
२४ माघ, सुर्खेत । दलितको मुद्दा गैरदलितको पनि हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शुक्रबार वीरेन्द्रनगर नगरपालिका वडा नं १० को आयोजनामा जातिय छुवाछुत तथा विभेद सम्बन्धि सचेतनामुलक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा कर्णाली प्रदेश सभा सांसद पद्मा खड्काले कर्णालीको भौगोलिक विकटता भन्दा अझै जातिय छुवाछुत दर्दनाक भएको बताउनुभयो । कर्णालीका विभिन्न जातिय छुवाछुत हटाउनको लागि छुवाछुत सम्बन्धि विद्येयक ल्याउन लागिएको उहाँले जानकारी । ‘दलितका लागि दलित मात्रै होइन गैरदलित पनि लाग्नुपर्छ ।, उहाँले भन्नुभयो‘ हरेक व्यक्ति आफ्ना आचरण परिवर्तन गरे जातिय छुवाछुत अन्त्य हुनुसक्छ ।’ छुवाछुतलाइ गरिबीसंग समेत जोडिएकोले कर्णालीको गरिबी समेत हटाउन जरुरी भएको उहाँले बताउनुभयो ।
त्यस्तै नेकपा प्रदेश कमिटि सदस्य अमृत बिसीले दलितले बनाएका सामागी्रलाई शुभ मान्ने र उनीहरुलाई अछुत मान्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले कसैले जातिय छुवाछुत गरेको खण्डमा तत्काल कानुनी उपचारमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी अधिकांशले दलितको मुद्धा सबैको हुनुपर्ने बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका १० नं. वडा अध्यक्ष रत्नबहादुर बुढाले आफ्नो वडाबाट जातीय छुवाछुत अन्त्यका लागि पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो हिजोको कुसंस्कारलाई परिवर्तन गर्न जरुरी भएको छ । त्यस्तै वीरेन्द्रनगर नगरकार्यपालिका सदस्य लक्ष्मी वि.कले उत्पिडनमा रहेको समुदायलाई माथी उठाउनको लागि यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले कार्यक्रममा दलित मात्रै नभई गैरदलितलाई समेत सहभागी गराई कानुनमा भएको कुराहरुका बारेमा बुझाइएको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी करिब एकसय बढि सहभागीहरुले वडा नं १० मा जातीय छुवाछुत अन्त्यका लागि सरकारलाई सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।



Milan Shrestha । २४ माघ २०७६, शुक्रबार १८:१८ बजे