
९ असोज, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कम्युनिष्ट कार्यकर्ताहरुले आर्जन गरेको ज्ञान व्यवहारमा लागु नगरे समाजवाद निर्माण गर्न नसकिने वताउनुभएको छ ।
नेकपा खाडाचक्र नगर कमिटीको आयोजनामा शनिवार कालिकोट जिल्लाको सदरमुकाम मान्ममा आज आयोजित प्रशिक्षण कार्यक्रममा वोल्दै नेकपाको कालिकोट जिल्ला ईन्चार्ज समेत रहनुभएका मुख्यमन्त्री शाहीले कम्युनिष्ट कार्यकर्ताहरुमा सिद्धान्त र व्यवहार विच फरक हुन नहुनेमा जोड दिनुभयो ।
‘ज्ञान सिद्धान्त अरुलाई सिकाउने कुरा मात्रै हो, आफुले लागु नगर्दा पनि हुन्छ भन्ने सोच हावी भईरहेको छ ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो– ‘आफुले आर्जन गरेको ज्ञान आफनो जीवनव्यवहारमा लागु नगर्ने व्यक्ति कम्युनिष्ट हुनै सक्दैन ।’ कम्युनिष्ट कार्यकर्ताहरु आफुसंगै कठोर संघर्ष गरेर आफै परिवर्तन हुन सके मात्रै समाज परिवर्तनको जिम्मेवारी पुरा गर्न सकिने उहाँको भनाई छ । कडा अनुशासन, तिव्र ईच्छाशक्ति, श्रमप्रतिको सम्मान, सामुहिक सोच र जनताको सर्वोपरि हित नै अशल कम्युनिष्ट कार्यकर्ताको चरित्र भएको वताउदै मुख्यमन्त्री शाहीले नेता कार्यकर्ताको आचरण राम्रो भएमा मात्रै जनतालाई कम्युनिष्ट पार्टीप्रति भरोशा जगाउन सकिने वताउनुभयो ।
नेकपाका नेता एवं मुख्यमन्त्री शाहीले कम्युनिष्ट नेता कार्यकर्ताहरुको अहिलेको मुख्य कार्यभार समृद्ध नेपाल निर्माण भएको वताउनुभयो । आर्थिक विकासवाट मात्रै मुलुकले समृद्धि प्राप्त गर्ने वताउदै मुख्यमन्त्री शाहीले आर्थिक विकासका लागि उत्पादनको काममा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उत्पादनको विकासका लागि सरकारले सहयोग गर्ने भन्दै मुख्यमन्त्री शाहीले प्रत्येक कार्यकर्ताले कुनै न कुनै उत्पादनको योजना वनाएर लाग्नुपर्ने वताउनुभयो ।
‘कर्णालीमा भित्रिने पर्यटकहरु पैसा खर्च गर्न नपाएर आफुले वोकेको पैसा फिर्ता लैजान्छन ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो–‘तपाईहरु केही न केही उत्पादन गर्नुस, जुन चिजमा पर्यटकले पैसा खर्चिउन र यहाँको आर्थिक विकासमा टेवा पुगोस ।’



Milan Shrestha । ९ कार्तिक २०७६, शनिबार २०:४३ बजे