भेरी नदीकाे पानी सुर्खेत उपत्यका ल्याउने तयारी


तस्विरः गुगलबाट ।

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत उपत्यकामा भेरी नदीको पानी ल्याउने कसरत जारी छ । वीरेन्द्रनगरमा बढ्दो खानेपानीको संकट टार्न भेरीको पानी ल्याउन लागिएको हो । यसका लागि दोस्रो चरणको (आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन) डिपीआर बनाउने काम थालिएको हो ।

हाल उपत्यकामा खानेपानीको अभाव छ । हाल आपूर्ती भइरहेको स्रोतले खडेरीमा संकट नै हुने गरेको छ । यही संकटलाई दिर्घकालिन रुपमा समाधान गर्न भेरीको पानीलाई उपत्यकामा ल्याउन लागिएको हो । भेरीको पानीलाई पम्पिङ्ग गरेर उपत्यकामा ल्याउनका लागि प्रयास भइरहेको छ । यही प्रयास स्वरुप अब दोस्रो चरणको डिपीआर तयार पार्न लागिएको हो । यो प्रतिवेदनका आधारमा भेरीको पानी उपत्यकामा ल्याउनका लागि टेण्डरको काम हुनेछ ।

खानेपानी संकट टार्न सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खरी–बोरी खोलाबाट ३० लिटर प्रतिसेकण्ड पानीको स्रोत थपे पनि समस्या उस्तै छ । उपभोक्ता संस्थाले खोलाका मुहानहरु थप्दा पनि उपत्यकाको खानेपानी संकट टर्ने अवस्था नभएपछि दु्रत गतिबाट भेरीको पानी ल्याउने प्रक्रिया अगाडि बढेको हो । पहिलो चरणमा सीएमएस जेभीले तयार पारेको डिपीआर प्रतिवेदन अनुसार तीनवर्ष भित्रमा भेरीको पानी उपत्यकामा ल्याउन सम्भव देखिएको छ । यही प्रतिवेदनको आधारमा हाल दोस्रो चरणको डिपीआर बनाउने काम भइरहेको हो ।

अब भेरी नदीमा सम्पवेल परिक्षण (पानीको गुणस्तर मापन, पम्पिङ्ग गर्न सकिने पानीको मात्रा र गहिराइको अवस्था हेर्न) गर्न दोस्रो चरणको डिपीआरको काम अगाडि बढाउन लागिएको हो ।

खानेपानी तथा ढल व्यवस्था विभागका जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाका उपमहानिर्देशक अनिलभद्र खनालले दोस्रो चरणको डिपीआरको काम आउँदो माघमा सम्पन्न हुने बताए । उपत्यकाको खानेपानी संकट टार्नेगरी भेरीको पानी ल्याउन दोस्रो चरणको डिपीआर बनाउन लागिएको उनको भनाइ छ ।

उपत्यका खानेपानी संस्थाले हाल झुप्रा मुहानसहित खरी–बोरी खोला, इत्राम खोला, खोर्के खोला र बुलबुले तालको पानी आपूर्ति गर्दै आएको छ । हाल उपत्यकामा प्रतिदिन एक करोड ४५ लाख लिटर खानेपानी आवश्यक पर्दछ ।

औषतमा हिउँदको समयमा एक करोड ३५ लाख लिटर र सुख्खा खडेरीमा न्यूनतम औषत ८६ लाख लिटर मात्रै खानेपानी उपलब्ध हुने गरेको छ । सुर्खेत उपत्यकामा हाल प्रतिदिन ८१ लाख ६४ हजार लिटर खानेपानी अपुग छ । दुईवर्ष अघिदेखि झण्डै पाँच हजार उपभोक्ताले धारा जडानका लागि आवेदन दिए पनि संस्थाले जडान गर्न सकेको छैन ।

साभारःपश्चिमनेपाल ।