रगत अभाव कम गर्न बाँकेमा रक्तदान


२० चैत्र, नेपालगन्ज । विश्व यतिखेर कोरोना भाइरस (कोभिड-१९)को महामारी छ । यही कारणले यतिबेला देशपुरै लकडाउन छ । देशभर कोरोनाको त्रासदीसँगै उत्पन्न परिस्थितिले बाँकेमा यो समय रगत अभाव भएको छ ।

जिल्लामै रगतको चरम अभाव देखिएपछि यतिबेला क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जमा रगतदान गर्नेको संख्या दिनानुदिन बढ्दै गएकोछ । शुक्रबार मात्र ‘निगरानि समुह’ बाँकेले केन्द्रमा देखिएको रगत अभावलाई सहयोग पु¥याउने उद्देश्य अनुरुप रक्तदान गरेकोछ ।

निगरानी समुहको अनौपचारिक आयोजनामा गरिएको उक्त रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका भित्रका करिब १ दर्जन युवाहरुले रगत दान गरेकाछन् । कोरोना संक्रमणका कारण सरकारले लकडाउन र बाँके प्रशासनले जनता कर्फ्यू जारी राखेको अवस्थामा पनि ती युवाहरु रक्त सञ्चार केन्द्रमा पुगेर रगत दान गरेको निगरानी समूह बाँकेका अध्यक्ष कमल न्यौपाने बताउनुहुन्छ ।

उहाँका अनुसार बाँकेमा रगत अभाव हुन नदिन कोरोना र लकडाउनको जोखिम मोलेरै भएपनि आम नागरिकले रगत दान गर्नुपर्ने देखिन्छ । विशेषगरि संस्थागत रुपमा रक्तदान गर्ने क्रम रोकिएपछि रगत अभाव भएको हो ।

संस्थागत रक्तदान नभएपछि नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जले रक्तदान गर्ने व्यक्ति ल्याएपछि मात्र रगत दिने गरेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मी बताउँछन् ।

रगत अभाव भइरहेको बेला रगत दान गरेर मानवीय सेवामा समर्पित हुन प्रेरित गर्दै रक्तदानमा लाग्न रक्तदाता ऋषी देवकोटाले आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य जोखिमको अवस्थामा रगत आवश्यक पर्ने भएकाले ब्यक्तिगत तथा संस्थागत नियमित रक्तदाताले रगत दान गर्न जोड दिनुभयो ।

यतिबेला रक्त सञ्चार केन्द्रमा इमरजेन्सीका लागि थोरै रगत मौज्दात राखिएको रक्त प्राविधिक सुनिता श्रेष्ठ बताउनुहुन्छ । उहाँले जति रगत आवश्यक छ त्यति रगत दिने दाता ल्याउनेलाई मात्र रगत दिन सकिने अवस्था रहेको बताउनुभयो ।

कोरोना भाइरस र लकडाउनले रक्तदानमा कुनै असर नपर्ने बताउँदै रक्तदाता अनील आचार्यले बाँकेमा देखिएको रगत अभाव पूर्तीका लागि बेलैमा रक्तदान गर्न आम नागरिकलाई अपील गर्नुभएको छ ।

यतिबेला लकडाउन र कोरोना भाइरसको संत्रासका कारण नियमित रगतदाताले समेत रक्तदान नगरेकाले समस्या आउन सक्छ । रगत अभावबाट सिर्जना हुने समस्या समाधानका लागि रगत दान गर्नुको विकल्प छैन ।