
पोखरा, कास्की: वडा दशैंको पावन अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखाले एक शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । साथै रक्तदान कार्यक्रमको आयोजना गरी १९ पिन्ट रगत संकलन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले कलेजहरूमा रक्त समूह पहिचान र रक्तदान सचेतना कार्यक्रमहरू आयोजना गर्न समाजको कास्की शाखालाई विशेष अनुरोध गर्नुभयो । उहाँले युवा वर्गमा रक्तदानको महत्वबारे चेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो ।
समाजका कास्की अध्यक्ष दिपेन्द्र अधिकारीले कास्की शाखा वर्षको ३६५ दिन नै रगत र रक्ततत्वका लागि हरदम तयार रहेको जानकारी दिनुभयो । उहाँले सम्पूर्ण स्वयंसेवी रक्तदाताहरूलाई सन्तुलित आहारविहारमा ध्यान दिन अनुरोध गर्दै भन्नुभयो, “रगतले न त जात हेर्छ न धर्म नै हेर्छ, रक्तदान गर्नु भनेको मानवीय जीवनको सर्वोत्तम कार्य हो। त्यसैले आउनुहोस्, रक्तदान गरौँ।”
कार्यक्रममा नेपाल खुद्रा औषधी व्यवसायी संघ कास्कीका महासचिव अमृत थापा र स्रष्टा समाज पुम्दीका ध्रुव विपस्भी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । समाजका वरिष्ठ सल्लाहकार जितेन्द्रमान शाक्यले स्वागत मन्तव्य राख्नुभएको यस कार्यक्रमको सञ्चालन समाजका सचिव विशाल अर्यालले गर्नुभएको थियो।
जन्मोत्सवको अवसरमा विशेष रक्तदान कार्यक्रम
सोही कार्यक्रमको अवसरमा स्वयंसेवी रक्तदाता विशेष राईको जन्मोत्सवको खुशियालीमा रक्तदान कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा कुल १९ पिन्ट रगत संकलन भएको र १२ जनाले पहिलो पटक रक्तदान गरेको समाजका अध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो। यसले नयाँ रक्तदाताहरूलाई पनि रक्तदानको प्रेरणा मिलेको उहाँको भनाइ थियो।




Prawash Kumar Shakya । ११ आश्विन २०८२, शनिबार १४:०८ बजे