको मन जितेर गए डिएसपी शर्मा


 कालिकोट । जिल्ला प्रहरी कार्यलय कालिकोटका प्रमुख डिएसपी बिनोद शर्माको बिदाई गरिएको छ ।

विगत एक बर्षदेखी जिल्लाको शान्ति सुरक्षा कायम गर्न तथा कार्यलयको कार्यसम्पादनमा उत्कृष्ट हुनुभएका डिएसपी शर्माको जिल्ला सुरक्षा समिति, जिल्ला समन्वय समिति र कर्मचारी मिलन केन्द्रद्वारा भव्य रुपमा बिदाई गरिएको हो ।

कर्मचारी मिलन केन्द्र कालिकोटका अध्यक्ष वसन्त श्रेष्ठको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख अनीपाल शाहीको प्रमुख आतिथ्यता, खाँडाचक्र नगरप्रमुख जसीप्रसाद पाण्डे, जिल्ला न्यायधिश, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको विशेष आतिथ्यतामा भएको कार्यक्रममा डिएसपी शर्माले जिल्लामा हरेक क्षेत्रमा खेलेको भुमिकाको प्रशंसा गर्दै बिदाई गरिएको छ ।

डिएसपी शर्मा जिल्ला प्रहरी कार्यलय कालिकोटमा आउदा हरेक सेवाग्राहीको काम १० मिनेटमा, महिला, बालबालिका, दलित र फरक क्षमताका व्यक्तिहरुको मुद्वामा शुन्यसहनशीलता, भ्रष्टाचार मुक्त प्रहरी कार्यलय, आत्म हत्या रहित जिल्ला, बालबिबाह, बहुबिबाह लगायतका सामाजिक अपराधहरु न्युनिकरणमा उल्लेखनिय कार्य गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कालिकोटका प्रमूख अनीपाल शाहीले डिएसपी शर्मालाई प्रशंसापत्र सहित सम्मान गर्नुभएको छ । जिल्लाको शान्ति सुरक्षा कायम गर्नुका साथै अन्य प्रशासनिक क्षत्रमा उल्लेखनिय योगदान दिएको भन्दै जिल्ला समन्वय समिति कालिकोटले कालिकोटवासीको तर्फबाट प्रशंसापत्र सहित सम्मान गरेको हो ।

बिप्लव नेतृत्वको नेकपाको पकटका रुपमा कालिकोटमा प्रहरी प्रमूख भएर नेकपाका पार्टी प्रवक्त एवं पुर्वमन्त्री खड्गबहादुर बिश्वकर्मा प्रकाण्डको गाँउ माल्कोटमा समेत पुगेर प्रकाण्डको घरमा कोसेली दिनुका साथै माल्कोटमा लेकाली जंगलमा रहेको नेकपाको हेडक्वाटरमा प्रहरीको मार्चपास, एम्बुलेन्स बिहीन कालिकोटमा प्रहरीको भ्यानलाई एम्बुलेन्न्सका रुपमा प्रयोग गर्दै गर्भवती तथा सुत्केरीको उद्धार, जिल्लाको पलाँता, मुम्रा, फोई लगायतका बिकट बस्तीहरुमा गस्ती, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाँउ गाँउमा जनताको गुनासा सुन्ने लगायतका क्रियाकलापमा सक्रिय शर्मा कालिकोटबाट बिदाई हुँदा सार्बजानिक गाडीमा फर्किए ।

उनले बिदाई हुँदा प्रहरी नागरिकको सेवक भएकाले जहाँ गएपनि नागरिकको सेवा नै आफ्नो पहिलो प्राथमिक्ता हुने बताए । उनले कालिकोट बस्दा आफुलाई राम्रो काम गर्न सहयोग गर्ने राजनीतिक दल, कर्मचारी, नागरिक समाज लगायतका सबै सरोकारवालाहरुलाई धन्यबाद दिए ।