सरकारको नेतृत्वमा खुलाः माओवादी केन्द्र


राष्ट्रिय सहमतिको सरका गठनका निम्ति पुनः अग्रसरता देखाइरहेको नेकपा माओवादी केन्द्रले नेतृत्वमा खुला रहेको बताएको छ।

नेतृत्वका लागि पार्टी अध्यक्ष प्रचण्ड अग्रसर देखिएको चर्चामाझ उक्त दलको बैठकले नेतृत्वबारे अडान नराख्ने शनिबार निर्णय गरेको हो।

माओवादी केन्द्रकी प्रवक्ताका अनुसार बैठकले एमालेसहितको राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति पहल गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ।

एमालेसँग भएको भनिएको भद्र सहमतिको समयसीमा सकिएको भन्ने माओवादी पार्टीकै कतिपय नेताहरुको सार्वजनिक टिप्पणी आइरहेका बेला उक्त दलको बैठकमा सरकारबारे छलफल भएको छ।

अग्रसरता

उक्त दलकी प्रवक्ता पम्पा भुसालले राष्ट्रिय सहमतिको सरकार अनिवार्य भएको निचोडका साथ बैठकले त्यस्तो अग्रसरता लिने निर्णय गरेको बताइन्।

उनले भनिन्, “एमाले र माओवादीबीच भएका सम्झौता र सहमतिको कार्यान्वयनका निम्ति गम्भीर बहस र छलफल गरिनेछ। अर्कोतिर राष्ट्रिय सरकारका निम्ति एमाले पनि त्यसमा हुनु जरुरी छ। प्रधानमन्त्री केपी ओली पनि हुनु जरुरी छ। उहाँसहितको राष्ट्रिय सहमति कायम गर्न कोशिस गर्नेछौँ।”

यसअघि प्रचण्डले प्रमुख विपक्षी नेपाली कांग्रेसको समर्थनमा सरकारको नेतृत्व लिने असफल प्रयत्न गरेका थिए।

त्यस प्रकरणले दुई सत्ता साझेदारबीच पनि शंका र अविश्वास उत्पन्न गरिदिएको भनिएका बेला भावी सरकारको नेतृत्वबारे पनि चासो रहेको पाइन्छ।

विकल्प

तर वर्तमान सरकारको विकल्पमा जोड दिँदै आएका माओवादी केन्द्रका एक नेता जनार्दन शर्मा भन्छन्, “अहिलेकै प्रधानमन्त्रीको राष्ट्रिय सरकार बन्छ वा शेरबहादुरजीको नेतृत्वमा बन्छ भने पनि हामी तयार छौँ। अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्यो भने हामी झनै तयार छौँ। त्यसकारणले नेतृत्वमा हामी यही नै हो भन्ने छैन। हामी खुला नै छौँ।”

पटक-पटक चल्दै सेलाउँदै गरेको राष्ट्रिय सहमतिको सरकार गठनको चर्चा माओवादी केन्द्रको पछिल्लो निर्णयले फेरि ब्यूँताउने देखिन्छ।

तर अझसम्म कम्तीमा मुख्य तीन दल सत्तारुढ माओवादी केन्द्र र एमाले तथा विपक्षी नेपाली कांग्रेस हुनुपर्ने सहमति सतहमा देखिएको छैन।

साभारः विविसी